नमेटिने घाउ
उनी भन्दैछन् ।
नदेखिने र नमेटिने घाउ बिर्सेर
अझै युद्ध बाँकी छन् रे !
नयाँ नेपाल बनाउन
नेपाल आमाको मुहार फेर्न
गरिबीको खाल्डोमा जागेको गरिबको जिन्दगी उकास्न
अन्यायमा परेका हरूको लागि
सर्लक्क न्याय दिलाउन
तिमिले गरेको युद्धको कारण
कति के भए ?
कतिले के-के मात्रै गुमाउनु परेन
छ लेखाजोखा ?
फगत हराइ गएको जिन्दगानी को
गरेको छ , हिसाबकिताब ?
म प्रायः राती आकाश हेर्छु
ताराहरू टिमटिम चम्किएको पाउँछु ।
त्यहीँ ताराको हुलमा
कल्पनामा देख्छु ,
र सधैँ दिमागमा आउनुहुन्छ।
उनले देखाएको बाटोमा हिँड्दा-हिड्दैँ
आधा बाटोमा
बेवारिसे लास बनेर गिद्ध र स्यालको आहारा बन्दै
महिनौँ सम्म चिहान नपाएर कङ्काल भएको
मैले गुमाएका मेरो आफ्नोको
हृदय विदारक जीवनको कहानी
अनि म बाँचेर जीवन जिउँदै गरेको
मन भरी नदेखिने घाउको
खाटा बसेको पाप्रा उप्काउँदै गर्दा
उहाँ भन्नू हुन्छ अझै
अझै युद्ध बाँकी छन् रे !
कसैले कसैलाई दिएको
आश्वासन र आशीर्वाद
कामनाको कुरा फरक हुन्थ्यो,
फर्केर विगत परिवर्तन गर्न सक्दिन
आशा छ समयले वास्तवमै सबै कुरा निको पार्नेछ।
आशाको बल्छीमा जीवन उनेर
फगत काल्पनिक खुसी खोलाको किनारमा
जीवनलाई बिसाएर राखेको छु,
घाउहरू बाट पुनः फेरि रगत-पिप नबगुन् भनी
तिनले देखाएका सिद्धान्त को चौतारी भत्काएर
ॐ माने पद्मे जप्दै
शान्ति को स्तुपा ठडाएको छु ।
मेरो मनको देउरालीमा
उनी भने अझै युद्ध बाँकी छन् भन्छन् ।
मेरो दिलको नदेखिने घाउ बिउँझाउन ।
थाहा पाउँदा पाउँदै
अन्तिम शाश्वत सत्य अँगालेर
विभेदको दागहरू मेटिन्छ भन्ने कुरामा
तिमीलाई नदेखिने आस्थाको देउता बनाएर
परिवार को पीडा भुलेर
शासकले दिएको चोटको वजन भन्दा
तिमिले देखाएको मुक्ति मार्ग सहज सम्झेर
भेडा जस्तै बनेर तिम्रो पछि लागि
केही नराम्रो समय पाए पनि,
केही राम्रो समय पाए पनि
सम्झनाहरू साझा गरे आफ्नालाई
मृत्यु को खबरहरू साझा गरे आफन्तलाई
रगत बगाएको थियो पानी सरि
गिदी छरेको थियो मसिना ढुङ्गा सरि
हात-खुट्टा चुँडाएको थियो
रुखको डाली लाछे सरि
छन् अनेकौँ नदेखिने घाउ
र पनि....
तिमी भन्दैछौँ युद्ध अझैँ बाँकी छ ?
पाँचखाल-११,काभ्रेपलान्चोक
हाल- लिमासोल,साईप्रस