कांग्रेस सांसदले किन आफ्नै सांसदको सारी तानिन् ?
काठमाडौँ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष सांसदहरुका बीचमा धकेलाधकेलको अवस्था सिर्जना भयो । सो क्रममा कांग्रेसकी एकजना महिला सांसदले अर्की कांग्रेस सांसदको सारी तानेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरुको फोटोमाथि विभिन्न प्रश्न गरिरहेका छन्, ‘उहाँहरु माननीय हो कि ताननीय ?’ सो फोटोमा सारीको सप्को तानिरहेको अवस्थामा देखिएकी सांसद हुन्, रमा कोइराला । बिहीबारको बैठकमा असहज अवस्था आएसँगै सभामुख देवराज घिमिरेले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे । तर संसदभित्रको तनाव त्यसपछि मथ्थर भइसकेको थिएन ।
बैठक स्थगित भइसकेपछि पनि सांसद कांग्रेस सांसद कल्पना चौधरी आक्रोशित मुद्रामा रहेकी थिइन् । उनी कुनै सांसदमाथि जाइलाग्न खोजिरहेकी थिइन् । सोही क्रममा सांसद चौधरीलाई अर्का सांसद् कोइरालाले रोक्न खोजेकी थिइन् ।
यसबारेमा रातोपाटीले जिज्ञासा राख्दा कोइरालाले धकेलाधकेलका क्रममा सांसद चौधरीलाई सामान्य चोट लागेका कारण आफू आक्रोशित भएको उल्लेख गरिन् । उनको हातमा रगत आउँनेगरी चिथोरिएको कोइरालाले दाबी गरिन्।
सत्तापक्षका सांसदले गाली गरेपछि सांसद चौधरी आक्रोशित भएर अघि बढ्दा आफूले रोक्न खोजेको उनको भनाइ थियो ।
सत्ता पक्षका सांसदले कांग्रेस सांसद संगीता मण्डलको हात मर्काइदिएको पनि उनको दाबी छ ।
उनले भनिन्, ‘संसद बैठकभित्रको सबै दृश्य बाहिर देखिएन, केही मात्र देखिएको हो । त्यहाँभित्र अर्कै अवस्था थियो, चोट लागिसकेपछि मान्छे आक्रोशित हुन्छ, तलबाट उल्टै कराइदिएपछि झन् आक्रोशित हुने भयो । हामीले आक्रोश बढाउने भन्दा पनि साम्य पार्नुपर्छ भन्ने हो ।’
प्रतिनिधि सभा बैठकमा सभामुखले संसद् बैठक सुरु गर्ने वित्तिकै उनै सारी तानिएकी सांसद चौधरी सबैभन्दा पहिला रोष्टम घेर्दैै नारा लगाउन पुगेकी थिइन् । भाइरल भएको फोटोमा पनि उनी आक्रोशित देखिएकी छिन् ।
बिहिबारको बैठकमा सांसद चौधरी मात्र नभई कांग्रेस उपसभापति समेत रहेका सांसद धनराज गुरुङपनि निकै आक्रोशित रुपमा एमाले अध्यक्ष केपी ओलीमाथि खनिएका थिए ।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन बनाउनुपर्ने माग गर्दै आएको कांग्रेसले लामिछानेलाई बैठकमा बोल्न समेत अवरोध गर्दैै आइरहेको छ ।