बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपको खेल तालिकाप्रति गुनासो

बुधबार, ०२ जेठ २०८१, १२ : १७
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० वटा राष्ट्रले सहभागिता जनाउँदै छन् । सहभागी टोलीले आफ्नो टोलीको घोषणा पनि गरिसकेका छन् ।  

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिसकेको छ । तर, प्रतियोगिताको मिति नजिकिँदै गर्दा विश्वकपको खेल तालिकालाई लिएर विभिन्न गुनासो आउन थालेको छ । 

आईसीसीले वर्षालगायतका विभिन्न सम्भावित प्राकृतिक विपत्तिलाई ध्यानमा राखी सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ (अतिरिक्त दिन) पनि छुट्याएको छ । तर, दोस्रो सेमिफाइनल खेलका लागि आईसीसीले ‘रिजर्भ डे’ नराखेको भन्दै गुनासो सुरु भएको हो । 

यदि कुनै कारणले सेमिफाइनल खेल एक दिन पछाडि सार्नु पर्यो भने दोस्रो सेमिफाइनल खेल्ने टोलीले त्यसको २४ घण्टाभित्रै फाइनल खेल खेल्नु पर्ने स्थिति सृजना हुन्छ । त्यसमाथि सेमिफाइनमा विजयी हुने टोलीले यसबिचमा फाइनल खेल्ने स्टेडिय सहरसम्म पुग्न लामो यात्रा पनि तय गर्नुपर्ने स्थिति छ ।

आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार, पहिलो सेमिफाइनल खेल जुन २६ तारिखमा खेलिने छ । उक्त खेल ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा खेलिने छ । त्यसपछि दोस्रो सेमिफाइनल खेल जुन २७ तारिखमा हुनेछ ।

दोस्रो सेमिफाइनल खेल गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा खेलिने छ । जुनको महिनामा क्यारेबियन क्षेत्रमा अत्यधिक गर्मी हुने गर्छ । यदि कुनै कारणले दोस्रो सेमिफाइनल खेल एक दिन पछाडि सरेमा त्यो खेलमा विजयी हुने टोलीसँग फाइनल खेलअघि २४ घण्टाभन्दा पनि कम समय बाँकी रहन्छ । 

यही समयभित्र उक्त टोली गुयनाबाट बार्बाडस पुग्नु पर्ने हुन्छ । विश्वकपको फाइनल खेल २९ तारिखमा बार्बाडसको ब्रिजटाउनस्थित केन्सिङटन ओभलमा खेलाउने कार्यक्रम रहेको छ । यस्तो स्थितिमा दोस्रो सेमिफाइनल खेल्ने टोलीले फाइनलअघि थोरै पनि आराम पाउने छैन ।

यसै विषयलाई लिएर केही राष्ट्रले आईसीसीसँग गुनासो गरेका हुन् । यस विषयमा केही राष्ट्रले आईसीसीलाई समेत जानकारी गराइसकेका छन् । तर, हालसम्म आईसीसीसले आधिकारीक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

टी–२० विश्वकपको इतिहासमा हालसम्म सेमिफाइनल र फाइनलको बिचमा यति थोरै समयको अन्तर कहिले पनि राखिएको थियो । टी–२० विश्वकपको सन् २०२२ मा भएको आठौँ संस्करणमा इङ्ल्यान्ड र भारतबिचको दोस्रो सेमिफाइनल खेल नोभेम्बर १० तारिखमा खेलाइएको थियो ।

त्यसको तीन दिनपछि मात्र इङ्ल्यान्ड र पाकिस्तानबिच मेलबर्नमा फाइनल खेल खेलाइएको थियो । नोभेम्बर १३ तारिखमा खेलाइएको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै दोस्रो पटक टी–२० विश्वकपको उपाधि चुमेको थियो । 

त्यसअघि सन् २०२१ मा सम्पन्न सातौँ संस्करणमा पनि दोस्रो सेमिफाइनल खेल नोभेम्बरमा खेलाइएको थियो । फाइनल खेल भने त्यसको तीन दिनपछि नोभेम्बर १४ तारिखमा खेलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप