सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा

बिहीबार, ०३ जेठ २०८१, ०६ : ४५
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा आफ्नो सरकार जोगाउन विभिन्न प्रयास गरिरहेको छ । नेकपा माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिइसकेपछि जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

जसपा नेपालले आफ्नै नेतृत्वमा सरकारलाई निरन्तरता दिन विभिन्न दलसँग संवाद सुरु गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय सरकारबाट समर्थन फिर्ता लिने बित्तिकै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवासमा पुगेर भेटेका थिए । भेटमा अध्यक्ष यादवले मधेस प्रदेश सरकारमा सहयोग गर्न ठाकुरसमक्ष आग्रह गरेका थिए । तर लोसपा अध्यक्ष ठाकुरले स्पष्ट जवाफ दिएनन् ।

माओवादी केन्द्र र एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । अहिलेको सरकारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मात्र साथ दिएको छ ।

जसपा नेपाल नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादीले साथमात्र होइन, सरकारलाई बचाउन पनि भूमिका खेल्ने सो पार्टीका मधेस प्रदेश संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेले बताए । उनले भने, ‘हामीले जसपा नेपाल नेतृत्वको सरकारलाई विश्वास मत दिएका थियौँ, अहिले पनि त्यही सरकार कायम छ । हामी त्यही सरकारमा छौँ । यो सरकारलाई बचाउनका लागि नेकपा एकीकृत समाजवादीले भूमिका पनि खेल्छ ।’

अहिले पुनर्गठन गरिएको सरकारमा मुख्यमन्त्रीसहित पाँच जना मन्त्री र एक जना राज्यमन्त्री छन् । त्यसमा नेकपा एकीकृत समाजवादीका दुई जना मन्त्री छन् ।

मधेस प्रदेश सभामा जसपाको १९ र नेकपा एकीकृत समाजवादीको सात सांसद छन् । जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ । जसपा नेपालले कांग्रेसको पनि साथ खोजेको छ । मधेस प्रदेश सभामा कांग्रेससँग २२ जना सांसद छन् ।

कांग्रेसले साथ दिए पनि ६ जना सांसद अपुग हुन्छ । नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् । ती दलले समर्थन गरे पनि जसपा नेपाल नेतृत्वको सरकार बनाउन गाह्रो छ । त्यसमा लोसपाको समेत साथ चाहिन्छ । लोसपासँग नौ सांसद छन् ।

तर लोसपाले जसपा नेपाल नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिइसकेको कारण पुनः समर्थन दिने अवस्था नरहेको बताउँछ । सो पार्टीका उपाध्यक्ष एवं मधेस प्रदेश सभाका सांसद जितेन्द्र सोनलले जसपा नेपाललाई विश्वासको मत दिने सम्भावना अहिलेलाई नरहेको बताए ।

उनले लोसपा कांग्रेसको साथमा रहेको प्रस्ट पार्दै कांग्रेसलगायत अन्य दलहरू मिलेर सरकार बनाउँदा लोसपाले समर्थन गर्न सक्ने बताए । तर जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा नरहेको उनको भनाइ छ ।

जसपा नेपालले साथ खाजेको कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । कांग्रेस मधेस प्रदेश सभाका संसदीय दलका उपनेता विरेन्द्रकुमार सिंहले अब बन्ने सरकार जसपा नेपालको नेतृत्वमा होइन, कांग्रेस नेतृत्वमा बन्ने बताए । त्यसका लागि पहल भइरहेको उनको भनाइ छ ।

कांग्रेसले त्यसका लागि माओवादी केन्द्र र एमालेबाहेक अरु सबै दलसँग छलफल सुरु गरिसकेको उनले जानकारी दिए । मधेस प्रदेश सभाका संसदीय दलका उपनेता सिंहले नेकपा एकीकृत समाजवादी, लोसपा, जनमतलगायतका दलहरूसँग कुराकानी भइरहेको बताउँदै दलहरू कांग्रेसप्रति सकारात्मक रहेको बताए ।

मंगलबारमात्रै कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर मधेस प्रदेशमा सरकार बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् । तर अध्यक्ष नेपालले सकारात्मक प्रतिकृया नदिएको कांग्रेस निकट नेताहरूले बताएका छन् ।

कांग्रेस मधेस प्रदेश संसदीय दलका उपनेता सिंहले जसपा नेपालले सात वर्षसम्म सरकार चलाइसकेकाले अब फेरि पनि उसैलाई दिन नमिल्ने बताए । अब सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी तयारी चलिरहेको उनको भनाइ छ ।

मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको ९–९,नेकपा एकीकृत समाजवादीको ७ र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् ।

माओवादी केन्द्र र एमालेले पनि सरकार बनाउन पहल सुरु गरेका छन् । यी दुई दलले पनि जसपा नेपालबाहेक अन्य सबै दलसँग कुराकानी गरिरहेका छन् । एमाले र माओवादीसँग जम्मा ३२ सिट छ । सरकार बनाउनका लागि उसलाई थप २२ सिटको आवश्यकता छ । हालसम्म जनमत पार्टीले जसपा नेपालइतरको सरकार गठनका लागि माओवादी र एमालेलाई साथ दिने देखिएको छ ।

जनमत पार्टीले साथ दिए पनि एमाले–माओवादीलाई थप नौ सिटको खाँचो हुन्छ । त्यो नौ सिट लोसपासँग छ । तर लोसपा एमाले–माओवादीसँग मिलेर सरकार बनाउने सम्भावना तत्काल देखिएको छैन । लोसपाले आफू कांग्रेसको साथमा रहेको भन्दै आएको छ ।

यसरी हेर्दा मधेस प्रदेशमा सरकार बनाउनका लागि लोसपा नै महत्वपूर्ण भूमिकामा देखिएको छ । जसपा नेपाल विभाजन भइसके पनि मधेस प्रदेशमा त्यसको प्रभाव देखिएको छैन । जेठ १३ गतेसम्म सनाखतको समय छ । त्यतिबेलासम्म जसपा नेपालका सांसदहरूले को कता जान्छन् भन्ने विषयले पनि प्रदेश सभाको अङ्कगणित फेरबदल हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप