जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
काठमाडौंँ । देशभरका चलचित्र घर नियाल्ने हो भने यतिबेला ४ नेपाली फिल्म प्रदर्शनरत छन् । ती फिल्म हुन् ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘मनसरा’ र ‘खजुरे ब्रो’ । यीमध्ये ३ फिल्म ‘बोक्सीको घर’, ‘मनसरा’ र ‘खजुरे ब्रो’ वैशाखमा रिलिज भएका हुन् भने ‘महाजात्रा’ गत चैत ९ गते प्रदर्शनमा आएको फिल्म हो ।
‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१ औँ दिनको यात्रासहित अगाडि बढिरहेको छ । ‘बोक्सीको घर’, ‘मनसरा’ र ‘खजुरे ब्रो’ पनि हलमा छन् । यीमध्ये ‘बोक्सीको घर’ प्रदर्शनको तेस्रो सातामा छ भने ‘मनसरा’ दोस्रो सातामा । ‘खजुरे ब्रो’ यसै साताबाट प्रदर्शनमा आएको हो ।
जेठको पहिलो सातासम्म पनि वैशाख र चैतका फिल्मले हलमा निरन्तरता पाइरहँदा जेठको दोस्रो सातामा नयाँ नेपाली फिल्म रिलिज हुने भएको छ । अहिलेसम्मको रिलिज क्यालेन्डर अनुसार जेठमा ५ नयाँ फिल्म रिलिज हुने देखिएको छ । ती हुन् ‘फर्की फर्की’, ‘पूजार सार्की’, ‘लन्डन टु पेरिस’, ‘गाउँ आएको बाटो’ र ‘बाटोः रोड टु डेथ’ । यी ५ मध्य ‘फर्की फर्की’ र ‘पूजार सार्की’ जेठ १० मा, ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ जेठ २५ मा एक अर्काेसँग भिड्दैछन् भने ‘बाटोः रोड टु डेथ’ले जेठ ३२ मा एकल प्रदर्शनको अवसर पाएको छ ।
स्टारको भिडन्त
नेपाली निर्माता आफ्नो फिल्म रिलिज गर्दा विदेशीसँग भाग्ने र स्वदेशीसँग भिडाउने गरेका छन् । कहिले राम्रो मितिका कारण भिडन्त हुन्छ भने कहिले इगो साँध्न एक अर्काेसँग फिल्म जुधाउने पनि गरिन्छ ।
इगो निर्माता–निर्माताबिच, निर्देशक–निर्देशकबिच वा निर्माता र वितरकबिच पनि हुने गर्छ । कतिपय अवस्थामा निर्माता र वितरक, निर्देशक र कलाकारको इगोमा पनि फिल्म जुध्छ ।
जेठको दोस्रो साता रिलिज हुन लागेको फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ एकसाथ भिड्नु पनि इगो र स्टारको लडाइँ भएको बताइन्छ । ‘पूजार सार्की’का निर्देशक दिनेश राउत र ‘फर्की फर्की’ निर्माता रोहित अधिकारीको दुश्मनीका कारण यी दुई फिल्म भिड्न लागेका हुन् । फिल्म ‘छब्बीस करोड’ सँगै गर्ने तयारी गरेका राउत र अधिकारीबिच उक्त प्रोजेक्टको सिलसिलामा मनमुटाव भएपछि इगो पैदा भएको चर्चा छ ।
पछिल्लो समय दर्शकले रुचाएका दुई स्टार हुन् अनमोल केसी र प्रदीप खड्का । प्रदीप अभिनित ‘पूजार सार्की’ र अनमोल अभिनित ‘फर्की फर्की’ एउटै मितिमा लाग्दैछ । अनमोल र प्रदीपलाई एक अर्काको प्रतिस्पर्धी अभिनेताको रुपमा पनि चर्चा गरिन्छ । त्यसैले पनि दुई अभिनेताको फिल्म एकसाथ आउनुलाई स्टारको भिडन्तसमेत भन्दा फरक पर्दैन ।
‘पुजार सार्की’मा प्रदीपको अलावा आर्यन सिग्देल, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल लगायतको अभिनय छ । ‘फर्की फर्की’ भने अनमोलको अलावा जसिता गुरुङको अभिनय छ । ‘फर्की फर्की’ र ‘पूजार सार्की’ दर्शकको प्रतिक्षा सूचीमा रहेका फिल्म हुन् ।
त्यसो त २५ जेठमा भिड्न लागेको फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’मा पनि स्टार कलाकार नभएको होइन । ‘लन्डन टु पेरिस’मा स्टार कलाकारको रूपमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् भने ‘गाउँ आएको बाटो’मा दयाहाङ राई छन् । ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ एकसाथ आउनुलाई संयोग मानिएको छ ।
‘लन्डन टु पेरिस’मा साम्राज्ञीको अलावा निश्चल खड्क, कवीर खड्का, गरिमा शर्मा लगायतको अभिनय छ । ‘गाउँ आएको बाटो’मा दयाहाङका अलवा पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राईको अभिनय देख्न सकिन्छ ।
के–कस्ता छन् कथा
अचेल नेपाली फिल्ममा भेराइटी कथा देख्न सकिन्छ । केही निर्माता निर्देशक गाउँबाट टिपेर अर्गानिक कथा पस्किरहेका छन् भने केही अन्तर्राष्ट्रिय ट्रेन्ड फलो गरिरहेका छन् ।
जेठको दोस्रो साता अर्थात् १० गते रिलिज हुने फिल्म ‘फर्की फर्की’ टाइम लुप अर्थात् अन्तर्राष्ट्रिय ट्रेन्ड फलो गरिएको फिल्म हो । रोहित अधिकारीको निर्माण रहेको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
‘पूजार सार्की’ले जातीय छुवाछुतलाई मुख्य विषयका रुपमा उठाएको छ, जो गाउँको अर्गानिक कथा हो । दिनेश राउतको निर्देशन रहेको फिल्म सुवास भुसालले निर्माण गरेका हुन् ।
त्यस्तै जेठ २५ मा प्रदर्शनमा आउने ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ पनि भिन्न कथामा बनेका फिल्म हुन् । घनश्याम लामिछाने निर्देशित तथा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता रहेको ‘लन्डन टु पेरिस’ले प्रेमकथालाई पस्किएको छ । फिल्म ‘गाउँ आएको बाटो’ भने अर्गानिक कथामा बनेको हो । गाउँमा गाडी आएपछि बाबु र छोराको सम्बन्धमा उत्पन्न हुने परिस्थितिलाई फिल्मले कथा बनाएको छ ।
नविन सुब्बा निर्देशित फिल्मलाई अमोद राई र निर्देशक सुब्बाले नै निर्माण गरेका हुन् ।
यस्तै ३२ जेठमा प्रदर्शनमा आउने फिल्म ‘बाटो : रोड टु डेथ’ थ्रिलर कथामा निर्माण भएको हो । काठमाडौँ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा हुन् । फिल्मलाई चन्दा झाले निर्देशन गरेका हुन् ।
कति छन् लगानी ?
अचेल निर्माताहरू मन फुकाएर फिल्ममा लगानी गर्न थालेका छन् । त्यसैले पनि स्तरीय फिल्म निर्माण हुने क्रम बढ्दो छ । २०८० मा प्रदर्शन भएका ५३ फिल्मका लगानी हेर्दा पनि नेपालमा एक करोडदेखि ४ करोडसम्म फिल्म निर्माण भएको देखिन्छ ।
यो जेठ महिनामा रिलिजमा आउन लागेका ५ फिल्ममा पनि राम्रो लगानी भएको देखिन्छ । निर्माण युनिटले प्रचारमा बताए अनुसार यी ५ फिल्ममा ११ करोडभन्दा बढी लगानी भएको छ ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म ‘पूजार सार्की’को रिलिजसम्म तीन करोड लगानी भएको छ । निर्माता सुवास भुसाल फिल्म रिलिजसम्म बजेट ३ करोड पुग्ने बताउँछन् । रोहित अधिकारी फिल्मस्ले ओएसआर डिजिटलसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘फर्की फर्की’को लागत पनि तीन करोड भनेर प्रचार गरिएको छ ।
त्यस्तै काठमाडौँ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’ २ करोडमा बनेको निर्माता चन्दन झा बताउँछन् । एबी इन्टरनेशनलको प्रस्तुति र गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा बनेको फिल्म हो ‘लण्डन टु पेरिस’ । यो फिल्मको निर्माण लागत पनि दुई करोडभन्दा माथि रहेको प्रचार गरिएको छ ।
यस्तै मेँछयायम पिक्चर्स र बासुरी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘गाउँ आएको बाटो’ फिल्मको बजेट पनि एक करोड माथि भएको प्रचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय