बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा

शुक्रबार, ०४ जेठ २०८१, १६ : ४०
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अधिवक्ता दीपेन्द्र झाले राजीनामा दिएका छन् ।

जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा एउटा समूह निस्केर जनता समाजवादी पार्टी गठन भइसकेको छ । सो पार्टी फुटाउनमा अधिवक्ता समेत रहेका झाको हात रहेको आरोप लागिरहेको बेला उनले राजीनामा दिएका हुन् । 

यही बिचमा जसपा नेपालको तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमा समेत विभाजनबारेमा आफूलाई जोडिएपछि बहसमा उपस्थित नभएको उनको भनाइ छ । 

उनले राजिनामापत्रमा भनेका छन्, ‘विपक्षी बनाइएका केही नेताहरूसँग मेरो सम्बन्ध रहेको र उनीहरूको कैयौँ मुद्दा मेरो ल फर्मबाट हेरिने भएकोले स्वार्थ बाझिने हिसाबले मैले कुनै पक्षमा पनि बहस गर्न उचित ठानिनँ ।’

आफू एक जना कानुन व्यवसायी भएको नाताले स्वार्थ बाझिने र अविश्वास भएको मुद्दाबाट आफूलाई अलग गर्नु आफ्नो पेसागत धर्म रहेको झाको भनाइ छ । 

सिद्धान्त र नैतिकताको हिसाबले पनि जसपा नेपालको प्रदेश निर्वाचन समिति घोषणा भइसकेको अवस्थामा आफैले गरेको निर्णय आफै उल्टाउन त्यति सहज नहुने भएकोले आजैको मितिदेखि आफूलाई जसपा नेपालको सम्पूर्ण जिम्मेवारीबाट अलग गरेको उनको भनाइ छ । 

महाधिवेशनको लागि चाहिने मुख्य दस्ताबेज निर्वाचन निर्देशिका बनाइसकेको हुँदा जसपा नेपालको केन्द्रीय निर्वाचन समितिका सदस्य देव नारायण यादवलाई केन्द्रीय निर्वाचनको संयोजकको जिम्मा दिई महाधिवेशनको काम अगाडि बढाउँदा उपयुक्त हुने समेत सुझाव उनले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् ।

उनले जसपा नेपालको विधान मस्यौदा समितिको सदस्य र हालै निर्वाचन समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारी दिएकोमा समेत अध्यक्ष यादवलाई धन्यवाद दिएका छन् । 

आफू जसपा नेपालबाट अलग्गिए पनि मधेसको सशक्तीकरण र विकासको कुरामा सहयोगको अपेक्षा गरेको खण्डमा सहयोग गर्न सधैँ तत्पर रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप