बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
पार्टी विभाजन

के गर्दैछन् उपेन्द्र यादवसँग छुट्टिएका नेता ?

शुक्रबार, ०४ जेठ २०८१, १९ : ०६
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजित भएपछि प्रतिक्रिया दिँदै भ्रष्ट, लोभी पापीहरू पार्टी छाडेर गएको बताउँदै आएका छन् ।

२०७३ वैशाख १० गते आयोजित एक पत्रकार सम्मेलनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सोधिएको थियो– ‘थारुका नेता विजयकुमार गच्छदार तपाईंको पार्टीमा किन टिक्न सकेनन् ?’ जवाफमा अध्यक्ष यादवले भनेका थिए– ‘विजय गच्छदार कुन थरूहटको नेता ? हामीले त उहाँलाई भौतिक मन्त्रालयका नेता भनेरमात्र चिनेका छौँ ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अध्यक्ष स्वीकारेर उनीसँग जोडिएका शीर्ष नेताहरूले विस्तारै उनको साथ छाडेका छन् । तीमध्ये कोही राजनीतिबाट गायब भएका छन् भने कोही सक्रिय छन् ।

उपेन्द्र यादवलाई अध्यक्ष मानेर उनीसँग जोडिएका डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतो, विजयकुमार गच्छदार, अशोक राई, शरतसिंह भण्डारी, जेपी गुप्ता, अनिलकुमार झा, सरिता गिरी, महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, जितेन्द्र सोनल, रेशम चौधरी, लक्ष्मण थारु, नरसिंह चौधरी, गोविन्द चौधरी, अमर यादव, भरतविमल यादव, किशोर विश्वास, भाग्यनाथ गुप्ता, बीपी यादव, अमृता अग्रहरी, रामेश्वर राय यादव, रामजनम चौधरी, तिलक रावल, सीताराम अग्रवाल, अभिषेकप्रताप शाह, कौशलकुमार सिंह, तुलानारायण साह, रिजवान अन्सारी, उमाशंकर अरगरिया, निलम बर्मा, करिमा बेगम, नन्दन दत्त, रामचन्द्र राय, सत्यनारायण मण्डल, लक्ष्मणलाल कर्ण, प्रदीप यादव, नवलकिशोर साह, राजकुमार लेखी, जितेन्द्र देव लगायत सयौँ नेता देशभरबाट उपेन्द्र यादवलाई अध्यक्ष मानेर उनीसँग जोडिएका थिए । तर आज उनीसँग यीमध्ये कुनै पनि नेता छैनन् । बिस्तारै–बिस्तारै एक–एक गरी सबैले उपेन्द्र यादवको साथ छाडेका छन् ।

के गर्दैछन् उपेन्द्र यादवको साथ छाडेकाहरू नेताहरू ?

१. डा.बाबुराम भट्टराई

माओवादीको सशस्त्र आन्दोलनको नेतृत्व गरिसकेका डा.बाबुराम भट्टराई देशको प्रधानमन्त्री पनि भइसकेका छन् । माओेवादीबाट अलग भएर नयाँ शक्ति नेपाल गठन गरेका भट्टराईले सो पार्टी लामो समय चलाउन सकेनन् । २०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरमसँग एकीकरण गरेर उनले समाजवादी पार्टी गठन गरेका थिए ।

उनीहरूबिच एकता भएको तीन वर्ष नबित्दै खटपट सुरु भएको थियो । २०७९ असार २८ गते डा. भट्टराई उपेन्द्र यादवबाट अलग भएका थिए । भट्टराई साथमा महिन्द्रराय यादवलगायतका नेताहरूले पनि उपेन्द्र यादवको साथ छाडे । उनीहरूले नेपाल समाजवादी पार्टी गठन गरे ।

अहिले भट्टराई र महेन्द्र राय यादव पनि साथमा छैनन् । नेपाल समाजवादी पार्टी पनि विभाजन भइसकेको छ । भट्टराई अझै नेपाल समाजवादी पार्टीको अध्यक्ष छन् ।

२. महन्थ ठाकुर

कांग्रेसमा लामो समय राजनीति गरेका महन्थ ठाकुरले सो दलबाट अलग भएर २०६४ पुस १२ गते तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए । पछि उनले विभिन्न पार्टीसँग एकता गरी राष्ट्रिय जनता पार्टी नेपाल गठन गरेका थिए ।

२०७७ वैशाख १० गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीसँग उनले एकता गरेका थिए । राजपा र समाजवादी मिलाएर जनता समाजवादी पार्टी नेपाल गठन गरिएको थियो । तर त्यो पार्टी गठन भएको छोटो समयमा महन्थ ठाकुर र उपेन्द्र यादवको बिचमा खटपट सुरु एको थियो ।

एक वर्षपछि अर्थात् २०७८ असार २२ गते उपेन्द्र यादवबाट महन्थ ठाकुर अलग भएका थिए । महन्थ ठाकुरसँगै राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मण लाल कर्ण, उमाशंकर अरगरियालगायत थुप्रै नेता उपेन्द्र यादवबाट अलग भएका थिए ।

महन्थ ठाकुर लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष र प्रतिनिधि सभा सदस्य छन् । राजेन्द्र महतो पनि महन्थ ठाकुरबाट अलग भएर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाइरहेका छन् । अनिलकुमार झा पनि महन्थ ठाकुरबाट अलग भएर आफ्नो छुट्टै अभियान चलाइरहेका छन् ।

शरतसिंह भण्डारी लोसपाका वरिष्ठ नेता र प्रतिनिधि सभाका सदस्य हुन् । उपेन्द्र यादवबाट अलग भएपछि पनि उनी सांसद र मन्त्री भए । लक्ष्मण लाल कर्ण पनि हाल लोसपामै छन् ।

३. विजयकुमार गच्छदार

लामो समय कांग्रेसमा रहेर राजनीति गरेका विजयकुमार गच्छदार २०६४ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरममा आबद्ध भएका थिए । तर उनीसँग गच्छदार चार वर्ष पनि टिक्न सकेनन् ।

गच्छदार २०६६ साउन १४ गते उपेन्द्र यादवसँग अलग भएका थिए । उनको साथमा शरतसिंह भण्डारी, रामजनम चौधरी, रामेश्वर राय यादव, जितेन्द्र देव, आशा चतुर्वेदीलगायत थुप्रै शीर्ष नेता अलग भएका थिए । उनीहरूले गच्छदारको अध्यक्षतामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी गठन गरेका थिए । २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा गच्छदार नेतृत्वको पार्टीले उपेन्द्र यादव नेतृत्वको पार्टीभन्दा बढी सिट जितेको थियो ।

गच्छदारबाट अलग भएर शरतसिंह भण्डारीले छुट्टै पार्टी बनाएका थिए भने रामेश्वर राय यादव माओवादीमा प्रवेश गरेका थिए । पछि विजयकुमार गच्छदार २०७४ असोज २९ गते कांग्रेसमा फर्किएका थिए । उनी कांग्रेसमा आएर २०७४ को प्रतिनिधि सभा चुनाव जित्नुका साथै पार्टीको उपसभापति तथा उपनेता भएका थिए । ललिता निवास कण्डका मुछिएका कारण हाल उनी पार्टीमा निष्क्रिय छन् ।

४. जेपी गुप्ता

jp-gupta

नेपाली कांग्रेसमा लामो समय काम गरेका जेपी गुप्ता उपेन्द्र यादवसँग मधेसी जनअधिकार फोरम सामाजिक संस्थाकै रुपमा रहेको बेलादेखि जोडिएका थिए ।

उपेन्द्र यादव प्रवासमा हुँदा जेपी गुप्ताले नै नेपालमा फोरमको तर्फबाट गतिविधिहरू गर्थे र संगठनहरू बनाउँथे । फोरम नेपाल पार्टी बनेपछि उनी कांग्रेसमै बसे । पछि २०६४ तिर उनी पुनः उपेन्द्र यादव जोडिएका थिए । दुवै जनाको बिचमा लामो सहकार्य भएको थियो ।

तर २०६८ मा जेपी गुप्ता उपेन्द्र यादवबाट अलग भएका थिए । उनका साथमा राजकिशोर यादव, बीपी यादव, नन्दन दत्त, अकवाल अहमद, सन्ध्या देवीलगायत थुप्रेरै नेताहरू अलग भएका थिए । उनीहरूले गुप्ताको नेतृत्वमा मधेसी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए ।

जेपी गुप्ता डा.बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा सहभागी भएका थिए । उनी सञ्चारमन्त्री रहेकै अवस्थामा एउटा भ्रष्टाचार मुद्दाका कारण जेल परे ।

जेलबाट निस्केपछि उनले तराई मधेस राष्ट्रिय अभियान चलाएका थिए । तर भ्रष्टाचार मुद्दामा मुछिएका कारण उनले त्यसलाई निरन्तरता दिन सकेनन् र अभियानलाई छाडे । उनी हाल राजनीतिभन्दा टाढा छन् ।

५. सरिता गिरी

लामो समय गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीमा आबद्ध भएर राजनीति गरेकी सरिता गिरी पछि सोही पार्टीकी अध्यक्ष भइन् । २०७४ जेठ २६ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालमा समाहित भएकी उनी सो पार्टीबाट समानुपातिक सांसद भइन् ।

चुच्चे नक्साको बारेमा उनले दिएको अभिव्यक्तिका कारण उपेन्द्र यादवले उनलाई कारबाही गरेर सांसदबाट हटाएका थिए । उपेन्द्र यादवबाट अलग भएपछि गिरीले नेपाल सद्भावना पार्टीलाई नै सक्रिय बनाउने प्रयास गरेकी थिइन् तर सकिनन् । २०७९ को चुनावमा स्वतन्त्रबाट चुनाव लडे पनि उनी पराजित भइन् । हाल उनी राजनीतिमा सक्रिय छैनन् ।

६. अमर यादव

amar_yadav_1_loqdfQlX7C

मधेस आन्दोलनदेखि नै उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा आबद्ध रहेका अमर यादवले २०६५ मै उपेन्द्र यादवको साथ छाडेका थिए । उनले आफ्नै नेतृत्वमा मधेस तराई फोरम गठन गरेका थिए ।

पछि उनले सो पार्टीलाई माओवादीमा समाहित गराए । तर त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् । हाल उनी राजनीतिमा निष्क्रिय छन् ।

७. कौशलकुमार सिंह

kaulas

कौशल कुमारले आफ्नो नेतृत्वको लोकदल पार्टीलाई उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकीकरण गरेका थिए । तर उनी त्यहाँ लामो समयसम्म टिक्न सकेनन् । पछि उनले महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकीकरण गरे । अहिले उनी त्यो पार्टी छाडेर राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्तिमा लागेका छन् ।

यसबाहेक पनि कयौँ नेता विभिन्न पार्टीबाट उपेन्द्र यादवको पार्टीमा प्रवेश गरेका थिए । त्यसमध्येका एक हुन् भरतविमल यादव । नेपाल सद्भावना पार्टीको तर्फबाट जनआन्दोलन–२ को नेतृत्व गरेका भरतविमल यादव २०७० वैशाख ३० मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । तर उनी लामो समय त्यहाँ बसेनन् ।

२०७० को दोस्रो संविधान सभा चुनाव सम्पन्न भएपछि त्यहाँबाट निस्केका उनी कुनै पार्टीमा नगइ उनी हाल राजनीतिमा निष्क्रिय छन् । उनी अब दलगत राजनीति नगर्ने निष्कर्षमा पुगेका छन् ।

८. अशोक राई

सबैभन्दा बढी समय अशोक राईले उपेन्द्र यादवलाई साथ दिएका थिए । उनीहरू बिचको सहयात्रा नौ वर्ष चल्यो । २०७२ जेठ ३२ गते दुवै जना बिचमा एकता भएको थियो ।

अशोक राईका साथमा राजेन्द्र श्रेष्ठ, रिजवान अन्सारी, गोपाल ठाकुरलगायत थुप्रै नेता उपेन्द्र यादवसँग जोडिएका थिए । रिजवान अन्सारी र गोपाल ठाकुरहरूले केही समयपछि नै उपेन्द्र यादवको साथ छाडेका थिए । अशोक राई र राजेन्द्र श्रेष्ठलगायत केही नेताले उपेन्द्र यादवलाई निरन्तर साथ दिँदै आइरहेका थिए ।

तर महाधिवेशन, सरकार, गठबन्धनलगायतको विषयमा कुरा नमिलेपछि २०८१ वैशाख २४ गते उनीहरू उपेन्द्र यादवबाट अलग भए । अलग हुनेमा मधेस आन्दोलनदेखि नै साथ दिएका रेणु यादव, नवलकिशोर साह, प्रदीप यादव, विरेन्द्र महतो र इस्तियाक राईलगायतका नेताहरू छन् ।

उनीहरू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा सामेल भएका छन् । सोही पार्टीबाट नवलकिशोर साह वन र प्रदीप यादव स्वास्थ्य मन्त्री छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा रेशम चौधरी पनि थिए । तर पछि जेलबाटै उनले नागरिक उन्मुक्ति पार्टी गठन गरे । उनको पार्टीमा पनि अहिले विवाद चलिरहेको छ ।

लक्ष्मण थारु पनि उपेन्द्र यादव नेतृत्वको फोरममा लामो समय काम गरे । पछि थरुहट आन्दोलनमा लागेका उनी अहिले त्यो आन्दोलन छाडेर कृषि कर्ममा लागेका छन् । राजपा हुँदै जसपासम्म पुगेका नरसिंह चौधरी जसपा छाडेर अहिले जनमत पार्टीमा सक्रिय छन् । त्यस्तै, उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका गोविन्द चौधरी हाल राष्ट्रिय मुक्ति क्रान्तिमा आबद्ध छन् । 

उपेन्द्र यादवबाट अलग भएर महन्थ ठाकुर नेतृत्वको राजपामा आबद्ध रहेका बीपी यादव एउटा भ्रष्टाचारको मुद्दामा केही समय जेलमा थिए । हाल रिहा भएपछि उनी लोसपामा आबद्ध छन् । उनी लोसपाका साथै राष्ट्रिय एकता अभियानमा सक्रिय छन् ।

उपेन्द्र यादवको साथ छाडेर एमाले प्रवेश गरेकी अमृता अग्रहरी हाल सो पार्टीकी समानुपातिक सांसद हुन् । उपेन्द्र यादवको साथ छाडेका रामेश्वर राय यादव माओवादी केन्द्रमा सक्रिय छन् । रामजनम चौधरी कांग्रेसमा सक्रिय छन् । सीताराम अग्रवाल एमालेमा र अभिषेक प्रताप शाह कांग्रेसमा सक्रिय छन् । तुलानारायण साह उपेन्द्र यादवको साथ छाडेर आफ्नो संस्था नेमाफमा सक्रिय छन् ।

रिजवान अन्सारी पनि उपेन्द्र यादवबाट अलग भएर २०७३ पुसमा नेपाल सङ्घीय समाजवादी पार्टी गठन गरी त्यसमा सक्रिय छन् । हाल मधेस प्रदेशमा उनका एक जना सांसद पनि छन् । उपेन्द्र यादवको साथ छाडेर लोसपामा गएका उमाशंकर अरगरिया हाल एमालेमा सक्रिय छन् । जसपा छाडेर करिमा बेगम जनमत पार्टीमा गइसकेकी छन् । नन्दन दत्त कांग्रेसमा थिए हाल उनी राजनीतिमा निष्क्रिय छन् । सत्यनारायण मण्डल र लक्ष्मणलाल कर्ण लोसपामा सक्रिय छन् । जितेन्द्र देव कांग्रेस पार्टीमा सक्रिय छन् । उनी हालैमात्र राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा गरेका छन् । यी बाहेक पनि थुप्रै नेता छन् जो उपेन्द्र यादवको साथ छाडेर कहीँ न कही सक्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप