फोहोर व्यवस्थापनमार्फत रोजगारी बढाउन कोइकाले पोखरालाई सवा अर्ब दिने, कसरी हुँदैछ कार्यान्वयन ?
पोखरा । पोखरा महानगरपालिकाले विभिन्न दातृ निकायबाट झन्डै ३० अर्ब हाराहारी सहयोग पाउँदै छ । महानगरका विभिन्न आयोजना र परियोजनामा दातृ निकायको सहयोग पाएको हो ।
खानेपानीदेखि सडक र फोहोर व्यवस्थापनसम्म दातृ निकायको सहयोग घोषणा भएको छ । अधिकांश परियोजनाहरू रोजगारीसँग जोडिएका छन् । नेपाली युवाहरूलाई रोजगारी सिर्जना गर्ने र समस्या पनि समाधान गर्नका लागि सहयोग रकम दिन लागेका हुन् ।
गत भदौमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले ‘इनोफेस्ट’ आयोजना गरेको थियो । पोखराको फोहोर व्यवस्थापनसँगै उद्यमशीलतालाई जोडेर छलफल गरिएको थियो । त्यसको प्रमुख उद्देश्य थियो, ‘फोहोर व्यवस्थापनलाई प्रविधिसँग जोड्ने र उद्यमशीलता विकासमा प्रविधिको प्रयोग गर्ने ।’
रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयमा सघाउ पु¥याउने गरी उक्त कार्यक्रम भएको थियो । यसका लागि कोइकाले ९८ लाख अमेरिकी डलर अर्थात १ अर्ब ३० करोड भन्दा बढी रकम अनुदानका रूपमा प्रदान गर्ने गरी मंगलबार सम्झौता भएको छ ।
अर्थ मन्त्रालय र कोरिया सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत तेयोङ वार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कोइका मार्फत प्राप्त हुने उक्त रकम अव पोखरामा पठाइने छ । परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास लिइएको छ । युएनडीपीले ०.८७ मिलियन डलर थप्नेछ ।
कसरी हुन्छ कार्यान्वयन ?
यो परियोजनाको प्रक्रिया सुरु भएको ५ वर्ष हाराहारी भयो । मानबहादुर जिसी मेयर हुँदादेखि नै प्रक्रिया अघि बढेको हो । प्रक्रियागत लम्बाइले सम्झौता अहिले गरिएको हो ।
सहमति अनुसार यो रकम ७ वर्षमा खर्च हुनेछ । परियोजनाका पोखरा फोकल पर्सन नेत्र तिमिल्सिना घरबाटै फोहोर छुट्याउने र काम नलाग्ने फोहोर कम निकाल्ने गरी काम हुने बताउँछन् । ‘घरघरमा सेग्रिगेसन गर्ने, कुहिने र नकुहिने घरमै छुट्याउने परियोजना हो । त्यसपछि पुनः प्रयोग गर्न मिल्ने फोहोरबाट विभिन्न सामग्री निर्माण गरिन्छ,’ उनले भने, ‘त्यसका लागि समुदायलाई सचेत गराउने र उनीहरूलाई नै प्रोत्साहन गर्ने हो । कसैले उत्पादनमा काम गर्छ भने उसलाई प्रवर्द्धन पनि गरिन्छ ।’
सीधै समुदायमा रकम हस्तान्तरण गर्ने नभई सचेतनामूलक कार्यक्रम र सामग्री मार्फत उनीहरूलाई परियोजनामा जोडिने तिमिल्सिनाले बताए । प्रत्येक वडामा ४ देखि ५ वटा समुदाय छनोट गर्ने योजना महानगरको छ । ‘३३ वटै वडामा लैजान्छौं । कुनैमा धेरै, कुनैमा थोरै समुदाय जोडिन सक्छन्,’ उनले अघि थपे, ‘साना र मझौला उद्यमीहरूलाई यसमा जोड्छौँ । खासगरी नकुहिने फोहोर घटाउन यसले साथ दिन्छ ।’
महानगरमा दैनिक कति फोहोर निस्किन्छ भन्ने पछिल्लो सर्भे छैन । तर २ सय १० टन फोहोर दैनिक उत्सर्जन हुने अनुमान छ । त्यसमध्ये ७० प्रतिशत कुहिने खालको छ भने १५ प्रतिशत पुनः प्रयोग हुने खालको छ । बाँकी फोहोर ल्याण्डफिलमै लैजानुपर्छ ।
‘जिरो वेस्ट भन्ने संसारमै हुँदैन । त्यस्तो फोहोर कम गर्ने हो । जसलाई ल्याण्डफिल चाहिन्छ,’ तिमिल्सिना अघि भन्छन्, ‘महानगरपालिकाले गर्न खोजेको त्यही हो ।’ कुहिने फोहोरबाट मल र ग्याँस उत्पादन गर्ने गरी पोखरा ३३ भरतपोखरीमा प्रशोधन केन्द्र निर्माणको तयारी गरिएको छ । तर जग्गा विवादले काम अघि बढ्न सकेको छैन ।
अहिले पोखराका सबै फोहोर लामेआहालको अस्थायी ल्याण्डफिल साइटमा फालिन्छ । यसअघि बाच्छेबुडुवामा ल्याण्डफिल साइट राखिएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट साइट हटाइएको हो । कोइकाले प्रदर्शनी केन्द्र नयाँबजारमा डेमो सेण्टर राख्ने गरी निर्णय गरेको छ भने परामर्शदाताका रूपमा जेके एशोसियट्स छनोट गरेको छ । अब १ वर्षभित्र समुदाय छनोट गर्ने र सामग्री र तालिम तथा सचेतनाका कार्यक्रम अघि बढाउने महानगरले जनाएको छ ।
मेयर धनराज आचार्यले सहयोगका लागि कोइकालाई धन्यवाद दिए । छिट्टै परियोजना सुरु गर्ने उनको प्रतिबद्धता छ । ‘यो परियोजना पोखराका विभिन्न वडाहरूमा छिट्टै सुरु गरिनेछ । यसै परियोजना मार्फत कोशेली घर निर्माण तथा रोजगारीका परियोजना सञ्चालनमा आउनेछन्,’ उनले भने । परियोजनाको संयोजन चाहिँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पीजी’ पढ्ने डाक्टर र कलेज सञ्चालकबिच निर्वाह भत्ताको विवाद : मध्यमार्गी बाटो खोज्दै सरकार
-
एप्पलले पायो अनौठो सेक्युरिटी क्यामराको प्याटेन्ट
-
पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिँदै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)