शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न इप्पानका अध्यक्ष कार्कीको माग

बिहीबार, ०३ जेठ २०८१, १२ : ०४
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले बजेट बनाउँदा अबको दश वर्षमा देशलाई कहाँ पुर्‍याउने भन्ने हिसाबले नीति लिनुपर्ने बताए ।

‘दश वर्षलाई ऊर्जा दशक र ऊर्जा सङ्कटकाल घोषणा गरेर ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने खाँचो छ । सरकारले दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरेर जाने लक्ष्य लिएको छ ।

१३ हजार ५ सय मेगावाट देशभित्रै खपत गर्ने र १५ हजार मेगावाट विदेश निर्यात गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहनेछ । यसमा गम्भीर भएर वातावरण सिर्जना गर्न सबै लाग्नुपर्नेछ ’ अध्यक्ष कार्कीले बताए ।

सोही अवसरमा उनले अब बैङ्क वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा कम्तीमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था बजेटमार्फत हुनुपर्ने समेत माग राखे ।

 ‘अब बैङ्क वित्तीय संस्थाले कम्तीमा २० प्रतिशत लगानी गर्न बाध्यात्मक व्यवस्था अनिवार्य गर्नुपर्दछ । त्यसैगरी कतिपय संस्थामा बेकामे बनेर रोकिएका रकम परिचालनको वातावरण पनि बन्नुपर्दछ ।’ 

सामान्य शब्दका कारण भन्सारमा सामानहरू रोकिने अवस्था देखिएको भन्दै नीतिबाटै यस विषयबारे सोच्न आवश्यक रहेको कार्कीले बताए ।  पीपीए खोलेर जाने नीति बजेटले लिनुपर्ने भन्दै उनले बजेटले तोकेका विषय र सुविधा कार्यान्वयनमा आउनुपर्ने बताए । 

वन र जग्गाको समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष कार्कीले धितोपत्र बोर्डको अध्यक्ष नहुँदा काम गर्न सक्ने व्यक्ति तोक्नुपर्ने बताए । 

यस्तै ट्रान्समिसन लाइन बनाउन र विद्युतको व्यापार निजी क्षेत्रलाई खुला गर्नुपर्ने उनले माग गरे । 

बिजुली खपत बढाउने पूर्वाधार विकासमा बजेट बढाउनुपर्ने बताउँदै उनले दिगो समृद्धिका लागि जलविद्युत नै महत्त्वपूर्ण रहेकोले सडक बाटो, बजार पुर्‍याउने लगायतका क्षेत्रलाई महत्वमा राख्न सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप