सरकारी अस्पतालमैै छैनन् नीतिअनुसारका नर्स, ४ जना नर्सको काम एकै जनाले गर्नुपर्ने बाध्यता
काठमाडौँ । शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागमा दुई जना नर्स निकै व्यस्त थिए । कोही बिरामीको औषधि खुवाउने समय त कोही बिरामीलाई डिस्चार्ज गर्न व्यस्त थिए । यो विभागमा सुपरभाइजर, २ जना इन्चार्ज र १३ जना नर्स गरी १६ जना छन् ।
यो विभागमा ४२ वटा बेडहरू रहेका छन् । इन्चार्ज र सुपरभाइजरबाहेक १३ जना नर्सले बिहान, बेलुका र रातिको ड्युउटी भाग लगाउने हो भने २ देखि ३ जना नर्सहरूको जिम्मेवारीमा ४२ जना बिरामी पर्छन् । त्यसमा पनि २ जना भएको बेलामा एक नर्स बराबर २१ जना बिरामी पर्न जान्छ ।
नीतिगत कुरा गर्ने हो भने जनरल वार्डमा एक जना नर्सले ५ देखि ६ जना बिरामी हेर्नुपर्ने छ । तर विगत २ वर्षदेखि नाक, कान, घाँटी विभागमा काम गर्दै आएकी एक नर्सले नाम नबताउने सर्तमा भनिन्, म एक जना नर्सले २० देखि २१ जना बिरामी हेर्दै आइरहेकी छु ।
धेरै बिरामी हुँदा कहिले काहिले बिरामीलाई औषधि खुवाउने समय बिर्सने, आफैलाई पनि समयमा खाना, खाजा खाने फुर्सद नहुने गुनासो पोखिन् ।
नर्स पेसेन्ट रेसियोलाई मान्ने हो भने आईसीयू, अप्रेसनमा जस्तो क्रिटिकल वार्डमा एक जना बिरामी बराबर एक जना नर्स हुनुपर्ने । यस्तै अप्रेसनबाट पोस्ट अपरेटिभ, हेमोडाइलासिसमा भने एक जना नर्सले २ जना बिरामी हेर्नुपर्ने प्रावधान रहेको छ । जनरल वार्ड भने एक जना नर्सले ५ देखि ६ जना बिरामी हेर्नुपर्ने हुन्छ ।
तर सरकारले यो नीतिलाई अहिलेसम्म कुनै अस्पतालमा कार्यान्वयन गरेको देखिएन । गङ्गालाल, कान्ति बाल, वीर, थापाथलीको प्रसूतिगृहले समेत यो नीतिलाई फलो गरेका छैनन् ।
वीर अस्पतालको अवस्था
देशकै जेठो अस्पताल वीर अस्पतालले नर्स पेसेन्ट रेसियो अनुसार बिरामीलाई सेवा दिएको पाइएन् ।
दैनिक १५ सयदेखि २ हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालले अझै २ सय नर्स थप्ने हो भने मात्रै नीति अनुसार काम गर्न सकिने कार्यवाहक नर्सिङ निर्देशक हिरा निरौलाले बताइन् ।
४ सय ६० बेडको यो अस्पताल भूकम्पपछि ३ सय ७० बेड सञ्चालनमा आएको थियो । अहिले भने ३ सय ६६ बेड मात्रै सञ्चालन गरिएको छ ।
वीरमा नेपाल सरकारका १२० जना नर्सको दरबन्दी भए पनि अहिले लगभग १ सय ५ जना कार्यरत रहेका छन् । यस्तै न्याम्सको १ सय २० जना नर्स न्याम्सकै अनमी १० जना अन्य विभिन्न रदबन्दीमा गरे २६० जना कर्मचारी कार्यरत रहेको निरौलाले बताइन् । वीरमा क्रिटिकल वार्डमा एक जना नर्सले ३ जना बिरामी हेर्ने गरेका छन् भने जनरलवार्डमा पनि एक जना नर्सले १५ देखि २० जना बिरामी हेर्नुपरेको निरौलाको भनाइ छ ।
टिचिङले पनि मानेन नियम
देशकै रिफर सेन्टरका रूपमा चिनिदै आएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले पनि यो नीतिलाई पालना गरेको देखिएन ।
त्रिभुवन विश्व विद्यालयअन्तर्गत सञ्चालन भएको टिचिङमा दैनिक ५ सयभन्दा बढी नै बिरामीको उपचार गराउँदै आइरहेका छन् । वि.सं. १९९२ मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्तपछि जापान सरकारको सहयोगमा सञ्चालन गरेको यस अस्पतालमा हाल ५ सय ९२ वेडहरू रहेका छन् ।
नर्सिङ डाइरेक्टर कोपिला श्रेष्ठ पालिकेले अनुसार टिचिङ अस्पतालमा बिरामी सङ्ख्याअनुसार नर्सको सङ्ख्या नभएको बताइन् । रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भनिन् क्रिटिकल वार्डमा एक नर्स एक बिरामी हुनुपर्ने नीति भए पनि एक नर्सले दुईदेखि ३ जना हेर्दै आइरहेको छ भने जनरलवार्डमा एक नर्सले १५ देखि २० जना बिरामी हेर्नुपरेको सुनाइन् ।
सरकारको नीतिलाई कार्यान्वयनमा ल्याउने हो भने शिक्षण अस्पतालमा १ सय २० जना नर्स थप्नुपर्ने छ ।
कान्ति बालमा झनै भद्रगोल
कान्ति बाल अस्पतालले नागरिकलाई सेवा दिन थालेको ५५ वर्ष भयो । अस्पताल सञ्चालनमा परिपक्व भए पनि नीतिअनुसार भने कान्ति अझैसम्म पनि त्यस्तो हुन सकेको छैन । पेसेन्ट रेसियोअनुसार नर्सको सङ्ख्या के छ ? भनेर प्रश्न गर्दा प्रमुख अस्पताल नर्सिङ प्रशासक निवारण जोशीले हाँस्दै भनिन्– ‘नर्स नभएर अस्पतालका केही विभाग नै बन्द गर्नुपरेको छ, के रेसियोको कुरा गर्नु ?’
३ सय २७ बेड रहेको कान्ति अस्पतालमा वार्षिक अढाइ लाख बालबालिकाको उपचार सेवा प्रदान गर्दै आइरहेका छन् । हाल कान्तिमा नर्सको सङ्ख्या भने १ सय ६० जना छन् । प्रमुख जोशीले भनिन्– हाम्रो मेडिकल वार्डमा ५२ जना बिरामी हुन्छन् । उनीहरूलाई २ जना नर्सले धान्दै आइरहेका छन् भने कहाँ लागू भयो नर्स पेसेन्ट रेसियो भनेर उल्टै प्रश्न गरिन् । रेसियोकै आधारमा कुरा गर्ने हो भने कान्तिमा ४ जना नर्सले धान्ने काम एक जना नर्सले हेर्दै आइरहेका छन् ।
अस्पतालमा कर्मचारीलाई तलब खुवाउनै हम्मेहम्मे हँुदा सरकारी नर्सले पाउनुपर्ने कुनै पनि थप सेवा सुविधा अस्पतालमा उपलब्ध छैन । त्यसैले पनि कान्ति पछिल्लो समय कामभन्दा पनि सिक्ने थलो बनेको अस्पतालकै कर्मचारीहरू बताउँछन् ।
एक जना क्रिटिकल बिरामी बराबर एक नर्स भने पनि कान्तिमा ६ जनासम्मलाई हेर्दै आइरहेको जोशीले बताइन् । कर्मचारी अभाव झेल्दै आएको कान्तिका लागि भने नर्स पेसेन्ट रेसियो लागू हुन निकै गाह्रो छ ।
आश लाग्दो गङ्गालाल
सहिद गङ्गालालमा भने अन्य अस्पातलका समस्या भन्दा अलि कम नै भेटियो । २०५२ मा स्थापना भएको यस अस्पतालले वि.सं. २०५५ मा अप्रेसन सेवा सुरु गरेको थियो ।
अस्पताल प्रशासन प्रमुख दीपेन्द्र खड्काका अनुसार गङ्गालालमा २ सय बेड छन् । १८ बेडको इमर्जेन्सी कक्ष रहेको गङ्गालालमा भने २ सय ८३ जना नर्सरहेका छन् । मुटु जस्तो संवेदनशील अङ्गको उपचार गर्ने गङ्गालाललाई अहिलेको सङ्ख्याको नर्स भने पर्याप्त नभएको खड्काले बताए । ओपीडीबाट सेवा सुरु गरेको गङ्गालाले वि.सं. २०५७ सालमा १० बेड ०५८ मा आकस्मिक कक्ष सुरु गरेको थियो । वि.सं. २०७१ सालमा २ सय बेड बनाएको यस अस्पतालमा सेवा लिनेको दैनिक भीड नै लाग्छ । प्रशासन प्रमुख खड्काले पनि सरकारको नम्र्स फलो गर्न नसके पनि अन्य अस्पातलको दाँजोमा राम्रो भएको दाबी गरे । गङ्गालालमा पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा नर्स पेसेन्ट रेसियोलाई शतप्रतिशत फलो गर्न नसकेको गुनासो गरे ।
प्रसूतिगृह
यस्तै सरकारी अस्पतालमध्येकै थापाथाली परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालले पनि यो नीतिलाई फलो गर्न सकेको छैन । वार्षिक १८ हजारभन्दा धेरै प्रसूति गराउँदै आइरहेको यस अस्पतालमा हाल १ सय ७२ जना नर्स कार्यरत रहेको नर्सिङ डाइरेक्टर आशा प्रजापतिले बताइन् । जनरल वार्डमा ४ सय २०, आईसीयू र आकस्मिक कक्षमा ८/८ बेड रहेका छ । थापाथलीमा क्रिटिकल वार्डमा एक जना बिरामी बराबर एक जना नर्स राख्ने नियम भने लागू भएको प्रजापतिले बताइन् ।
प्रसूतिगृहले केही हदसम्म पेसेन्ट र नर्स रेसियो लागू गरे पनि सङ्ख्या नै तोक्न नसके पनि प्रजापतिले लेबर रुममा भने लागू नभएको रातोपाटीलाई बताइन् ।
सरकारको भनाइ
नर्स–बिरामी रेसियो अनुसार आईसीयू, अप्रेसनमा एक जना बिरामी बराबर एक जना नर्स हुनुपर्छ । यस्तै अप्रेसनबाट पोस्टअपरेटिभ, हेमोडाइलासिसमा भने एक जना नर्सले २ जना बिरामी हेर्नुपर्ने प्रावधान रहेको छ । जनरल वार्ड भने एक जना नर्सले ५ देखि ६ जना बिरामी हेर्नुपर्ने हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको नर्सिङ महाशाखाकी प्रमुख रोशनी लक्ष्मी टुइँटुईंका अनुसार यो नीतिलाई सरकारी अस्पतालले नै लागू नगरेको बताइन् ।
सरकारी अस्पतालमा नै एक जना नर्सले २० देखि ३० जना बिरामी हेर्दै आइरेहेका छन् ।
चिकित्सकको दरबन्दीमा केही फेरबदल भए पनि नर्सको दरबन्दी भने वि.सं. २०३६ सालको रहेको छ । झण्डै ४ दशक अगाडिको दरबन्दीअनुसार सरकारले कर्मचारी नियुक्ति गर्दा रेसियोलाई फलो गर्न नसकेको महाशाखाको भनाइ रहेको छ ।
नर्सको आन्दोलनले पनि सरकारी स्वास्थ्य संस्थाहरूका सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० बमोजिम नर्स पेसेन्ट रेसियो लागू गर्नुपर्ने भनिएको छ । सरकारीबाहेकका स्वास्थ्य संस्थाका लागि सोही निर्देशिका बमोजिम नर्स पेसेन्ट रेसियो लागू भए नभएको अनुगमन, नियमन गरी लागू नभएको अवस्थामा संस्थाको सञ्चालनमा अनुमति नवीकरण नगर्ने र संस्थालाई कारवाही गर्नुपर्ने माग पनि गरिएको थियो । लागू गर्न सिफारिस गर्ने मन्त्रालयलयले भने पनि गम्भीरताको साथ छलफलमा अझैसम्म पनि ल्याइएको छैन ।
एक जना नर्सले ५ जना हेर्नु र २५ जना हेर्नुमा धेरै फरक पर्ने भएको कारण कामको बोझ धेरै हुने हँुदा गुणस्तरीय सेवामा समस्या आउने निर्देशक टुइँटुईले बताइन् । मन्त्रालयले यो नीति लागू कडाइका साथ लागू गरेको देखिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?