बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन

सुर्खेत । कर्णालीमा यतिबेला बजेट निर्माणको प्रक्रिया धमाधम सुरु भएको छ । राजनीतिक फेरबदल र सरकार निर्माणमा ढिलाइ हुँदा बजेट निर्माणको प्रक्रिया निकै ढिलो गरी मात्रै सुरु भएको हो ।
तर, यही बेला कर्णालीको एउटा मन्त्रालय सचिव र एउटा मन्त्रालय मन्त्री विहीन अवस्थामा छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिव विहीन छ भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मन्त्री विहीन छ ।
वैशाख १८ गते कृषि मन्त्रीमा नियुक्त गरिएका एमाले सांसद विनोदकुमार शाहले शपथ बहिष्कार गरेपछि उक्त मन्त्रालय अहिलेसम्म मन्त्री विहीन अवस्थामा छ । बुधबार मात्रै मुख्यमन्त्री यामलाल कँडेलले शाहको नाम लिस्टबाट हटाई उक्त मन्त्रालय आफैसँग राखेका छन् ।
उक्त मन्त्रालयमा बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला नै नयाँ मन्त्री नियुक्त गर्ने एमाले स्रोतको भनाइ छ । यद्यपि एमालेबाट को व्यक्ति मन्त्री भएर जाने भन्ने विषयमा छलफल हुन भने बाँकी छ । बजेट अधिवेशन जेठ ११ गतेका लागि बोलाइएको छ । त्यसभन्दा अगाडि नै नयाँ मन्त्री नियुक्त भइसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईँले रातोपाटीलाई जानकारी दिए ।
यता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भने दुई महिनादेखि सचिव विहीन अवस्थामा छ । सङ्घबाट खटाएर ०८० वैशाखमा हाजिर भएका डा. विनोद प्रसाद देवकोटा दुई महिनाअघि मात्रै अवकाश भएर गएका थिए । त्यसयता उक्त मन्त्रालय सचिव विहीन अवस्थामा छ । फागुन २२ गते कांग्रेसका कृष्णकुमार बिसीले मन्त्रीबाट राजीनामा दिएपछि वैशाख १८ गतेसम्म यो मन्त्रालय मन्त्री विहीन समेत बन्यो ।
बिसीको राजीनामा लगत्तै सचिव देवकोटाले पनि अवकाश लिएर गए । वैशाख १८ गते मन्त्रीको रूपमा माओवादीका दुर्गबहादुर रावत आएपनि अहिलेसम्म नयाँ सचिव भने हाजिर भएका छैनन् ।
देवकोटा गएपछि उक्त मन्त्रालयको कायम मुकायम सचिवको जिम्मेवारी राजेन्द्रकुमार बासुकलाले सम्हालिरहेका छन् ।
मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठका अनुसार नयाँ सचिव आउने भनिए पनि अहिलेसम्म आएका छैनन् । यद्यपि केन्द्रबाट को आउँछ भन्ने अहिलेसम्म थाह नभएको उनले बताए ।
कामुको जिम्मेवारी दिएका बासुकला यसअघि यही मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा परीक्षण केन्द्रको निर्देशक थिए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले नयाँ सचिव आउने भनिए पनि अहिलेसम्म सम्पर्कमा नआएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति