च्याउ खेतीमा २५ करोड लगानी : नेपाली भान्सामा परिचित बन्दै ‘राजा च्याउ’
काठमाडौँ । कृषि उद्यमी दीपक प्रसाद न्यौपानेको व्यवसायकै क्रममा चीन आउजाउ भइरहन्थो । उनको अनुभवमा चीनमा खानाका परिकारमा बढी मांसाहारी ‘मेन्यु’ हुन्थे । शाकाहारी भोजनमा रुचि भएका उनले सोहीअनुसारको मेन्यु खोज्ने क्रममा भेटे– किङ ओयस्टर जातको च्याउ ।
उक्त च्याउ देख्नमा आकर्षक मात्रै थिएन, विभिन्न हिसाबले स्वास्थ्यका लागि फाइदाजनक भएको पनि उनले जानकारी प्राप्त गरे । कोरोना महामारी भन्दा केही अघि मात्रै चीनपुग्दा उनले स्थानीय बजारमा उक्त च्याउको माग धेरै भएको पाए । तर, सोही च्याउ नेपालमा भने विदेशबाट आयात भइरहेको बारे उनी जानकार थिए ।
नेपालमा यसको उत्पादन सुरु नभएको तर उत्पादन भएको खण्डमा बजार पाउने विश्वासका साथ उनले टीम बनाएर कोरोना महामारीकै आसपासमा नवलपुरमा उच्च गुणस्तरीय प्लान्टसहितको च्याउखेती सुरु गरेका हुन् । ‘राजा च्याउ’ नाम दिइएको सोही किङ ओयस्टर अर्ग्यानिक च्याउ पछिल्लो समय नेपाली भान्सामा परिचित बन्ने क्रममा रहेको छ ।
‘अरू च्याउको भन्दा यसको डेट पनि बढी हुन्छ । खाँदा पनि यो स्वास्थ्यका हिसाबले राम्रो छ’ न्यौपानेले भने, ‘यो कोलेस्ट्रोल फ्री हुन्छ भने लो सोइडियम अर्थात नुनको मात्रा कम हुन्छ । अर्ग्यानिक पनि हुने हुँदा यसको माग दिनप्रतिदिन बढ्दो क्रममा छ ।’
सुरुमा २५ लाख लगानीबाट सुरु भएको च्याउ खेतीमा मात्रै अहिले आफ्नो टिमले करिब २५ करोड भन्दा बढी लगानी गरिसकेको उनको भनाइ छ । नवलपुरको गैँडाकोट–१४ मा रहेको खेतीबाट प्रतिदिन ४ हजार किलो च्याउ उत्पादन हुन सक्ने क्षमता रहेको उनले बताए ।
नेपालमा दैनिक ३० हजार किलो च्याउ खपत हुने गरेको त्यतिबेलाको तथ्याङ्क प्रस्तुत गर्दै उनले सम्पूर्ण अध्ययनपश्चात् नवलपुरमा काम थालिएको बताए । ‘त्यतिबेला विदेशबाट आयात हुने उक्त च्याउ महँगोमा डिपार्टमेन्टल स्टोरहरूले बेच्ने गरेकामा स्वदेशमै उत्पादन गरेर नेपाली उपभोक्तासम्म पुर्याउने उद्देश्यका साथ हामीले काम थालेका थियौँ’, उनले भने।
स्वदेशमै उत्पादनका लागि चीनबाट टेक्नोलाजी भित्र्याएको उल्लेख गर्दै न्यौपानेले चीनबाट दुई जना कामदार समेत ल्याएर सम्पूर्ण तयारी गरेको बताए । ‘एनसी एग्रो टेक इन्डस्ट्री’ मार्फत च्याउ उत्पादन हुँदै गर्दा कम्पनीले गुणस्तरमा विशेष ध्यान दिँदै आएको छ ।
न्यौपानेले अझै पनि राजा च्याउलाई आम उपभोक्तासम्म आशातीत परिचित गराउन नसकेको भन्दै बजारीकरणमा निरन्तर लागिरहेको बताए ।
उनका अनुसार राजा च्याउ देशका प्रमुख सहरहरूका साथै आम उपभोक्ताको भान्सासम्म पुर्याउनका लागि निरन्तर पहल भइसकेको छ । साथसाथै भाटभटेनी, बिग मार्ट, पार्टी प्यालेस र तारे होटलहरुमा पनि आफूहरूको च्याउ बिक्री बढ्दै गएको उनको भनाइ छ । अहिले दैनिक १५०० किलो उत्पादन भइरहेको र माग भएको खण्डमा ४ हजार किलो नै उत्पादन गर्न सकिने उनको भनाइ छ ।
राजा च्याउको मूल्य उच्च भए पनि नेपाली बजारमा आफूहरूले प्रतिकिलो ३५० को हाराहारीमा बेचिरहेको न्यौपानेले बताए । ‘हामीले अहिले चिनाउनका लागि पनि सस्तोमा दिइरहेका हौँ । डल्ले च्याउ भन्दा बढी लगाइदियो भने उपभोक्ताले खानुहुन्न । त्यसैले हामीले उस्तैउस्तै भाउ बनाएका हौँ’, उनले भने । आफ्नो योजना नै ब्रोइलर कुखुराको रेटमा च्याउ खुवाउने भन्ने रहेको उनको भनाइ छ ।
कृषिजन्य वस्तुहरूमा अत्यधिक परनिर्भरता भएको देखेर केही हदसम्म भए पनि व्यापार घाटा कम गर्ने उद्देश्यका साथ आफूसहितको टिमले एग्रटेक इन्डट्रिज स्थापना गरेको उल्लेख गर्दै न्यौपानेले नेपालमै अत्याधुनिक प्रविधि एवम् गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी व्यावसायिक रूपमा पहिलो पटक राजा च्याउको उत्पादन सुरु गरेको जानकारी दिए ।
ओयस्टर प्रजातिका विभिन्न च्याउहरूमध्ये राजा च्याउ पनि एक रहेको छ । यसलाई कतिपयले फ्रान्सेली सीङ च्याउ भनेर समेत चिन्ने गर्छन् । अन्य ओयस्टर प्रजातिका च्याउहरूभन्दा यसको उत्पादन गर्न कठिन हुने भएकाले सबैतिर सहज रूपमा यो च्याउ पाउन नसकिने जनाइएको छ ।
एसियाली मुलुकहरूमा चीन, जापान र कोरियामा यो धेरै लोकप्रिय छ । नेपालमा पनि आफूहरूले उच्च गुणस्तरको कच्चा पदार्थहरू जस्तै उखुको बगास, उच्च ग्रेडको मकै, फ्रेस पिना, ग्रेडिङ गरेको गहुँ, फ्रेस चापट, काठको भुस, कपासको खोस्टा तथा मकैको खोइला जस्ता वस्तुहरूको प्रयोग गरी पूर्णरुपमा अर्ग्यानिक र पौष्टिक तत्त्वले भरिपूर्ण किङ ओयस्टर च्याउको व्यावसायिक उत्पादन गर्दै आएको न्यौपनेको भनाइ छ ।
कम्पनीका मेनेजर भरत न्यौपानेले पूर्णरुपमा अर्ग्यानिक हुनुबाहेक रगतमा कोलोस्ट्रोलको मात्रा काम गर्न पनि यो च्याउ उपयोगी भएको दाबी गरे । यस्तै हर्मोनहरु सन्तुलित राख्न, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, ब्रेष्ट र प्रोस्टेट क्यान्सरबाट बचाउन सहयोगी यो च्याउ लामो समयसम्म भण्डारण गरेर राख्न सकिने उनको भनाइ छ ।
कम्पनीले यसको अलबा बाँसको कोइलाका साथै बासका उत्पादनहरू टुथपिक, ससेज सिन्का, धूपको सिन्का, चपिस्टिकलगायतको उत्पादन पनि गर्दै आएको छ । तीन वटै क्षेत्रमा गरी कम्पनीले कुल ४० करोड हाराहारीमा लगानी गरिसकेको छ भने १०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी पनि दिएको छ ।
कम्पनीका फाउन्डर डाइरेक्टर समेत रहेका दीपक प्रसाद न्यौपानेले राज्यले केही नीतिगत समस्याहरूमा सहजीकरण गरिदिएमा कृषि उत्पादनमा परनिर्भरता बढाउन सहयोगी भूमिका खेल्न सक्ने बताए । ‘कृषिमा केही योगदान दिने क्रममा हामीले जुन योजनाअनुसार प्लान्ट लगाएका छौँ, यसमा राज्यले पनि आवश्यक वातावरण बनाउन सहयोग गरेमा कृषिजन्य वस्तुहरूमा परनिर्भरता हटाउन केही भए पनि भूमिका खेल्न सक्ने विश्वास छ’ उनले भने ।
यसका साथै क्यान मसरुम आयातमा कडाइ, बिजुली महसुलमा छुटका साथै कृषि ऐन छुट्टै बनाइए स्वदेशी कृषकलाई राहत मिल्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपा महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने
-
काठमाडौँ अदालत परिसरमा रवि लामिछानेका समर्थकको भीड (तस्बिरहरू)
-
हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार
-
रवि लामिछानेलाई काठमाडौँ प्रहरी परिसर लगियो
-
शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस
-
संसदीय समितिको बैठकमा सांसदहरु नआएपछि बैठक सञ्चालनमा समस्या