सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, ०३ जेठ २०८१, २१ : ५८
बिहीबार, ०३ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको ३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. संसद्मा धकेलाधकेल

प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको हो । कांग्रेसले अवरोध गर्दै तनावको अवस्था सिर्जना भएपछि सभामुखले शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

२. कांग्रेस–एमाले आरोप प्रत्यारोप

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा बैठकमा सभामुख देवराज घिमिरेका कारण मुठभेडको अवस्था आएको बताएका छन् । बिहीबार साँझ संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुख घिमिरेले सदनमा जबरजस्ती कार्यसूचीमा प्रवेश गरेपछि अप्रिय स्थिति सिर्जना भएको बताएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय अराजकता मच्चाएको बताएका छन् । बिहीबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा भएको तनावका बारेमा बोल्दै उनले कांग्रेसले अलोकतान्त्रिक र अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका हुन् ।

यो पनि

 

३. राष्ट्रियसभा बैठक पनि स्थगित

नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए ।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका थिए । तर पनि कांग्रेस सांसदहरू आसनमा नबसेपछि अध्यक्ष दाहालले जेठ ४ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । सहकारी ठगीमा छानबिन समिति गठनको विषय पेचिलो बनेपछि कांग्रेसले शुक्रबार बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो । 

४. सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज गरिदिएको छ । न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र  सुनिल कुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो ।

५. मन्त्रिपरिषद्को निर्णय

सरकारले दुई जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको कायममुकायम सचिव रहेका लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा समूहिकरण अन्तर्गत विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको हो ।

 

६. एकीकृत समाजवादीको बैठक

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय कमिटीको आठौँ बैठकले १८ बुँदे प्रस्तावहरू पारित गरेको छ । प्रस्तावमा सहकारी ठगी प्रकरणदेखि रुस युक्रेन युद्धमा सहभागी भएका नेपालीहरूको विषयहरू उठान गरिएको छ ।

 

७. प्रदेश समाचार

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले तालाचाबी लिएर हिँडेपछि नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त भएको एक सातासम्म मुख्यमन्त्री निवासमा सर्न पाएका छैनन् ।

बागमती प्रदेश सभाको संसदीय समितिका सभापति चयन प्रक्रिया अघि बढाइएको छ । प्रदेश सभा अन्तर्गतका ५ वटा समितिमा सभापति चयनका लागि दलहरू बिच सहमति हुन नसकेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल थालेका छन् ।

कर्णालीमा नेकपा एमालेभित्र दुई समूहबिच उत्पन्न विवादले अहिलेसम्म निकास पाउन सकेको छैन ।  मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता यामलाल कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त एमाले सांसद विनोदकुमार शाहलाई हटाइ उक्त मन्त्रालय आफैसँग राखेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

८. महाधिवेशनको तयारीमा लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि महाधिवेशनको तयारीमा जुटेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले जेठ २८ गतेका लागि महाधिवेशनको मिति तय गरिसकेको छ । त्यसको अन्तिम तयारीमा जुटिरहेको बेला लोसपा नेपाल पनि महाधिवेशनको तयारीमा जुटेको छ ।

९. लागु औषध तस्कर पक्राउ

लागु औषध नियन्त्रण ब्युरोले इथियोपियाबाट आएका दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद गरेको छ । कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट कोकिन बरामद गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले रातोपाटीलाई बताए ।

१०. यो पनि

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टी–स्टेट्को जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

डा गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् ।

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप