मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?

शुक्रबार, ०४ जेठ २०८१, १५ : २७
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार राति सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच खेल थियो । त्यो खेल हैदराबादका लागि निकै महत्त्वपूर्ण थियो ।

त्यो खेलमा गुजरातलाई हराउँदै हैदराबाद प्ले–अफ चरणमा पुग्ने तेस्रो टोली बन्न चाहन्थ्यो । तर, हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने भनिएको त्यो खेल वर्षाका कारण रद्द हुन पुग्यो ।

खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडे र त्यसको फाइदा हैदराबादलाई पुग्यो । हैदराबाद १५ अंकसहित प्ले–अफ चरणमा पुग्ने तेस्रो टोली बन्न पुग्यो । यद्यपि, लिग चरणमा हैदराबादले अझै एक खेल खेल्न बाँकी छ ।

त्यो खेलपछि हैदराबादकै जर्सी लगाएकी एक  युवतीले टोलीका प्रभावशाली खेलाडी केन विलियम्सनलाई अँगालो हालेको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । खासमा उनले हैदराबाद प्ले–अफमा पुगेपछि खुसी भएर उनले विलियम्सनलाई अँगालो हालेकी हुन् ।

यसअघि पनि हरेक खेलमा ती  युवतीले सुन्तला रङ्गको जर्सी लगाएर हैदराबादका खेलाडीको हौसला बढाइरहेको देखिन्थ्यो । हैदराबादले मुम्बई इन्डियन्सलाई हराएपछि त उनी खुसीले नाचिरहेको भिडियो पनि सोसल मिडियामा भाइरल भएको थियो ।

खासमा ती  युवती, काव्या मारन हुन् । उनी सनराइजर्स हैदराबादकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) र मालिक हुन् । उनी हैदराबादकी मालिकसँगै सच्चा क्रिकेटप्रेमी पनि हुन् । काव्याको जन्म सन् १९९२ को अगस्त ६ तारिखमा चेन्नईको एक धनी व्यवसायीको परिवारमा भएको थियो ।

Kavya Maran 5

काव्याको पिता कलानिधि मारन ‘सन ग्रुप’ का अध्यक्ष र संस्थापक हुन् । उनले सन् १९९२ मा ‘सन ग्रुप’ को स्थापना गरेका थिए । अहिले ‘सन ग्रुप’ अन्तर्गत भारतभर थुप्रै टेलिभिजन र एफएम रेडियो सञ्चालित छन् ।

काव्याले चेन्नईबाटै विद्यालय शिक्षा पुरा गरेकी थिइन् । त्यसपछि उनले चेन्नईकै स्टिल स्टेला मारिस कलेजबाट कमर्समा स्नातकको डिग्री हासिल गरेकी थिइन् । स्नातक गरेपछि उनी थप अध्ययन बेलायत पुगेकी थिइन् । त्यहाँबाट उनले स्कुल अफ बिजनेसमा एमबीएको डिग्री हासिल गरिन् ।

आफ्नो अध्ययन पुरा गरेर उनी बेलायतबाट फेरि भारत फर्किइन् र आफ्नो पिताको व्यवसायमा जोडिन पुगिन् । काब्या मारनलाई सन् २०१९ मा ‘सन टिभी नेटवर्क’ को निर्देशक समूहमा आबद्ध गरिएको थियो । जारी सिजनको आईपीएलको अक्सनमा पनि उनले खेलाडी खरिदमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

अहिले हैदराबाद प्ले–अफ चरणमा पुगेपछि उनको खेलाडी चयन गर्ने क्षमताको विषयमा पनि गतिलै चर्चा भइरहेको छ । काव्या मारनको परिवार व्यवसायको अतिरिक्त राजनीतिसँग पनि जोडिएको छ । काव्याका हजुरबुवा मरासोली मारन केन्द्रीय सरकारको पूर्ववाणिज्य मन्त्री थिए । उनको काका दयानिधि मारन पनि केन्द्रीय सरकारको मन्त्री थिए । एक अनुमानका अनुसार, काव्याको सम्पत्ति करिब चार सय नौ करोड भारतीय रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप