सङ्गठन निर्माणमा घनश्यामले देखेका ११ चुनौती (पूर्ण पाठसहित)
_CrwJygjxJi.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टीभित्र कनिष्ठ तर सक्रिय तथा पुराना तर जिम्मेवारी अनुसार सक्रिय नभएका नेता कार्यकर्ताबिचको अन्तर्विरोधले सङ्गठन निर्माणमा समस्या सिर्जना भएको बताएका छन् ।
महासचिव भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि पेस गरेको सङ्गठनात्मक प्रतिवेदनमा सङ्गठनमा देखिएका मुख्य समस्यालाई ११ बुँदामा सूत्रबद्ध गरेका हुन् ।
‘तुलनात्मक रूपले कनिष्ठ तर सक्रिय वा जिम्मेवारी पाउँदा धेरै काम गर्न सक्ने नयाँ तथा नौजवान कमरेडहरू र तुलनात्मक रूपले पुराना तर जिम्मेवारीअनुसार सक्रिय हुन नसकेका कमरेडहरूका बिचमा हुने अन्तरविरोधहरुले पनि माथिदेखि तल्ला कमिटीहरूमा समस्या देखिएका छन्’, भुसालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
एकै समयमा देशैभरी कमिटीहरू बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक भए पनि विद्रोहको समयको सक्रियता विचार, सिद्धान्त र राजनीतिक तथा साङ्गठनिक योग्यता र अनुभव बिना लामो समय टिकाउन सजिलो नभएको भुसालको विश्लेषण छ ।
‘विद्रोहलाई व्यवस्था र विधिमा ढाल्नु पर्ने अवस्थामा ती कमजोरीहरू विभिन्न क्षेत्रमा देखिँदै गएका छन्। त्यसले गर्दा कतिपयमा कमिटीमा नकारात्मक प्रभाव परेका छन्’, भुसालको भनाइ छ ।
उनले नेकपा एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरूको ठुलो सङ्ख्या एकीकृत समाजवादीमा आए पनि लामो समयसम्म उपयुक्त जिम्मेवारीमा नहुँदा त्यसमध्ये कैयौँ नेता कार्यकर्ताहरूको क्षमताको स्तर पुरानो भएको पनि बताएका छन् ।
‘तर अहिले उहाँहरू पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयन् कमरेडहरूले साङ्गठनिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको छ’, भुसालको भनाइ छ ।
भुसालले पार्टीको निर्माण माथिबाट गर्नु पर्ने र धेरैजसो कमिटीहरू सम्पूर्णरुपले नयाँ बनाउनु पर्ने अवस्थामा कसलाई कुन पद वा जिम्मेवारी दिने, को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध नभएको पनि बताएका छन् । ‘जसले गर्दा व्यक्तिको मूल्याङ्कन मनोगत हुने अवस्था आयो’, भुसालको भनाइ छ ।
भुसालले पार्टी स्थापनाको समयको राजनीतिक तथा संवैधानिक आवश्यकताले चुनावसम्मै जाने गरी कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सामेल भएको पनि बताएका छन् । ‘उक्त गठबन्धनमा बढी निर्भरता हुँदा पार्टी निर्माणको काम ओझेलमा पर्ने अवस्था आयो । स्थानीय र सङ्घीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धि हासिल गर्न सकेनौँ’, भुसालले गठबन्धनमा भर पर्नु कमजोरी रहेको स्वीकार गरेका छन् ।
सोही कारण पार्टीमा ऊर्जा र आकर्षण कम हुँदै गएको र त्यसलाई चिरेर नयाँ ऊर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नु पर्ने भुसालले जनाएका छन् ।
पार्टीको निर्माण माथिबाट गरिएकाले समस्याको जरो पनि माथि नै रहेको भन्दै भुसालले सङ्गठनको माथिल्लो तहमा नै समस्या भएपछि तल्ला कमिटीहरूलाई जनवादी केन्द्रीयताअनुसार सञ्चालन गर्न कठिनाइहरू भएको पनि स्वीकार गरेका छन् ।
एउटा राम्रो पार्टी अनेकौँ कामहरूको एउटा सिङ्गो प्रणाली हुने भन्दै त्यस्तो प्रणाली सुचारु नहुँदासम्म कमिटीमा व्यक्ति हाबी हुने अवस्था आउने भुसालको बुझाई छ ।
‘हाम्रो पार्टी प्रणाली निर्माणकै क्रममा छ । त्यसैले कमिटी र पद्धतिमाथि व्यक्ति र तदर्थवाद हाबी हुने अवस्था अझैसम्म कायम छ’, भुसालले भनेका छन्, ‘पार्टीमा रहेका उपरोक्त समस्याहरूको नकारात्मक प्रभाव जनसङ्गठनमा पर्नु स्वाभाविक छ ।’ यति हुँदाहुँदै पनि केही जनसङ्गठनहरूले सन्तोषजनक काम गरेको र केही औपचारिक रूपमा चले पनि अरू समस्याग्रस्त रहेको भुसालको भनाइ छ ।
‘सबैभन्दा चलायमान युवा र विद्यार्थीलाई जुन महत्वका साथ सञ्चालन गर्नु पर्थ्यो त्यो सकिएको छैन । आजको राजनीति र समाजका जटिलतालाई बुझ्न र चिर्न सक्ने युवा तथा विद्यार्थीहरूको राष्ट्रव्यापी परिचालन बिना पार्टीलाई अगाडि बढाउन असम्भवजस्तै कुरा हो । यसमा हाम्रा गम्भीर कमजोरी रहेका छन्’, भुसालले आफ्नो दस्ताबेजमा भनेका छन् ।
संसद् र संविधानको रक्षाका लागि उभिएको हुँदा राजनीतिक चेतना भएको जमात र सञ्चारमाध्यममा पार्टीप्रति पर्याप्त आकर्षण भए पनि पार्टीमा विद्यमान साङ्गठनिक तथा राजनीतिक कमजोरीहरूले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको पनि भुसालले उल्लेख गरेका छन् ।
संसद् र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई अझैसम्म स्थापित गर्न नसकेको भुसालको स्वीकारोक्ति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
हुथीमाथि आक्रमण योजनाको ग्रुप च्याट लिक गर्ने पत्रकार ‘ट्रम्प विरोधी’ घोषित
चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर
आईपीएलको छैटौँ खेलमा राजस्थानमाथि कोलकाता हावी, १५ बल बाँकी छँदै ८ विकेटले विजयी
१२ बजे, १२ समाचार : फेरि बढाइयो सिमेन्टको मूल्यदेखि सडक प्रदर्शनबीच हितेन्द्रको दोस्रो इनिङ्ससम्म
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह खानेपानी संस्थानको सदस्य नियुक्त
एसइई परीक्षा दिइरहेका बालकको बूढीगण्डकीमा डुबेर मृत्यु