१० बजे, १० समाचार
आज २०८१ जेठ २ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- सन्दीप लामिछानेले पाए सफाइ
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
- अन्तरिम आदेश
सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो ।
- जग्गा वितरणमा रोक
सर्वोच्च अदालतले वन क्षेत्रका जमिनहरू पछिल्लो समय बस्तीमा परिणत हुँदै गएको भन्दै यसलाई रोक्न महत्त्वपूर्ण फैसला सुनाएको छ । राष्ट्रिय भूमि आयोगसहित सरकारविरुद्ध दायर भएको एक रिटमा व्याख्या गर्दै सर्वोच्चले वन क्षेत्र रहेको कुनै पनि जग्गामा बस्ती बसाउने सरकारको तयारी र व्यक्तिगत कार्यलाई पनि रोक लगाउने फैसला गरेको छ ।
- स्टोरमा आगलागी
सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा ‘सुरक्षा कमजोरी’ देखिएको छानबिन निष्कर्ष छ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले त्यसबारे छानबिन गरेका हुन् ।
- केपी शर्मा ओली
सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार खुस्कियो भनेर नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई चिथोरेको आरोप लगाएका छन् । साथै उनले अब नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने चेतावनी समेत दिएका छन् ।
- प्रचण्ड र उपेन्द्रबिचको सम्बन्ध
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएपछि सञ्चारकर्मीसँग भनेका थिए, ‘प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा कुराकानी गरेपछि सरकारमा बस्न मन नलागेर पदबाट राजीनामा दिएको हुँ ।’
- खेलकुद
नेपालको खेलकुद इतिहासलाई मनन गर्ने हो भने हजारौँ वर्ष पहिलेदेखि नै मानिसले विभिन्न चाड, पर्व, जात्रा र विभिन्न शारीरिक क्रियाकलापसहित आ–आफ्नै मौलिक परम्परा मान्दै आइरहेको पाइन्छ ।
- मेलो न मेसो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा ‘मेलो न मेसोका मन्त्री’ हुने गरेको बताएपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग आएको छ । पटकपटक गठबन्धन फेरेर आफ्नो सरकारको आयु बढाइरहेका प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रीका कारण बारम्बार दबाब झेल्दै आएका छन् ।
- घनश्यामले देखेका चुनौती
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टीभित्र कनिष्ठ तर सक्रिय तथा पुराना तर जिम्मेवारी अनुसार सक्रिय नभएका नेता कार्यकर्ताबिचको अन्तर्विरोधले सङ्गठन निर्माणमा समस्या सिर्जना भएको बताएका छन् ।
- फेवाको मापदण्ड
सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर तोकेर उक्त क्षेत्रभित्रका सबै संरचना हटाउन आदेश दिए पनि त्यस अनुसार काम अघि बढ्न सकेको छैन । ६ महिनाभित्र हटाउनुपर्ने संरचना झन्डै वर्ष दिनसम्म पनि प्रक्रिया अघि बढेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट