रवि र गगनको राजनीतिक ब्याटल
नेपाली कांग्रेसका नेता गगन थापा समकालीन राजनीतिज्ञमा प्रखर वक्ताका रूपमा चिनिन्छन् । कुनै पनि विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्न सक्ने नेताका रूपमा चिनिएका थापा तत्कालीन शाही शासनविरुद्ध राजनीतिक दलहरूले गरेको प्रतिगमन विरुद्धको जनआन्दोलनका एक नायक मानिन्थे ।
तत्कालीन समयमा पार्टी नेतृत्वले आन्दोलन हाँक्दै गर्दा सडकमा भने गगन थापासहितका विद्यार्थी र तरुण युवा नेताले आन्दोलनको मोर्चा सम्हालेका थिए ।
३० वर्षे पञ्चायतविरुद्ध २०४६ सालमा भएको आन्दोलनमा स्कुले विद्यार्थीकै हैसियतमा आन्दोलनमा निस्किएका थापा त्यसयता मूलधारको राजनीतिमा झुकाव राख्दै आए । विद्यालय पढ्दैदेखि नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसङ्घमा आबद्ध थापा उच्च शिक्षा अध्ययनका क्रममा क्याम्पसमा पढ्दा पनि नेविसङ्घको राजनीति समाल्ने नेताका रूपमा स्थापित भए ।
शाही शासनका बेला अर्धभूमिगत शैलीमा काठमाडौँमा रहेर आन्दोलनमा सक्रिय रहेकै बेला थापालाई प्रहरीले लैनचौरबाट पक्राउ गर्यो । तत्कालीन सरकारले गगनलाई राजद्रोहको मुद्दा लगायो । अन्तर्राष्ट्रिय मानव अधिकारीवादी संस्था एम्नेस्टी इन्टरनेसनलले थापालाई उक्त समयमा आस्थाको बन्दी घोषणा गर्यो ।
देशको समसामयिक विषयका साथै पार्टीभित्र पनि आफूलाई उचित लागेको विषयमा प्रखर रूपमा आवाज उठाउने थापा चुनौती मोल्न सक्ने नेताका रूपमा परिचित छन् । यस कारण उनी राजनीतिमा भर्खर–भर्खर पाइला चालेका युवाको आदर्श वा प्रेरणाको स्रोत बनेका छन् ।
देश वर्तमान अवस्थामा अनगिन्ती सङ्कटहरूको मारमा छ । खासगरी राजनीतिमा नैतिकताको खडेरी परेका बखत यी सङ्कटबाट कसरी व्यक्तिगत या दलीय लाभ लिन सकिन्छ भन्ने ध्याउन्नमा मात्र नेताहरू देखिछन् । यसैको रापतापमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले नेता केपी शर्मा ओलीले रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई गगन थापासँग राजनीतिक ब्याटल गराउँदै सत्ताको रसास्वादन गर्दै छन् । यो रणनीति रास्वपाका सभापतिले बुझ्न चाहेनन्; सत्ता लिप्साको महत्त्वाकाङ्क्षाले पार्टीप्रति घट्दै गइरहेको जनविश्वासभन्दा रविलाई गृहमन्त्रीको पद ठुलो लागिरहेको छ ।
रवि र गगनको भिडन्त
गृहमन्त्री लामिछाने यतिबेला सहकारी ठगी प्रकरणले चौतर्फी रूपमा घेराबन्दी र आलोचनाको सिकार भएका छन् । उनलाई उक्साएर अपमानजनक तरिकाले सत्ता त्याग्नुपर्ने अवस्थामा पुर्याउने कुटिल रणनीतिमा सरकार साझेदार पार्टी र उग्रवामपन्थीले प्रपञ्च रचिरहेको सजिलोसँग बुझ्न सकिन्छ ।
सम्भवतः त्यही उक्साहटमा उनले प्रधानमन्त्री, महान्यायाधिवक्ता तथा प्रहरी प्रमुखमार्फत आफू सहकारी घोटालामा निर्दोष भएको सन्देश दिन एकहदसम्म प्रयास गरे, तर लोकतन्त्रको हिमायती बनेको प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई त्यति सजिलोसँग चित्त कहाँ बुझ्थ्यो र ! मुद्दाविहीन काङ्ग्रेसले मुद्दा पायो । रविको विरुद्ध आगो ओकल्न र सहकारी पीडितलाई न्याय दिलाउने ढाडस योजनाबद्व रूपमा संसदमा प्रवेश गर्यो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले नेता केपी शर्मा ओलीले रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई गगन थापासँग राजनीतिक ब्याटल गराउँदै सत्ताको रसास्वादन गर्दै छन् ।
रवि नै सहकारी ठग हो भन्ने भाष्य निर्माण गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता रमेश लेखकले सुरुवाती ब्याटिङ गरे पनि अहिले पार्टी राजनीतिभित्र विकल्पको राजनीतिमा सफलता प्राप्तिका लागि आफूलाई पटकपटक अग्निकुण्डमा होमेका, स्वास्थ्यमन्त्री भइसकेका, लामो राजनीतिक पृष्ठभूमि भएका गगन थापा र स्टन्ट गर्न माहिर रवि लामिछानेबिचको लडाइँ यो बिन्दुमा पुगेको छ कि एकले अर्कोलाई राजनीति छोड्न चेतावनी समेत दिन थालिसकेका छन् ।
आफूले लिएको अडानबाट पछि हट्न नजानेका गगन संसदीय छानबिन समितिको पक्षमा प्रतिपक्षी दलको बेन्चबाट धुवाँदार अभिव्यक्ति दिँदै सत्तारुढ दलहरूलाई हायलकायल बनाइरहेका छन् । सत्तापक्षको तर्फबाट माओवादी नेताहरूको उत्तरबाट बगिरहेको पहेँलो धातुको कालो कारोबारमा बरोबर नाम आइरहने त्रासका कारण र सत्ता लालचले रविप्रति करुणाभाव देखाउँछन्, देखाइएका छन् ।
राजनीति विषाक्त र निर्मम हुन्छ भन्ने भनाइलाई रवि र गगन टकराबले चरितार्थ गर्दै छ । यसरी गिजोलिनुपर्ला भन्ने परिकल्पना उनीहरु बाहिर थिए सायद । नेपाली राजनीति न हो, हिजोका हितैषी आजका दुश्मन स्वाभाविक थियो ।
राजनीतिमा लाग्नेहरूलाई आक्षेप लाग्छन् । आरोप–प्रत्यारोपमा छानबिन कहिल्यै पनि नहुने र क्लिन चिट नपाउने परिपाटी जो छ, राजनीतिमा यसले व्यक्तिलाई पछिसम्म पनि बदनाम गराउँछ । यस कुरामा नयाँ पार्टी डराउनुपथ्र्यो; यस मानेमा फरक देखिनुपथ्र्यो । नयाँ पार्टीका नेतामाथि आरोप लागिसकेपछि छानबिनमा सहयोग गरेर निष्कर्षमा पुर्याएको भए रविले यो आक्षेपको भारी बोकेर हिँडिरहनुपर्ने थिएन ।
रविले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट मलाई बोल्नदेऊ दुधको दुध पानीको पानी देखाइदिन्छु भने पनि जनताको नजरमा निर्दोष भएको प्रमाण पुग्दैन । गृहमन्त्रीबाट राजीनामा दिएर आफूमाथि छानबिन गर्न बाटो नखोल्दासम्म हालसम्म भएको छानबिन शङ्काको घेरामा रहन्छ, प्रश्न उठ्छ स्पष्ट हुनु जरुरी छ । नेपाली कांग्रेसले मागेको संसदीय छानबिन समिति स्वीकार गर्न र राजीनामा दिन तयार नहुनाले पनि रवि आफू हार्दै र गगनलाई जिताउँदै छन् ।
एउटा अर्थशास्त्रीको विद्यार्थीले सबैभन्दा पहिला अभावबाट सिक्छ भनेझैँ रास्वपा सभापति रवि लामिछानेले देशको राजनीतिक अवस्थाबाट सिक्नुपर्ने थियो । सोहीअनुसार निर्णय गर्नुपथ्र्यो, तर त्यसो नहुँदा नागरिकमा नयाँ पार्टीप्रति जनविश्वास घट्दै गएको देखिन्छ । सदनमा नेपाली काङ्ग्रेससहित अन्य प्रतिपक्षको अवरोध र सहकारी पीडितको धैर्यको फुट्दो बाँधको भेलले रविलाई नबगाउला भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?
-
औषधी सिफारिसमा स्वास्थ्य मन्त्रीले लिए ‘एक्सन’
-
राष्ट्रिय परिचयपत्र विवाद : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
-
यस्तो देखियो क्रिसमस ‘इभ’, तस्बिरमा हेर्नुहोस्
-
छविलाई न्यायाधीशको २३ प्रश्न, आरोपमाथि इन्कारी बयान