मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

संसद्को अवरोध हट्ने नेताहरूको दाबी

बिहीबार, ०३ जेठ २०८१, १४ : ०४
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । सांसदहरूले बिहीबार अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरूका बिचमा सहमति जुटेर संसद्को जारी अवरोध हट्ने दाबी गरेका छन् । 

 प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग निरन्तर राख्दै आएको छ । यता सत्तारुढ दल छानबिन समिति बनाउन तयार देखिएको छैन ।

 यसै कारण प्रतिनिधि सभाको बिहान तय भएको बैठक सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी तोकिएसँगै सांसदहरूले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडि बढ्ने दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताए । उनले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताए । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री संसदीय छानबिन समिति गठनमा सकारात्मक देखिएको भए पनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताए । उनले संसदीय छानबिन समिति गठनको सम्बन्धमा निक्र्यौल निकालेर संसद् चलाउने बाटोमा जानुपर्ने आफूहरूको धारणा रहेको बताए । 

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीले नेपाली कांग्रेससँग संसद्को अवरोध हटाउने सम्बन्धमा अन्तिम पटक छलफल गर्न लागेको जानकारी दिए । उनले संकटग्रस्त सहकारीहरूको छानबिन गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिपक्ष दलले उठाएको कुराको सम्बोधन हुनुपर्ने बताए । उनले सरकारले समझदारी र समन्वय गरेर समस्याको हल गर्नुपर्नेमा जोड दिए । 

नेपाली काँग्रेसका सांसद शेखर कोइरालाले पनि ४ बजेसम्म सहमति जुट्नेमा आफू आशावादी रहेको बताए । संसद् बैठक स्थगित गरेर सभामुख तथा दलका नेताहरू संसद् खुलाउनका लागि छलफल तथा संवादमा लागेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप