घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधारोन्मुख अर्थतन्त्रको सङ्केत देखाएको छ । चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय तथ्याङ्कलाई हेरेर शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाको गरेको राष्ट्र बैंकले बजारमा तरलता प्रवाह हुने गरी नीति लिएको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत घरजग्गा र अटोमोबाइल क्षेत्रमा जाने कर्जामा सहजीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले हायर पर्चेज (सवारी) कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्ने बताएको छ ।
यसअघिको व्यवस्थाले हायर पर्चेज कर्जादेखि घरजग्गा तथा रियल स्टेट तथा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतसम्म पुर्याइएको थियो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशतमा झारेको थियो । तर, दोस्रो त्रैमासिक समीक्षामा सवारी कर्जाको सवालमा प्रायः मौन बसेको केन्द्रीय बैंकले तेस्रो त्रैमासको समीक्षामार्फत सवारी कर्जाको जोखिम भार १०० प्रतिशतमा झारिदिएको छ ।
खासगरी केन्द्रीय बैंकको कडा नीतिका कारण लगानीका क्षेत्रहरू बाँधिदा बैंकहरूले कर्जा लगानी गर्न नसकेको र जसले गर्दा पछिल्लो समय बैंकहरूमा पर्याप्त तरलता (लगानी योग्य पुँजी) थुप्रिन पुगेको बताइएको छ ।
२०८० जेठ १ गतेसम्म बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको निक्षेप (डिपोजिट) हुँदैगर्दा कर्जा लगानी ५१ खर्ब १० अर्ब मात्र भएको छ । समीक्षा अवधिमा ८०.३५ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप) अनुपात कायम गरेका बैंक तथा वित्त कम्पनीहरू अझै थप १० प्रतिशत लगानी गर्न सक्ने क्षमतामा छन् । तर, केन्द्रीय बैंकको केही कडा नीति र बजारका कारण बैंकहरूले लगानी गर्न सकिरहेका छैनन् ।
बजार (अटोमोबाइल व्यवसायीहरू) ले पनि राष्ट्र बैंकको कडा नीतिका कारण बैंकबाट कर्जा लिने अवस्था नभएको र व्यवसाय चौपट भएको भन्दै विरोध जनाइरहेका थिए । यसैको प्रभाव केन्द्रीय बैंक आफ्नो नीतिमा केही लचक हुँदै सवारी कर्जाको जोखिम भार घटाएको हो ।
यस्तै, बैंकहरूकोे अधिक कर्जा लगानीको क्षेत्र घरजग्गा तथा रियल स्टेट क्षेत्रमा पनि केही लचक नीति लिइदिए कर्जा प्रवाह बढ्ने र यसले समग्र अर्थतन्त्रको गतिशीलतामा सहज हुने केन्द्रीय बैंकको बुझाइ छ ।
घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टू ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत बताएको छ ।
सेयर बजारको सवालमा राष्ट्र बैंक किन मौन ?
उसो त घरजग्गा र सवारी कर्जामा उदार देखिएको राष्ट्र बैंक यता सेयर बजारप्रति भने प्रायः मौन देखिएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले सेयर बजारको सन्दर्भमा केही पनि बोलेको छैन ।
मार्जिन प्रकृतिको कर्जामा मौद्रिक नीति किन मौन भन्ने हाम्रो प्रश्नमा राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले मौद्रिक नीतिले तरलता प्रवाहमा सहजीकरणको नीति लिएको बताए ।
‘सेयर बजारमा मात्र किन भन्दा पनि अहिलेको मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई गतिशीलता दिने गरी बजारमा तरलता प्रवाहका लागि सहजीकरण गर्ने नीति लिएको छ । बैंकहरूलाई लगानी सहजीकरण गरिएको छ । घरजग्गासँगै हायर पर्चेज लोनको जोखिमभार घटाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था परिमार्जन गरिएको छ । यसले तरलता लगानीका लागि सहजीकरण गर्दै अर्थतन्त्र चलायमान होस् भन्ने नै हो,’ डा.भट्टले रातोपाटीसँग भने ।
तर, सेयर बजारको सन्दर्भमा मौद्रिक नीतिको तेस्रो समीक्षाले केही नबोलेको सन्दर्भमा भने उनले केही बोल्न चाहेनन् । तथापि, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले नै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारिदिएको थियो ।
यस्तै, मार्जिन प्रकृतिको कर्जाको सीमालाई समेत परिमार्जन गर्दै केन्द्रीय बैंकले व्यक्तिगतका लागि १५ करोड रुपैयाँसम्म र संस्थागतका लागि २० करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरिदिएको थियो । यसले सेयर बजारमा लगानीको वातावरण बन्ने भन्दै लगानीकर्ताहरू समेत उत्साहित भएका थिए ।
तर मौद्रिक नीतिको त्रैमासिक समीक्षाले निरास बनाएको धितोपत्र बजारका लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियार बताउँछन् ।
‘हामीले गभर्नरसँग ठुलो अपेक्षा गरेका थियौँ, तर उहाँबाट उपेक्षामा पर्यो,’ उनले प्रश्न गरे, ‘घरजग्गा र सवारी कर्जा राष्ट्र बैंकको प्राथमिकतामा पर्दा सेयर बजार किन पर्न सकेन ?’
मुख्यगरी सेयर धितो कर्जाको जोखिमभार, १५ र २० करोडको क्यापको खारेजी र सहज कर्जा लगानीको माग आफूहरूको रहे पनि राष्ट्र बैंकले नसुनेको रौनियारको भनाइ छ । सेयर बजारमा ८–१० कर्जा प्रवाह गर्न सकिने स्पेश हुँदाहुँदै जम्मा ८६ अर्बमात्र प्रवाह भएको स्थितिमा राष्ट्र बैंकले सेयर बजारको प्रगतिलाई राष्ट्र बैंकले रोक्ने काम गरेको उनले आरोप लगाए ।
यसै अवसरमा रौनियारले मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने नीति लिन नसकेको पनि आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !