सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला

शनिबार, ०५ जेठ २०८१, १६ : ३७
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्‌मा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेसले संसद्‌मा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढङ्गले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन् ।

शनिबार काठमाडौँमा आयोजित ‘युवा’ विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसद्‌मा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताए । 

बर्तौलाले भने, ‘हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली कांग्रेसका एक जना नेताले संसद्‌मा अशिष्ट र उद्दण्ड व्यवहार प्रदर्शन गरे । यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद् चलाउने होइन । भिडभाड, दादागिरी र उद्दण्डताका साथ मुठभेडमा लैजान नेपाली कांग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तिको घटनाबाट देखिन्छ ।’

उनले संसद्‌मा कांग्रेसले सत्तापक्षको आसनमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने बताए ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘नेपाली कांग्रेसले संसद्‌मा गरिरहेको हर्कत हेर्नुहोस् । संसद्‌मा सत्ता पक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने ? त्यहाँ डिफाइन गरेको हुन्छ । आसन निर्धारण गरिएको हुन्छ । तर सरकारको आसनमा आएर, उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उद्दण्ड प्रस्तुतिहरू उहाँहरूबाट भइरहेको छ ।  अस्तिको घटना संसदीय राजनीतिको इतिहासमा र संसदीय परम्परामा कालो दिनको रूपमा रह्यो ।’ 

बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप