आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले जिल्ला अधिवेशन : लुम्बिनी प्रदेशका ७ जिल्लामा को-को छन् अध्यक्षका आकाङ्क्षी ?

शनिबार, ०५ जेठ २०८१, ०६ : ४७
शनिबार, ०५ जेठ २०८१

बुटवल । लुम्बिनी प्रदेशमा एमालेको ५ वटा जिल्ला अधिवेशन सकिएको छ । ७ वटा जिल्लामा अधिवेशनको तयारी भइरहेको छ । पार्टीको केन्द्रीय तालिका अनुसार जेठ मसान्त भित्र सक्ने गरी ७ वटै जिल्ला कार्यसमितिले आ आफ्नो ढङ्गबाट अधिवेशनको तयारी गरिरहेका छन् । 

अधिवेशन सम्पन्न भएका पाँच जिल्लाहरूमा कतै मतदान र कतै सर्वसम्मत नेतृत्व चयन भएका थिए । बाँकेमा आज नयाँ नेतृत्व चयन हुदैछ । यस्तै दाङमा भोलि र पर्सी अधिवेशन हुँदै छ ।

पाल्पा जिल्लामा जेठ १० र १२ गते अधिवेशन हुँदै छ भने रुपन्देहीमा यसअघि निर्धारण गरिएको अधिवेशन मिति सारेर जेठ २३ र २४ गते गर्ने तयारी छ । प्युठानमा जेठ २१ र २२ गते, अर्घाखाँचीमा जेठ २६ र २७ गते, गुल्मीमा २९ र ३० गते अधिवेशन गर्ने तयारी भइरहेको छ । 

को–को छन् आकाङ्क्षी ?
रुपन्देहीमा हालका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, सैन मैना नगरपालिका पूर्व मेयर एवं पार्टीका जिल्ला उपसचिव चित्र कार्कीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।  

यता दाङमा ६ र गते ७ हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । यहाँ हालका अध्यक्ष हुकुम बस्नेत र उपाध्यक्ष  मनोहर बुढाथोकी अध्यक्षका आकाङ्क्षी देखिएका छन् । अध्यक्ष बस्नेतले पार्टी महासचिवको गृहजिल्ला दाङका भएकोले पनि उनैलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको एक जिल्ला नेताले बताए ।  

पाल्पामा जेठ १० र ११ गते हुने अधिवेशनमा हालका सचिव रामजी पोखरेल र पूर्व सचिव ओमबहादुर घर्तीले नेतृत्वमा आकांक्षा राखेका छन् । उनीहरूले सोही अनुसार आन्तरिक रूपमा आफ्नो तयारी गरेको कार्यकर्ताहरू बताउँछन् । 

बाँके जिल्लामा आगामी कार्यकालका लागि अध्यक्ष पदमा ४ जना आकाङ्क्षी देखिएका छन् । वर्तमान अध्यक्ष किस्मत कक्षपती, उपाध्यक्ष डिल्ली बिसी, पूर्व अध्यक्ष निरक गुरुङ र प्रदेश कमिटी सदस्य घननाथ खनालले अध्यक्षमा दाबी गर्दै आएका छन् । 

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए निर्वाचन हुने बताए । उनले भने– सकभर सर्वसम्मतको  प्रयास हुन्छ, नभएमा लोकतान्त्रिक प्रद्तिमा निर्वाचनको विकल्प छैन । 

गुल्मीमा २९ र ३० गते हुने अधिवेशनमा अहिलेका अध्यक्ष बालसिंह काउछा र प्रदेश कमिटी सदस्य हिरा एसी प्रतिस्पर्धाका लागि तयारीमा जुटेका छन् । यहाँको अधिवेशनमा एमाले केन्द्रीय नेता गोकर्ण विष्ट र प्रदीप ज्ञवालीले धेरै चासो दिएकोले यहाँको नेतृत्व चयन पेचिलो हुने देखिएको छ । 

प्युठानमा जेठ २१ र २२ गते हुने निर्वाचन अध्यक्षको लागि हालका अध्यक्ष विजय विराट विष्ट बाहेक अन्यले अझै मुख खोली सकेका छैनन् ।  विष्ट पनि सकेसम्म सर्वसम्मत रूपमा आफू दोहोरिने दाउमा छन् ।  

अर्घाखाँचीमा हालका अध्यक्ष पीताम्बर भुसाल दोहोरिने तयारीमा छन् । अन्य पदाधिकारीहरूमा अरू दाबेदार देखिए पनि अहिलेसम्म अध्यक्षमा भुसालको बाहेक अन्य नेता खुलेर नआएको कार्यकर्ताहरू बताउँछन् । 

को–को भए सर्वसम्मत ?

लुम्बिनी प्रदेशमा सम्पन्न पाँच जिल्ला अधिवेशनमा मध्ये २ जिल्ला अध्यक्ष सर्वसम्मत चयन भएका छन्, भने तीन जिल्ला अध्यक्षहरू मतदानबाट विजयी भएका छन् । 

नवलपरासी  र पूर्वी रुकुम सर्वसम्मत भएको छ । अन्य ठाउँमा मतदान  भएको छ । बर्दिया, कपिलवस्तुमा बहालवाल अध्यक्ष नै पराजित भएका छन् । 

नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा लीलामणि गौतम निर्वाचित भएका छन् । ९ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गौतम सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र कुमार अधिकारी सर्वसम्मत  भए । जिल्लाको नवौँ अधिवेशनबाट अधिकारी लगायत १०५ जनाको सिङ्गो कमिटी नै सर्वसम्मत चयन गरिएको हो । 

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित भएका छन् । बहालवाला अध्यक्ष डम्मर शर्मालाई पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन्। बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी भए । दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् । यस्तै रोल्पामा भएको निर्वाचनमार्फत अध्यक्षमा अमृत बुढा निर्वाचित  भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप