बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

पक्राउ परेको २४ घण्टा नबित्दै जनप्रतिनिधिको दबाबमा छुटे वन्यजन्तु सिकारी

बिहीबार, ०३ जेठ २०८१, २१ : २३
बिहीबार, ०३ जेठ २०८१

बारा । बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट बुधबार मध्यरातमा नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् ।  

कोहल्वी नगरपालिका वडा नं २, झुरझुरेबाट वन कर्मचारी, सशस्त्र प्रहरी बल र झुरझुरे प्रहरी चौकीका प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका ९ जना सिकारीलाई डिभिजन वन कार्यालयले बिहीबार छोडेको हो ।

वन कार्यालयले कोल्हवी नगरपालिका वडा नं २ बस्ने दिनेश ठकुरी, ध्रुव कुशुवार माझी, विशाल शाही ठकुरी, कृष्ण बहादुर कुशुवार माझी, चन्द्र लामा, केशव कुशुवार माझी, निमेश कुशुवार माझी, सिताराम कुशुवार माझी, रामविनोद दासलाई नियन्त्रणमा लिएको थियो ।

वन कार्यालयले उनीहरूको साथबाट ५ वटा मोटरसाइकल, २ वटा साइकल, वन्यजन्तु सिकार गर्ने फलामको भाला, करिब ४० वटा लौरी, वन्यजन्तुलाई नियन्त्रणमा लिने १५ थान जालोसमेत बरामद गरेको थियो । नियन्त्रणमा लिएका सबै पेसेवर सिकारी भएको वन कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट बरामद भएको फलामको भालामा जङ्गली जनावरको भुत्ला र रगतसमेत भेटिएको छ । तर सो रगत र भुत्ला कुन वन्यजन्तु हो भन्ने पत्ता लगाउन काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने डिभिजन वन प्रमुख विनोद सिंहले जनाएका छन् ।  

कोल्हवी सवडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिम मियाँले मध्यरातमा वन क्षेत्रमा ५ वटा मोटरसाइकल, ४ वटा साइकल, वन्यजन्तु सिकार गर्ने जालो, फलामको भाला र लौरासहित ९ जना सिकारीलाई नियन्त्रणमा लिने क्रममा पूर्व नगरप्रमुख भरत भण्डारी र केही स्थानीय महिला आएर घेराबन्दी गरेको बताए ।

‘हामीले सिकारीलाई नियन्त्रणमा लिने क्रममा पूर्वनगरप्रमुख भरत भण्डारीले ४०÷५० जना महिला लिएर आएर वन्यजन्तु मारेको दसी प्रमाण छैन, किन समात्नुभयो भन्दै हामीलाई दुर्व्यवहार पनि गर्नुभयो,’ मियाँले भने, ‘हामीले दसी प्रमाण नभए पनि जाल, लाठी, भाला, लौरी बोकेर आउनुले वन्यजन्तु मार्न आएको हो भन्दा उहाँले मलाई त्यहीँ थुन्छु भन्नुभयो । एकछिन वादविवाद र झडपको अवस्था समेत सिर्जना भयो ।’

सुरक्षाकर्मीको सहयोगमा वन कर्मचारीले सिकारीलाई नियन्त्रणमा लिएपछि भण्डारीले राति नै डिभिजन वन अधिकृत विनोद सिंहलाई फोन गरेर नियन्त्रणमा लिएका ९ जनालाई नै तत्काल छोड्न चेतावनी दिएको वन कार्यालय स्रोतले जनाएको छ ।

डिभिजन वन प्रमुख विनोद सिंहले वन्यजन्तु सिकारीहरूलाई सामानसहित रङ्गेहात नियन्त्रणमा लिएकाले सबैलाई अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुन बमोजिम कारबाही गर्ने बताए । ‘सिकारीहरूबाट नियन्त्रणमा लिएको भालामा वन्यजन्तुको रौँ, रगतको टाटाहरू भेटिएको छ । तर त्यो कुन वन्यजन्तुको हो भन्ने पत्ता लगाउन हामीले विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ र त्यहाँबाट रिपोर्ट आइसकेपछि अनुसन्धानको प्रक्रिया अगाडि बढ्छ,’ डिभिजन वन प्रमुख सिंहले भने ।

वन कार्यालयले नियन्त्रणमा लिएका सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही अगाडि बढाउने जनाएको छ । बुधबार मध्यरातमा नियन्त्रणमा लिएका सबैलाई कोल्हवी नगरपालिका वडा नं २ का वडासदस्य दुर्गा बहादुर श्रेष्ठको रोहवरमा छाडिएको हो ।

यता कोल्हवी नगरपालिकाका पूर्वनगरप्रमुख भरत भण्डारीले भने स्थानीयहरूले बँदेल नियन्त्रणमा लिने क्रममा वन कर्मचारीले एक्कासी पक्राउ गरेको बताए । ‘बँदेलले गाउँमा किसानहरूको मकै खाएर दुःख दिएकाले बँदेललाई पासोमा पार्न जाने क्रममा वनका कर्मचारीले नबुझीकन बाघ मार्ने यिनै हुन् भन्दै उहाँहरूलाई नियन्त्रण लिनु भएको हो,’ भण्डारीले भने ।

वन कर्मचारीले वास्तविक सिकारी हो कि होइन भन्ने नचिनिकन नियन्त्रणमा लिने क्रममा वादविवादको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप