शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

एसईई र कक्षा १२ : परीक्षाका असङ्गत र अमर्यादित पक्षहरू

शनिबार, ०५ जेठ २०८१, १५ : १५
शनिबार, ०५ जेठ २०८१

गत वैशाख (१४–२६ गते)मा भएको कक्षा १२ को परीक्षामा परीक्षामा चार लाख ४१ हजार ४९७ परीक्षार्थीले एक हजार ५२६ परीक्षा केन्द्रमार्फत परीक्षा दिए । यसैगरी गत चैत (१७–२९ गते) मा भएको एसईई परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थीले दुई हजार ६४ परीक्षा केन्द्रमार्फत परीक्षा दिए । यी दुई परीक्षालाई नै हामीकहाँ विद्यालय तहका सबैभन्दा महत्त्वपूर्ण परीक्षाका रूपमा लिइन्छ । 

तोकिएको गुणस्तर र मर्यादामा परीक्षा सञ्चालन गर्नु राज्यका लागि चुनौतीको विषय हो नै, अर्कोतर्फ यो एक संवेदनशील विषय पनि हो । परीक्षालाई निर्णयात्मक मूल्याङ्कनको मूल आधारका रूपमा लिइने हुँदा यसको कार्यान्वयनमा विशेष ध्यान दिने गरिएको छ । तथापि राज्यको ठुलो स्रोत–साधन र सजगताका बाबजुद पनि सबै परीक्षा केन्द्रमा एउटै स्तरमा परीक्षा सञ्चालन हुन नसकेका दृष्टान्त मिडियामार्फत आइरहेका छन् । 

यो सानो आलेखमा यी दुई परीक्षा सञ्चालनमा देखिने व्यावहारिक समस्या र असङ्गत पक्षलाई चित्रण गर्ने प्रयास गरिएको छ ।

  • केन्द्र र केन्द्राध्यक्ष छनोट 

परीक्षा केन्द्र र केन्द्राध्यक्षले पनि परीक्षाको मर्यादा र गुणस्तरमा ठुलो असर पार्दा रहेछन् । 

हामीकहाँ परीक्षा केन्द्र निर्धारण त्यति वैज्ञानिक र व्यवस्थित छैन । यस सम्बन्धमा नयाँ र वस्तुगत निर्देशिका बन्न सकेको छैन भने पुरानो निर्देशिकाका भरमा टालटुले पाराले काम भइरहेको देखिन्छ । जिल्लास्थित परीक्षा समितिले वर्षैपिच्छे केन्द्र निर्धारणको निर्णय गरे पनि यो वैज्ञानिक, व्यवस्थित र प्रभावकारी बन्न सकेको देखिँदैन ।

केन्द्राध्यक्ष परीक्षा सञ्चालन गर्ने मुख्य मियो हो, तर सम्बन्धित केन्द्रको प्रअलाई केन्द्राध्यक्ष बनाउने भन्ने ‘सिङ्गल ब्ल्याङ्केट अप्रोच’का कारण वरिष्ठता, नेतृत्व, योग्यता र समर्पण पाखा लागेको अवस्था छ । कतिपय अवस्थामा कम योग्यता र क्षमताका केन्द्राध्यक्ष पनि छनोटमा पर्ने भएकाले यसले परीक्षाको गरिमा जोगाउन नसक्ने र केन्द्राध्यक्षको समग्र भूमिका कमजोर बन्न पुग्ने अवस्था हुँदो रहेछ ।

  • परीक्षा केन्द्रको भौतिक अवस्था 

मर्यादित, शान्त र स्वच्छ परीक्षाका लागि परीक्षार्थीको बसाइ सहज र व्यवस्थित हुनुपर्छ । यसका लागि ठुला र फराकिला कोठा; पर्याप्त र सहज डेस्क–बेन्च; प्रशस्त उज्यालो आदि आवश्यक पर्छन् । 

शौचालय र पिउने पानीको सुविधा पनि त्यत्तिकै आवश्यक हुन्छ, तर अधिकांश परीक्षा केन्द्रमा साँघुरा र छोटा अर्थात् बस्नै अप्ठेरो पर्ने डेस्क–बेन्च देखिन्छन् भने कोठा पनि साना र अँध्यारा देखिन्छन् । कतैकतै त एउटै बेन्चमा तीन–चारजना खाँदेर राखिएका दृष्टान्त पनि छन् । 

कतिपयले पर्याप्त उज्यालो नआउने साँघुरा कोठामा उकुसमुकुस भई परीक्षा दिएको पनि देखिन्छ  । त्यही ठाउँमा तत्काल विकल्प दिन सक्ने अवस्था हुँदैन ।

अधिकांश ठाउँमा शौचालयको समस्या देखिन्छ । शौचालय कि त धेरै टाढा हुन्छन्, कि त प्रयोग गर्न असहज हुने गरी दुर्गन्धित हुन्छन् ।

यस्तै, प्रायः केन्द्रमा परीक्षार्थीका लागि पिउने पानीको सहज आपूर्ति भएको पनि देखिँदैन ।

  • मोबाइल र म्यासेन्जर ग्रुपबाट चिटिङ

परीक्षार्थीले परीक्षा हलमा लुकाइछिपाइ मोबाइल लैजाने र म्यासेन्जर ग्रुपबाट चोरी गर्ने प्रवृत्ति पछिल्लो समय बढेको छ । यो एउटा ठुलो चुनौतीका रूपमा देखिएको छ । यस्तो कार्यका लागि स्वयं शिक्षक र अभिभावकले समेत प्रेरित गरेका घटना पुष्टि हुँदै आएका छन् । 

परीक्षा हलमा मोबाइलको निषेध र नियन्त्रण परीक्षा प्रणालीकै ठुलो टाउको दुखाइ भएको छ ।

  • गार्डहरूको कमजोर मानसिकता

अधिकांश परीक्षा केन्द्रमा गार्डहरूले परीक्षार्थीको होइन, केन्द्राध्यक्ष लगायत बाह्य अनुगमनकर्ताको गार्ड गर्छन् भन्ने आरोप छ र त्यसमा सत्यता देखिन्छ । बाहिरबाट मान्छे आउँदा खुट्टा बजार्ने, खाक्कखुक्क गर्ने वा अन्य केही सङ्केत गर्ने परिपाटी धेरै ठाउँमा देखिन्छ । 

यसपटक परीक्षा अनुगमनका क्रममा केही ठुला, अमिल्दा र फरक गेटअपका परीक्षार्थी पनि देखिए । सोधीखोजी गर्दा ती फरक टाइपका परीक्षार्थी विभिन्न सरकारी वा गैरसरकारी जागिरे समेत रहेछन् । 

परीक्षार्थीलाई अमर्यादित कार्य गर्नबाट रोक्दा पछि आफूलाई व्यक्तिगत रूपमा केही हुने हो कि भने डर गार्डहरूमा देखिन्छ । कतिपय परीक्षार्थीले गार्डहरूलाई नटेर्ने, विभिन्न खाले धम्की दिने र अभद्र व्यवहारसम्म गर्ने गरेका घटना सुन्नमा आइरहन्छन् । खासगरी परम्परागत रूपमा एसईई परीक्षालाई फलामेढोकाका रूपमा लिने गरिएको र त्यसलाई जसरी पनि पार गर्नुपर्छ भन्ने मान्यता वा संस्कार रहेको हुँदा त्यसैको अवशेषका रूपमा यो अहिले पनि दोहोरिँदै आएको मान्न सकिन्छ ।

  • परीक्षार्थीको अराजकता 

हालैको परीक्षामा रुकुमपूर्वको एक परीक्षा केन्द्रमा एक परीक्षार्थी मापसे गरी केन्द्राध्यक्षसँग झगडा गर्न आएछन् । अधिकांश ठाउँमा विद्यार्थीले परीक्षाको समयमा समेत पढाइमा चासो राखेको पाइँदैन । परीक्षाका बेला राति अबेरसम्म घुम्ने, मादक पदार्थ सेवन गरेर हुल–हुज्जत गर्ने, केटीहरू बस्ने घर–कोठाहरूमा प्रवेश गर्ने वा गर्न खोज्ने, दिनभरि क्यारेमबोर्ड खेल्ने, मोबाइल चलाउनेजस्ता गतिविधि गरिरहेका हुन्छन् भन्ने गुनासा सुनिन्छन् र तिनमा सत्यता देखिन्छ । 

परीक्षा दिन जाँदा साथमा प्रवेश–पत्र नलाने, ड्रेस नलगाउनेजस्ता हर्कत पनि बढ्दै गएको देखिन्छ । खोसिएका मोबाइल फिर्ता गर्न दबाब दिने, केन्द्राध्यक्षसँग झगडा गर्नेजस्ता प्रवृत्ति पनि बढिरहेकै छन् । 

  • टुरिस्ट परीक्षार्थी 

यसपटक परीक्षा अनुगमनका क्रममा केही ठुला, अमिल्दा र फरक गेटअपका परीक्षार्थी पनि देखिए । सोधीखोजी गर्दा ती फरक टाइपका परीक्षार्थी विभिन्न सरकारी वा गैरसरकारी जागिरे समेत रहेछन् । 

कुनै कुनै ठाउँमा त इन्डियन आर्मीका जागिरे समेत भेटिए । सायद नियमित पठनपाठन नगर्ने भएकाले होला, परीक्षाको मर्यादा घटाउने कार्यमा यस्ता टुरिस्ट विद्यार्थीको भूमिका अलि बढी हुँदो रहेछ । आन्तरिक मूल्याङ्कन र इन्टर्नसिप गर्नुपर्ने विषयमा यिनको उपस्थिति कस्तो हुन्छ, त्यो पनि शङ्काकै विषय देखियो ।

परीक्षाका यी साह्रागाह्रा र अप्ठेरा एक ठाउँका होइनन् । हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म, सबैतिर कहीँ न कहीँ, केही न केही रूपमा यी कमजोरी र विकृति देखिएकै छन् ।

परीक्षा विद्यार्थीको उपलब्धि मापन गर्ने एक सहज, प्रचलित एवं भरपर्दो माध्यम हो । परीक्षाको मर्यादा र गुणस्तरले शिक्षण सिकाइको गुणस्तर र विद्यार्थी उपलब्धिको गुणस्तरलाई प्रभाव पार्छ । 

त्यसकारण राम्रो पठनपाठन र विद्यार्थीको लगावका लागि पनि यी परीक्षा सहज, मर्यादित र गुणस्तरीय बन्न जरुरी छ । परीक्षाका अमर्यादित र असङ्गत पाटा–पक्षलाई निषेध र नियन्त्रण गरी परीक्षाको गरिमा, विश्वास र मर्यादा बढाउन थप पहलको खाँचो देखिन्छ । 

  • के गर्न सकिएला त ?

कक्षा १२ र एसईई परीक्षा विद्यालय शिक्षा संरचनामा महत्त्वपूर्ण अवयवका रूपमा रहेका छन् । समग्र शिक्षाको गुणस्तर मापन र निर्धारण गर्ने माध्यम पनि यी परीक्षा नै हुन् । तसर्थ यी परीक्षाको सुधार, सुदृढीकरण र सबलीकरण आजको आवश्यकता हो ।

परीक्षा सुधारको सुरुवात सैद्धान्तिक स्पष्टताबाट गरिनुपर्छ । परीक्षा केन्द्र र केन्द्राध्यक्ष चयनको विषय मात्रै होइन; होम सेन्टर राख्ने वा नराख्ने, यताको उता र उताको यता गरी एकापसमा केन्द्र राख्ने, एउटा केन्द्रका लागि अपरिहार्य मापदण्ड र पूर्वाधार पूरा गर्ने आदि विषयलाई स्पष्ट निर्देशिकामा समेट्न सकिन्छ । सङ्घीय पुनर्संरचनाका आधारमा नीतिगत र कानुनी विषयलाई अविलम्ब सुधार्न जरुरी छ ।

मोबाइलको निषेध वा मोबाइल नियन्त्रणमा प्रहरीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ । खोसिएका मोबाइल प्रहरीलाई व्यवस्थापन गर्न दिँदा मात्रै पनि यसको प्रभाव राम्रो देखियो । खोसिएका मोबाइल परीक्षा सकिएपछि मात्रै कागज गराएर फिर्ता दिँदा यसले मोबाइल परीक्षा हलमा लैजान प्रयास गर्ने र त्यसबाट चिटिङ गर्ने प्रवृत्तिलाई दुरुत्साहन गरेको पाइएको छ । त्यसकारण यस्ता कुरालाई पनि सबैतिर एकरूपताका साथ कार्यान्वयन गर्न सकिन्छ ।

म्यासेन्जर ग्रुपमा चिटिङ गराउने (शिक्षक, अन्य व्यक्ति वा समूह जोसुकै)लाई तत्काल पक्राउ गर्ने र कारबाहीको प्रक्रिया सुरु गर्ने हो भने यसको प्रभाव सकारात्मक पर्दो रहेछ ।

परीक्षा व्यवस्थित र मर्यादित गराउन गार्डहरूको भूमिका अहम् हुन्छ । त्यसकारण मनोवैज्ञानिक रूपमा अलि निडर, निर्भीक र सक्षम गार्ड छनोटमा ध्यान दिन जरुरी छ ।

शिक्षकभन्दा बाहिरबाट गार्ड बसाल्न सके अझ प्रभावकारी बन्न सक्ने देखिएकाले यसतर्फ पनि छलफल गर्न सकिन्छ ।

परीक्षार्थीको अराजकता र अनुशासनहीनतालाई सम्बन्धित विद्यालयमार्फत नियन्त्रण गर्न सकिन्छ । निरोधात्मक उपायले काम नगरेमा सम्बन्धित निकायको सहयोगमा उपचारात्मक उपाय समेत उपयोग गर्न सकिन्छ ।

अर्कोतर्फ निश्चित पाठ्यघन्टा बराबर कक्षा लिन सक्ने र तोकिएको आन्तरिक मूल्याङ्कन र इन्टर्नसिपमा भाग लिन सक्ने गरी मात्रै विद्यार्थी भर्ना गरिनु जरुरी छ । विद्यार्थी सङ्ख्या बढाउन विभिन्न प्रलोभनसहित टुरिस्ट विद्यार्थी भर्ना गर्ने प्रवृत्तिलाई सैद्धान्तिक रूपमै खण्डित गरिनुपर्छ । त्यस प्रकारका विद्यार्थीका लागि खुला शिक्षा तथा खुला विद्यालयलाई प्रवर्धन गर्न सकिन्छ ।

जेहोस् परीक्षालाई शिक्षक, विद्यार्थी, अभिभावक र जो–कोहीका लागि पनि अतिरञ्जित विषय बनाइनु हुँदैन । अमर्यादित र असङ्गत परीक्षाले समग्र शैक्षिक प्रणालीलाई नकारात्मक असर पार्छ । त्यसकारण स्वच्छ, सहज, मर्यादित र गुणस्तरीय परीक्षाका लागि सबैले हातेमालो गर्नु आवश्यक देखिन्छ । 

(लेखक रुकुमपूर्व शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तिलक गौतम
तिलक गौतम
लेखकबाट थप