३३/११ केभी देवनगर सबस्टेसनको उद्घाटन
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सबस्टेसनको उद्घाटन गरेकी छन् । शनिबार एक कार्यक्रमका बिच प्रमुख दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेशनको उद्घाटन गरेकी हुन् ।
भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीव्र सहरीकरणसँगै विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न देवनगर सबस्टेसन सञ्चालनमा ल्याइएको बताइन्। पश्चिम चितवनको मेघौलीमा पनि ४ विघा क्षेत्रफलमा सबस्टेसन निर्माण गर्न लागिएको उनको भनाई छ ।
‘मेघौलीको सबस्टेसन सञ्चालनमा आएपछि सबै समस्या हटेर जान्छ,उनले भनिन्, ‘५० वर्षलाई हेरर भरतपुरको गुरुयोजना निर्माण भएको छ । अबको ५० वर्षसम्म कुनै समस्या आउँदैन।’
भरतपुरमा नेपाल विद्युत् प्राधिकरणबाट महत्त्वपूर्ण कामहरू भएको पनि उनले स्मरण गरिन् । भरतपुरका मुख्य सहरी क्षेत्र बाइपास रोड, पुलचोक गोन्द्राङ सडकमा भूमिगत विद्युतिकरण, ८० किमिमा स्मार्ट स्ट्रिट लाइट, बसपार्कमा चार्जिङ स्टेसन र फेरि पनि १५० किमी स्ट्रिट लाइटको काम हुन लागेको जानकारी दिइन् । उनले उज्यालो भरतपुर बनाउन आउँदो तिहारसम्म स्ट्रिट लाइटको काम सम्पन्न गर्न प्राधिकरणका निर्देशक घिसिङलाई अनुरोध पनि गरिन् ।
यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरमा प्राधिकरणले कुनै पनि काम गर्दा स्थानीय तहले गर्ने समन्वय देशभरमै उत्कृष्ट पाएको बताए । भरतपुरलगायत देशका प्रमुख सहरहरूको ५० वर्षीय गुरुयोजना तयार भई त्यही अनुसार काम अगाडि बढाइएको जानकारी दिए ।
भरतपुरमा भइरहेको तीव्र सहरीकरणका कारण गुरुयोजनालाई थप परिष्कृत र परिमार्जित गरिएकाले ५० वर्षको लागि विद्युत् आपूर्तिको समस्या नहुने गरी बनाइएको सो अवसरमा बताए । उनले नेपालको ९९ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेकाले चितवनका केही स्थान अझै पनि विद्युत् नपुगेकाले त्यहाँ छिट्टै पुग्ने गरी काम अघि बढाइएको जानकारी दिए ।
माडीको विद्युत्मा देखिएको समस्या समाधान गर्न छिट्टै नयाँ तार बिछाइने उनको भनाइ थियो । त्यस्तै माडीको बाँदर झुलामा पनि विद्युत् विस्तारको काम अघि बढाइने बताए । सबस्टेसनमा ४ वटा फिडर रहेका छन् । सबस्टेसनले भरतपुर महानगरको वडा नं. ५,६,८,९, १३, १४, १५, २२ र २३ मा गुणस्तरीय विद्युत् सेवा वितरण गर्ने छ ।
नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेशन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेशनको लागत झन्डै साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायतले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
-
जिम्मेवारी खोसिएपछि उषाकिरणले भनिन्– पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल नगरेको भए हुन्थ्यो
-
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
लोकसेवा छल्दै गण्डकी प्रदेश सरकार, करारमा कर्मचारी राख्न अध्यादेशको बाटो
-
भक्तपुरमा सोकोनको पहिलो शोरुम
-
भरतपुर भ्रमण वर्ष २०२४ : राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गतेदेखि