एचआईभी सङ्क्रमित महिलालाई तस्करले निल्न लगाए १ केजी २६० ग्राम कोकिन

काठमाडौँ । युगान्डा घर भएकी ४४ वर्षीया केभिना मुगाला वैशाख ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । कतार एयरवेजबाट काठमाडौँ ओर्लिएकी उनीमाथि लागु औषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरीले शङ्का गरे । ब्युरोका प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरे ।
प्रहरी अस्पतालमा लगेर चेकजाँच गर्दा उनले लागु औषध कोकिन निलेर आएको पुष्टि भएको छ । मुगालाको पेटबाट १ केजी २६० ग्राम कोकिन संकलन गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुल निकालिएको छ ।
मुगाला एचआईभी सङ्क्रमित हुन् । लागु औषध तस्करले सङ्क्रमित महिलालाई लोभ देखाएर ‘भरिया’ बनाएर काठमाडौँ पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनी इथियोपियाबाट कोकिन निलेर कतार हुँदै काठमाडौँ ओर्लिएकी हुन् । उनको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
मुगालासहित ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगाला, युगान्डाकै लिलियन सुशान वानयेन्जे र भारतीय महिला ३३ वर्षीया देवाजनी पाल छन् ।
लिलियन पनि कतार हुँदै काठमाडौँ आएकी हुन् । चकलेटको खोलमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले उनको साथबाट १ केजी ३९४ ग्राम कोकिन बरामद गरेको छ । सुटकेसभित्र स्निकर चकलेटमा लुकाएर ल्याएको ६३ वटा क्याप्सुल बरामद गरिएको एसएसपी थपलियाले बताए । उनले भने, ‘दुई जनाको साथबाट २ केजी ६५४ ग्राम कोकिन बरामद गरेका छौं ।’
इथियोपियाबाट पठाएको कोकिन लिन भारतबाट काठमाडौँ आएकी हुन्, देवाजनी पाल । भारतबाट बुटवल र पोखरा हुँदै काठमाडौँ आएपछि उनलाई पक्राउ गरिएको एसएसपी थपलियाले जानकारी दिए । कोकिन पठाउने मुख्य तस्करको बारेमा ब्युरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली