आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?

शनिबार, ०५ जेठ २०८१, १५ : ०५
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटकपटक विश्वासको मत लिएकोप्रति आपत्ति जनाएका छन् ।  प्रधानमन्त्री दाहालले यही जेठ ७ गते चौथो पटक संसद्मा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन् । 

नेता कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनी प्रश्न समेत गरे । उनले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री के का भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरे । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘राजनीतिक स्थिरता यो देशमा छैन । मैले अघि सभापतिजीलाई सोधेँ–के हुन्छ भोलि ? खै, के हुन्छ भनेर भन्नु भयो । मुलुकको राजनीतिक अवस्था त्यस्तो छ । अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढिरहेको छ । राजनीतिक दलहरू को प्रधानमन्त्री हुनेमा नै सीमित भइरहनुभएको छ । मलाई त त्यही आभास हुन्छ । सबै राजनीतिक दलको नेतृत्व वर्गसँग कुरा गर्दा खेरी को प्रधानमन्त्री हुने, कसरी जाने सोच बनाएर अगाडि बढिरहनु भएको छ । के को लागि प्रधानमन्त्री बन्ने ? प्रधानमन्त्री बनेर गर्ने के ? भन्ने कुरा आज तपाईंहरूले कसैलाई सोध्नुभयो ?’

उनले थपे, ‘प्रचण्डजीलाई नै गएर सोध्नुभयो भने पनि उहाँले पनि भन्न सक्ने अवस्था छैन । म यसो गर्छु, उसो गर्छु त भन्नुहुन्छ । तर उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनुछ । कति चोटि विश्वासको मत लिनु हुन्छ ? सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ । ३ चोटि त भइसक्यो । र यही तरिकाले सरकार चल्ने हो भने अझ २/४ चोटि सरकार फेरिरहन्छ । र सरकार फेरिरहँदाखेरी पोलिसीहरू चेन्ज भइरहन्छ । अनि त्यसको मार तपाईंहरू जस्तो व्यवसायीलाई पर्छ । त्यसैले राजनीतिक स्थायित्व हामीहरूले दिन सक्नुपर्दछ । राजनीतिक स्थायित्व दिन सकियो भने आर्थिक विकास बिस्तारै बिस्तारै हुँदै जान्छ । त्यसमा कसैले भनिरहनु पर्दैन । अलिकति हामीहरूले पोलिसीहरू चेन्ज गरिकन लगानीका लागि ऐनहरूलाई चेन्ज गरिदियौ भने हुन्छ । सुशासन छँदैछैन भन्ने कुरा पनि गर्नुभयो । पक्कै पनि हो । राजनीतिक स्थिरता नभई सुशासनको कल्पना गर्नु हुँदैन । सुशासनको कल्पना नै नगर्नुस् । सुशासन हुन्छ भनेर । राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन, पारदर्शिता यो सँगसँगै जाने कुरा हो ।’

उनले निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढ्ने कुरामा ठुला दल कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडान समेत दोहोर्‍याए । नेता कोइरालाले निर्वाचन प्रणालीमा सुधार गरेर अघि नबढ्ने हो भने मुलुकलाई बर्बाद हुनबाट कसैले पनि जोगाउन नसक्ने जिकिर गरे ।

उनले भने, ‘हाम्रो संविधान नै बाधक हो कि भन्ने मलाई लाग्छ । संविधानले निर्वाचन प्रणाली यस्तो बनाई दिएको छ । कुनै पनि दलको बहुमत आउनै सक्दैन । सम्भव नै छैन निर्वाचन प्रणाली यस्तो बनाई दिएको छ । त के गर्नु ? निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्‍यो । निर्वाचन प्रणाली परिवर्तन गर्न दुई तिहाइ बहुमत चाहियो । दुई तिहाइ बहुमत कसरी आउँछ ? हाम्रो संविधानमा निर्वाचन प्रणाली बाधक भएर बसेको छ जस्तो लाग्छ । यो मेरो विचार हो पर्सनल । त्यसका लागि दुई वटा ठुला दल एक ठाउँमा नउभिई दुई तिहाइ बहुमत आउन सक्दैन अहिले । तर एउटा डर त छ । दुई वटा ठुलो दल एक ठाउँमा उभिँदाखेरि के हुन्छ त भन्दा निरंकुशतातिर देश जान्छ कि भन्ने ठुलो डर छ मान्छेहरूमा र म मा पनि त्यो डर छ । हामी किन जाने, के का लागि ? किन सरकार परिवर्तन गर्ने ? संविधानमा केही सुधारहरू गर्नुपर्नेछ । त्यसका लागि सरकारमा जानुपर्छ भनेर पहिलो निर्णय गर्नुपर्छ । अनि के के मा सुधार गर्ने भन्ने छलफल भएपछि मात्रै सरकारमा जानुपर्छ । होइन भने हामी जानु हुँदैन त्यसरी । के को लागि जाने ? देखिरहनु भएको छ त प्रधानमन्त्री फटाफट चेन्ज हुनु भयो  । प्रधानमन्त्री उही हुनुहुन्छ । उहाँ भन्दा अघि हाम्रो शेरबहादुरजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो भन्दा पहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो । कसले के गर्नु भयो ? आज पनि त्यही गुनासो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप