अर्को निर्वाचनसम्म यही समीकरण जान्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको साढे तीन वर्षसम्म यही समीकरण अगाडि बढ्ने बताएका छन् । मन्त्रीमण्डल विस्तारका क्रममा ५ मन्त्री र दुई राज्यमन्त्रीको शपथ सकिएलगत्तै संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘अहिलेको सत्ता समीकरण अब साढे ३ वर्षसम्म रहन्छ । आगामी निर्वाचन पनि मिलेर जान्छौँ । यो समीकरण टुट्दैन । टुट्न दिनुहुँदैन,’ उनले भने । उनले आफ्नो नेतृत्वको सरकारको प्राथमिकता सुशासन रहेको बताए । ‘मेरो प्राथमिकता सुशासन पहिलो प्राथमिकता हो,’ उनले भने, ‘प्रदेश संरचनालाई नेपाली जनताले बुझ्ने, छाम्ने र देख्ने गरीको नीति कार्यक्रम र बजेट बनाउने तयारीमा छौँ ।’
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा गत फागुन २१ गतेदेखि बनेको सत्ता समीकरणमा आउन चाहने दलहरूको लागि सरकारमा आउने बाटो खुल्ला राखेको पनि बताए । ‘अहिलेको समीकरणमा आउन चाहने दलहरूको लागि हामीले ठाउँ राखेको हो,’ उद्योग, कृषि तथा सहकारी मन्त्रालय खाली राखेको जनाउँदै उनले भने, ‘उहाँहरू सरकारमा आउन चाहे हामी मन्त्रीमण्डल पुनर्गठन गर्न पनि सक्छौँ । प्रदेश संरचनालाई स्थापित गर्ने हो भने सहमतीय बाटो भन्दा अरू विकल्प छैन । सबैको सहकार्य हुने गरी सहमति गर्न हामी तयार छौँ ।’
मुख्यमन्त्री कार्की गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीले शुक्रबार ७ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार बिस्तार गरेका छन् ।
जसमा रामबहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्री, गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास मन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, राजेन्द्रकुमार कार्की स्वास्थ्य मन्त्री, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, पाँचकर्ण राई सामाजिक विकास मन्त्री र नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री आफैँले राखेका छन् । मुख्यमन्त्री कार्कीले दुई राज्यमन्त्रीहरू पनि नियुक्त गरेका छन् । जसमा सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता