रविजी गृह मन्त्रालयमा बस्न पाउनुहुन्न : शेखर कोइराला
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन् ।
उनले भने– ‘रवि लामिछानेजीलाई हामीहरूले बोल्न नदिएको होइन । बोल्नुस् भनेर भनेकै हो । तर हामीहरूले के भनेको थियौ भने तपाईँले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौँ । होइन भने हामी तपाईँले बोलेको बोलीको खण्डन गर्छौं भनेर भन्दा पनि त्यो स्वीकार्य भएन ।’
उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने समेत बताए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने कोइरालाको भनाई छ । उनले उपप्रधानमन्त्री लामिछाने आफैँले संसद्मा उभिएर आफूमाथि लागेको सहकारी गुठी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने समेत बताए ।
‘हामीले राजीनामा मागेको छैन । हामी त के भन्छौँ भने उहाँ गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैनथियौ होला । किनभने सहकारीमा त तल्लो तप्काका मानिसहरूले पैसा जम्मा गरेकाे रकम अपचलन भएको हो नि त । जनताले सडकमा उठाएका मागहरूलाई हामीले सदनमा ल्याइदिएको हो’ कोइरालाले भने, ‘निष्पक्ष छानबिन त सांसदले गर्ने होइन होला । रविजीलाई जुन कुराको चार्ज लगाएका छन् । त्यो कुरा होइन भनेर उहाँले पुष्टि गरिदिनुपर्यो । त्यो पुष्टि हुनका लागि उहाँ मन्त्री नै हुनुहोस् । उपप्रधानमन्त्री नै बसिरहनु होस् । तर गृह मन्त्रालयमा त बस्नु भएन नि उहाँले ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत