बिच बजारमा पनि ध्यान सम्भव छ ?
आज हाम्रो जीवनको अपरिहार्य वस्तु बनेको छ, मोबाइल । मोबाइलबिना हामी एकछिन पनि एक्लै बस्न सक्दैनौँ । हामी भिडभित्र हुन्छौँ; भीडमा हामी एक्लो हुन्छौँ, तर पनि मोबाइल हाम्रो साथी हुन्छ ।
यसबाट अछुतो सायद हामी कोही पनि छैनौँ होला ! साँचो बोल्नुपर्दा, म पनि पक्कै यसबाट अछुतो छैन । यस वैज्ञानिक युगमा विज्ञानको उपज मोबाइललाई प्रयोग गर्नु नराम्रो होइन, यद्यपि हरबखत यसैसँग टाँस्सिएर बस्नु राम्रो हुँदै होइन ।
मेरो मोबाइलमा म्यासेजको घन्टी बज्छ । ध्यान सत्संगको म्यासेज रहेछ— ‘बिच बजारमा ध्यान ! हो, झन् गहिरो । शनिबार हुने कार्यक्रम रहेछ ।
बिच बजारमा ध्यान ! सुन्दै अनौठो लाग्छ ।
‘किनकि, भीडभाड भएको ठाउँमा या बिच बजारमा ध्यान केन्द्रित गर्न गाह्रो वा लगभग असम्भव हुन्छ । वरिपरिको भिडको आवाज, त्यसबाट निस्कने वायु प्रदूषण, आवाज प्रदूषण आदिले हाम्रो मनस्थितिलाई एकाग्र गर्न सक्दैन । परिस्थिति मनस्थिति प्रतिकूल हुन पुग्छ । अनि ध्यान लाग्न सक्दैन,’ म त्यो मेसेज पढेर मनमनै गुन्छु, तर भित्रभित्रै रमाइलो पनि लाग्छ । केही नयाँ कुरा सिक्ने सुअवसर त हो यो !
शनिबार हुने त्यस कार्यक्रममा जानुपर्छ भन्ने लाग्यो र दिनको ठिक ३ बजे ओशो भक्ति ध्यान केन्द्र कमलपोखरी पुगेँ । बाटोमा केही साथीसँग भेट भयो । ध्यान केन्द्रको बुद्ध हल खचाखच भरिएको थियो । संगीतको मिठो धुन बजिरहेको थियो । धुनसँगै म पनि धुनी लगाउन पुग्छु । पूरा बुद्ध हलमा म एक्लै पो छु कि जस्तो लाग्छ ।
आँखाहरू आफसे आफ बन्द भए । निष्पट अन्धकार ! अन्धकारभित्र म ! अन्धकारलाई नियाल्दै–नियाल्दै संगीतको धुनमा म विलीन हुन पुगेँ । कति आनन्दित पल ! संगीत अनि निराकारभित्रको ‘म’ आफैँमा डुब्दै डुब्दै गएँ ।
ठम्याउन सक्दिनँ— अस्तित्व मभित्र छ कि म अस्तित्वभित्र छु ? बाँच्नु जीवन हो कि मर्नु जीवन हो ? मनभित्र धेरै प्रश्न खेल्छन्– जीवन के हो त ?
ओशोको अद्भुत वचन कानमा गुञ्जन थाल्छन्– ‘जीवन मृत्यु हो । तिमी मर ! किनकि मृत्युभन्दा धेरै मिठो अरु कुनै चिज यो जगतमा छैन । जसरी मरेर गोरखलाई दर्शन प्राप्त भयो, यस्तै तिमी पनि मर ! यसरी नै तिमी पनि दर्शन प्राप्त गर ।
मृत्यु, जुन भोगेकै छैन; जुन देखेकै छैन— के त्यही ‘मृत्यु’ नै जीवन हो त ? के त्यही ‘मृत्यु’ प्राप्तिका लागि हामी आज बाँचेका छौँ त ? ‘मृत्यु’ नै जीवन हो भने यो ‘मृत्यु’ कस्तो हो ? ‘मृत्यु’ र ‘मृत्यु’ पनि फरक हुन्छ र मसँग कुनै उत्तर हुँदैन । म हराउँछु । म बिलाउँछु । म शून्य हुन पुग्छु । उत्तरहरू मभित्र छैनन् । म अनुत्तरित हुन्छु ।
अनायासै म झल्याँस हुन्छु । संगीतको धुन रोकिसकेको हुन्छ । अगाडि स्वामी मैत्रेय बसिसकेका थिए । आजको विषय सम्झन्छु– ‘बिच बजारमा ध्यान ! हो, झन् गहिरो । मनमा एक किसिमको कुतूहल हुन्छ सुन्ने !
जति पनि आवाजहरू हामीले सुन्छौँ; चाहे त्यो मानिसको होस्, गाडीको होस् वा अन्यको होस्; तिनलाई पृष्ठभूमिमा मात्र राख्नुपर्छ । अग्रभूमिमा श्वासको संवेदनामा सचेत रहनुपर्छ । आवाजबाट छुटकारा पाउनुपर्दैन, तिनीहरूसँग वरपरको वातावरणलाई स्वीकार गर्नुपर्छ ।
‘हामी सधैँ एकान्तमा मात्र ध्यान गर्छौं । कि घरको कोठा हामीलाई ध्यानका लागि उपयुक्त लाग्छ, कि आश्रम । भिडभाडमा हामी ध्यानका लागि सोच्न पनि सक्दैनौँ । कोलाहलले भिड र वातावरणमा हामीलाई खलल पु¥याउँछ भनेर हामी सोच्छौँ । भिडमा पनि ध्यान गर्न सकिन्छ र ? बिच बजारमा कसरी ध्यान हुन्छ ? गाडीको आवाज, मानिसको आवत–जावत, आदिले हाम्रो ध्यान भड्कँदैन र ? हामी सोच्छौँ । यसरी सोच्नु पनि स्वाभाविक हो । सधैँ अनुकूल वातावरणभित्र एकान्तमा वा समूहमा ध्यान गरिरहेका हामीले यो सोच्नु कुनै अन्यथा होइन,’ स्वामी मैत्रेय भन्दै जान्छन्—
सधैँ वातावरण हाम्रो अनुकूल हुन्छ भन्न सकिँदैन । कुनै बेला वातावरण प्रतिकूल पनि हुन सक्छ । त्यसबेला के ध्यान नगर्ने त ? एकपल्ट सोचौँ त ? यसैले आजको विषय हो, बिच बजारमा पनि ध्यान ।
हामीले भिडभाड, कोलाहल, बस्नका लागि ठाउँ नभएको ठाउँमा पनि ध्यान गर्न सक्नुपर्छ । किनकि ध्यान नै हाम्रो जीवन हो । ध्यान नै हाम्रो मृत्यु पनि हो । यसैले जहाँ पनि हामीले ध्यान गर्न सक्नुपर्छ । बिच बजारमा पनि ध्यान गर्न सक्नुपर्छ । हामी यसका लागि एक प्रकारको अभ्यास गर्न सक्छौँ; जुन वास्तवमा नबसी र पूर्ण रूपमा शान्त नभएको ठाउँमा पनि गर्न सक्छौँ । हामी हाम्रो वरपरका बारेमा सचेत भयौँ भने हामी आँखा खोलेर पनि ध्यान गर्न सक्छौँ ।
प्रथमतः जति पनि आवाजहरू हामीले सुन्छौँ; चाहे त्यो मानिसको होस्, गाडीको होस् वा अन्यको होस्; तिनलाई पृष्ठभूमिमा मात्र राख्नुपर्छ । अग्रभूमिमा श्वासको संवेदनामा सचेत रहनुपर्छ । आवाजबाट छुटकारा पाउन आवश्यक पर्दैन, तिनीहरूसँग वरपरको वातावरणलाई स्वीकार गर्नुपर्छ । यो मानिसहरूको भीडमा हेर्दै र समूहमा आफ्नो साथी देख्नुजस्तै हो । चारैतिर के भइरहेछ ? त्यसलाई सजग भएर हेरौँ; अनि जे सुनिन्छ, त्यसलाई साक्षी भावले सुनौँ । संवेदनाप्रति होस् त पूरा रहोस् तर प्रतिक्रिया नहोस् । प्रतिक्रिया सुन्ने सजगताद्वारा सजिलै मौन निष्पन्न हुन जान्छ । श्वास आउनु र जानुप्रति साक्षी बनौँ । यो कुनै श्रमपूर्ण चेष्टा नहोस् । अपितु ! शान्त र शिथिल विश्रामपूर्व पूर्ण बोध मात्र होस् ।
यसले हामीलाई कोलाहल, विचलित वातावरणबाट अलग गराउँछ । जब हामी हाम्रो वरिपरि सबै गतिविधिबाट विच्छेद हुन्छौँ; हामी लगभग सबै बाह्य आवाज र वातावरणका लागि अनभिज्ञ हुन्छौँ; हाम्रो दिमागका बिन्दु बाहिरी र भित्री गतिविधिको साक्षी बन्न पुग्छ, अनि हामी स्वीकार भावमा जान्छौँ । ध्यान केन्द्रित गर्न मद्दत गर्ने यो उत्तम तरिका हो ।
अनि त थाहै नपाईकनै सहज र स्वाभाविक रूपमा एक अत्यन्त प्रसादपूर्ण स्थितिमा हाम्रो प्रवेश हुनेछ । कहिले हाम्रो प्रवेश भयो ? त्यो पनि थाहा हुनेछैन हामीलाई । अचानक नै अनुभव हुनेछ कि हामी त्यहाँ छौँ जहाँ कि यसभन्दा पहिले कहिल्यै थिएनौँ ।
अतः सचेत, सर्वस्वीकार, साक्षी भाव र श्वासमा ध्यान केन्द्रित गर्नु बिच बजारमा ध्यानका कडीहरू हुन् ।’
स्वामी मैत्रेयका प्रत्येक वाक्य मिठो ! कति कुरा दिमागले बुझ्यो, कति बुझेन— मलाई थाहा छैन तर जति बुझेँ ज्यादै मननयोग्य र सारपूर्ण थियो ।
प्रवचन सकिँदा बेलुकाको ६ बजिसकेको हुन्छ । मलाई घर जान हतार हुन्छ, प्रसाद लिन्छु । बुद्ध हलबाट म बाहिर निस्कन्छु ।
बाटोभरि सोच्छु– चारैतिर एउटा हल्लैहल्लाले भरिएको दुनियाँ छ । दुनियाँभित्र दुनियाँदारी छ, हल्लाखल्लाको उपद्रवग्रस्त वातावरण छ । यो वातावरणभित्र मैले अवश्य पनि मौन र शान्तिको बाटो भुल्नु हुँदैन, तर आफूभित्र मौन र शान्ति खोज्ने बाटो ध्यान नै रहेछ, यस्ता धेरै कुरा सोच्दै म घर पुग्छु ।
स्विच अफ गरेको मोबाइल अन गर्छु । मोबाइल अन गर्नेबित्तिकै म्यासेजका घन्टी बज्न थाल्छन् । मोबाइललाई माया गर्छु । समय–समयमा म्यासेज प्राप्त भएको घन्टी बजाएर मलाई थाहा दिने मेरो मोबाइललाई पनि म धन्यवाद नदिइरहन सक्दिनँ, किनकि उसले घन्टी नबजाइदिएको भए मैले म्यासेज पढ्ने थिइनँ, मेसेज नपढेको भए पक्कै पनि बिच बजारमा ध्यान कसरी गर्ने त ? भनेर थाहा पाउने थिइनँ । म अनभिज्ञ हुने थिएँ । यसैले हामीले विज्ञानको सही तरिकाले सदुपयोग गर्दै जस्तोसुकै वातावरणमा पनि ध्यान गर्न छाड्नु हुँदैन ।