प्रचण्ड र उपेन्द्रबिचको लामो सम्बन्ध यसरी भयो घृणामा परिणत
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएपछि सञ्चारकर्मीसँग भनेका थिए, ‘प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा कुराकानी गरेपछि सरकारमा बस्न मन नलागेर पदबाट राजीनामा दिएको हुँ ।’
अप्ठ्यारो अवस्थामा आफूले प्रधानमन्त्री प्रचण्डलाई सहयोग गर्दै आएको तर अबको दिनमा सहयोग गर्न नसकिने अवस्थामा पुगेको बताउँदै यादवले प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि पदबाट राजीनामा दिँदा नै उचित हुने लागेर सरकारबाट बाहिरिएको बताए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच पहिला पनि ठाकठुक पर्ने तथा आपसी सम्बन्धमा उतारचढाव भइरहन्थ्यो । तर यसपाली ठुलै दरार भएको उपेन्द्र यादवको कुराबाट बुझ्न सकिन्छ । आफ्नो पार्टी विभाजन गराउन भूमिका निर्वाह गरेको भन्दै उपेन्द्र पछिल्लो समय प्रचण्डसँग रुष्ट छन् ।
२०६३ मा भएको गौर घटनाका कारण दुई जनाको बिचमा लामो समयसम्म सम्बन्ध बिग्रेको थियो । मधेस आन्दोलन हुँदा पनि माओवादीसँग उपेन्द्रको त्यति राम्रो सम्बन्ध थिएन । पहिलो संविधान सभा चुनावमा दुवै जना नजिक भएका थिए । त्यसपछि उनीहरूको सम्बन्ध लामै चल्यो ।
आन्दोलन र सत्तामा यी दुई नेताबिच निरन्तर सहकार्य रह्यो । २०७९ को चुनावमा उपेन्द्र यादवले प्रचण्डको साथ छाडेका थिए, जबकि दुवै जना एउटै गठबन्धनमा थिए । चुनाव अघि उपेन्द्र यादव एमालेतिर गएका थिए ।
चुनावपछि फेरि दुवै एकै ठाउँमा आए तर २०८० को मध्यतिर पुनः गौर घटनाको कुरा बाहिर आयो । प्रचण्ड नेतृत्वको सरकारले सो घटनाको फाइल खोल्ने भएपछि पुनः दुई जनाको बिचमा दुरी बढेको थियो । केही समय दुवै जनाबिच बोलचाल नै बन्द थियो । पछि दुवै जना एक ठाउँमा मात्र आएनन्, एउटै गठबन्धन पनि बनाए ।
एमाले–माओवादीको गठबन्धन बनाउन अहम् भूमिका खेलेका जसपाका अध्यक्ष उपेन्द्र यादव गठबन्धन सरकारमा सहभागी पनि भए तर दुई महिना नपुग्दै दुई जनाका बिचमा पुनः दरार उत्पन्न भयो । आफ्नो दल जसपा नेपाल विभाजन भएसँगै उपेन्द्र यादव प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिए । यतिमात्र होइन, जसपा नेतृत्वको मधेस सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लियो ।
जसपा नेपाल विभाजनमा प्रचण्ड
वर्तमान सत्ता गठबन्धनको विकल्पमा अर्को गठबन्धन बनाएर सरकार ढाल्ने खेलमा लागेका कारण जसपा नेपाललाई एमाले र माओवादी मिलेर विभाजन गरेको आरोप छ ।
यो आरोपमात्र होइन, सिन्धुलीमा प्रधानमन्त्री प्रचण्डले दिएको एउटा अभिव्यक्तिले यसलाई पुष्टि गरेको छ । पूरा समय सरकार टिकाउनका लागि अनेक गरिन्छ, हिजोअस्ति भएका घटना त्यही हो भनी प्रचण्डले जसपा नेपाल विभाजनमा आफ्नो भूमिका कतै न कतै रहेको जनाउ दिएका थिए ।
गौर घटनाकै सम्बन्धमा उपेन्द्र यादवलाई जुनसूकै बेला फसाउन सकिने आशंका जसपा नेपालका नेताहरू गरिरहेका छन् । सत्ताधारी दलले त्यही गौर घटनालाई लिएर बेलाबेलामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई तर्साइरहेका हुन्छन् ।
जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले सत्ताधारी दलबाटै जसपा नेपाल विभाजन भएको कुरा छर्लङ्ग भइसकेको बताए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले विभाजन गरेको कुरा स्वीकार गरिसकेपछि अब यसको कुनै कुरा पुष्टि गर्नुपरेन ।’
आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डसँग भेटेर यो विषयमा गुनासो गरेको पनि उनले बताए । भेटमा पनि प्रधानमन्त्री प्रचण्डले पार्टी विभाजन गरेको कुरा पुष्टि गरेपछि जसपा नेपाल सरकारबाट बाहिरिएको उनले बताए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ गठबन्धन बनाउने खेलमा लागेको आरोप निराधार र कपोकल्पित रहेको दाबी गर्दै उनले पार्टी विभाजन गर्नका लागि ल्याइएको यो एउटा भ्रमपूर्ण कुरा रहेको बताए ।
गौर घटनाको भूत
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि गौर घटनाको पासो अझै बाँकी छ । अदालतमा यस सम्बन्धी मुद्दा विचाराधीन छ । अदालतले सरकारको नाममा कारण देखाउ आदेश दिइसकेको छ ।
गौर घटनाकै सम्बन्धमा उपेन्द्र यादवलाई जुनसूकै बेला फसाउन सकिने आशंका जसपा नेपालका नेताहरू गरिरहेका छन् । सत्ताधारी दलले त्यही गौर घटनालाई लिएर बेलाबेलामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई तर्साइरहेका हुन्छन् ।
प्रधानमन्त्री प्रचण्डकै कार्यकालमा गौर घटनालाई लिएर उपेन्द्र यादवमाथि दुई वटा झट्का दिइसकेका कारण पनि प्रचण्ड र उपेन्द्रबिच दुरी बढेको थियो ।
२०८० साउन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएपछि प्रधानमन्त्रीको सचिवालयबाट जसपा नेपालका अध्यक्ष यादवलाई खबर गरिएको थियो ।
तर उनी आफू मधेसमा भएको कारण देखाउँदै आफ्नो पार्टीबाट पार्टीका तत्कालीन वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमनलाई पठाएका थिए । साउन २९ गतेको बैठकमा अनुपस्थित उपेन्द्र यादवलाई साउन ३१ गते बस्ने बैठकमा पनि बोलाइएको थियो । त्यो बैठकमा पनि उनले तत्कालीन वरिष्ठ नेता श्रेष्ठ र प्रवक्ता सुमनलाई नै पठाएका थिए ।
यी दुई वटा बैठकमा सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थिति थियो तर जसपाका अध्यक्ष उपेन्द्र यादव आफैँ उपस्थित नभएर आफ्ना पार्टीका अन्य नेतालाई पठाएका थिए ।
बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहभागी नभएका जसपा नेपालका अध्यक्ष यादव भारतको ७७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा प्रेम लस्सकरी अध्यक्ष रहेको नेपाल भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जनकपुरबाट आएका थिए ।
सोल्टी होटलमा आयोजित सो कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतको उपस्थिति थियो ।
यसले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबिच दुरी बढेको प्रस्ट देखिन्थ्यो ।
गौर घटनालाई लिएर सरकारले छानबिन गर्ने भएपछि जसपा नेपालका अध्यक्ष यादव निकै असन्तुष्ट थिए । गौर घटनाका पीडितसँग सरकारले पाँच बुँदे सम्झौता गरेपछि सो घटनामा मुछिएका जसपा नेपालका अध्यक्ष यादवसहित अन्य नेताहरू कारबाहीमा पर्ने सम्भावना बढेसँगै दुई नेताबिच झन् दुरी बढेको थियो ।
गृह मन्त्रालयले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग २०८० साउन २३ गते सम्झौता गरेको थियो । सम्झौता भएकै भोलिपल्ट जसपाका अध्यक्ष उपेन्द्र यादव कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
गौर घटनाको सम्बन्धमा भएको सम्झौताको बारेमा तीनै जना नेताले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए । त्यसका जवाफमा प्रचण्डले यो कसरी भयो भन्ने आफूलाई केही पनि जानकारी नरहेको बताए । उनले छानबिन प्रक्रियामा गइसकेको भन्दै छानबिन भइसकेपछि सल्लाह गरौँला भन्ने जवाफ दिएका थिए ।
चित्त बुझ्दो प्रतिक्रिया प्रधानमन्त्री प्रचण्डबाट नआएपछि जसपाका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट भएर बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि साउन २५ गते पनि अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डसँग भेट्न चाहेका थिए । तर प्रचण्डले भेट्न मानेका थिएनन् । त्यसपछि जसपा नेपालले पत्रकार सम्मेलन गरेर गौर घटनाको बारेमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको थियो ।
पत्रकार सम्मेलन गरेर मधेस झरेका उपेन्द्र यादव लामो समय मधेसमै बसे । उनी आन्दोलनको तयारीमा जुटे । जिल्ला तथा प्रदेशमा प्रशिक्षण दिन थाले । उनले मधेसबाट आन्दोलनको चेतावनी दिन थालेका थिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यतिबेला पनि भनेका थिए, ‘माओवादी नेतृत्वको सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालाई फसाउने काम गरेको हो, नत्र १७ वर्ष पुरानो राजनीतिक घटनालाई किन यतिबेला उठाउनु पर्थ्यो ? यो सम्झौता षड्यन्त्रपूर्वक नै आएको र यसको दोषी माओवादी नै हो ।’
जसपा नेपालका उपेन्द्र यादवले अहिले पनि त्यही कुरा दोहो¥याइरहेका छन् । उनले सोमबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा भने, ‘जसपा नेपाल विभाजनको काम माओवादीका अध्यक्ष प्रचण्डबाट भएको हो, यो कुरा पुष्टि भइसकेको छ ।’
प्रचण्ड र उपेन्द्रको विगत
माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबिचको सम्बन्ध सुरुवातमा राम्रै थियो । राजनीतिमा एक अर्कालाई सहयोग गरेरै उनीहरू अगाडि बढिरहेका थिए । लामो सहयात्रामा उनीहरूको बिचमा यो चौथो पटक दुरी बढेको हो ।
पहिलो पटक २०६३ चैत ७ गते गौर हत्याकाण्ड हुँदा माओवादीका अध्यक्ष प्रचण्ड र तत्कालीन फोरमका अध्यक्ष यादवबिच दुरी बढेको थियो ।
त्यतिबेला अध्यक्ष यादवलाई भौतिक कारबाही नै गर्ने भनी माओवादीले उनलाई खोजी गरिरहेको थियो । त्यतिबेला उपेन्द्र यादव माओवादीका कारण भूमिगत हुनु परेको थियो । पहिलो संविधान सभाको चुनावपछि उनीहरूको बिचमा सम्बन्ध विस्तार भयो ।
गौर हत्याकाण्डले मात्र प्रचण्ड र उपेन्द्र बिचको सम्बन्धमा नराम्रो गरी चिरा परेको थियो । माओवादीका २७ जना कार्यकर्ताको ज्यान जाने गरी गौर घटना भएको थियो । मधेस आन्दोलनको क्रममा तत्कालीन फोरम र सरकारबिच १३ बुँदे र २२ बुँदे सम्झौता हुँदा पनि प्रचण्ड र उपेन्द्रबिच सम्बन्ध सुधार भइरहेको थिएन ।
दोस्रो पटक संविधान निर्माणको २०७२ जेठ २५ गते १६ बुँदे सम्झौता हुँदा उनीहरूको बिचमा दुरी बढेको थियो । त्यतिबेला उपेन्द्र यादव र प्रचण्ड एउटै गठबन्धनमा थिए । गठबन्धन छाडेर प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसँग मिलेर १६ बुँदे सम्झौता गरी फास्ट ट्रयाकमा संविधान निर्माण गर्ने सहमति गरेका थिए ।
सो सम्झौतामा प्रचण्डले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको साथ लिएका थिए । गठबन्धनको आन्दोलन छाडेर प्रचण्ड संविधान निर्माणमा गएको भन्दै उपेन्द्र यादव असन्तुष्ट बनेका थिए ।
तेस्रो पटक २०७९ को प्रतिनिधि सभा चुनावमा २०७९ असोज २१ गते उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेपछि दुई जनाको बिचमा दुरी बढेको थियो । २०७९ को चुनावमा पाँच दलीय गठबन्धनबिच तालमेल गर्ने सहमति थियो तर सिटमा कुरा नमिलेको कारण अध्यक्ष उपेन्द्र यादवले सो गठबन्धन छाडेर एमालेसँग तालमेल गरेका थिए । त्यसले गर्दा दुई जनाको बिचमा दुरी बढेको थियो ।
त्यसबाहेक प्रचण्ड र उपेन्द्र यादवबिचको दोस्तीमा कहिल्यै ब्रेक लागेको थिएन । दुई जनाको बिचमा पार्टी नै एकता गर्नेसम्मको संवाद भएको हो । पार्टी एकता सम्भव नभए पनि दुई जनाको प्रयासले समाजवादी मोर्चा बनेको हो ।
यहाँसम्म कि भारतमा माओवादीका नेता सुरेश आलेमगर र मोहन वैद्य किरणलाई पक्राउ पर्दा माओवादीले उपेन्द्र यादवमाथि आशङ्ेका गरेको थियो । त्यो बेला पनि अध्यक्ष प्रचण्ड उपेन्द्र यादवमाथि नरम नै थिए ।
गौर हत्याकाण्डले मात्र प्रचण्ड र उपेन्द्र बिचको सम्बन्धमा नराम्रो गरी चिरा परेको थियो । माओवादीका २७ जना कार्यकर्ताको ज्यान जाने गरी गौर घटना भएको थियो । सोही गौर घटनाका कारण मधेस आन्दोलनमा माओवादी र फोरमबिच द्वन्द्व देखिन्थ्यो । मधेस आन्दोलनको क्रममा तत्कालीन फोरम र सरकारबिच १३ बुँदे र २२ बुँदे सम्झौता हुँदा पनि प्रचण्ड र उपेन्द्रबिच सम्बन्ध सुधार भइरहेको थिएन ।
मधेसमा संविधान सभा चुनाव गराउने चुनौती थियो । उपेन्द्र यादव तयार नभएसम्म मधेसमा चुनाव हुने अवस्था थिएन । त्यतिबेला उपेन्द्र यादवले मधेसी मोर्चाका अन्य दलको साथ छाडेर चुनावमा जान तयार भए, त्यो पनि प्रचण्डकै कारण । त्यतिबेला प्रचण्ड प्रधानमन्त्री नभए पनि सत्ताधारी दलका अध्यक्ष थिए ।
तर २०६४ फागुन ८ गते बालुवाटारमा भएको आठ बुँदे सम्झौतापछि दुई जना बिचको सम्बन्धमा सुधार आयो । त्यसपछि दुई जना नेता राजनीतिक मोर्चामा कहिल्यै अलग भएनन् ।
कतिपय बेला उपेन्द्र यादवले प्रचण्डलाई साथ दिँदा उनको पार्टीलाई क्षति पनि भएको थियो । संविधान निर्माणपछि पनि मधेसवादी दलहरू आन्दोलनमा थिए । संविधान संशोधन नभएसम्म चुनावमा नजाने अडानमा थिए ।
मधेसमा संविधान सभा चुनाव गराउने चुनौती थियो । उपेन्द्र यादव तयार नभएसम्म मधेसमा चुनाव हुने अवस्था थिएन । त्यतिबेला उपेन्द्र यादवले मधेसी मोर्चाका अन्य दलको साथ छाडेर चुनावमा जान तयार भए, त्यो पनि प्रचण्डकै कारण । त्यतिबेला प्रचण्ड प्रधानमन्त्री नभए पनि सत्ताधारी दलका अध्यक्ष थिए ।
संविधान सभाको चुनावपछि प्रचण्डको नेतृत्वमा बनेको पहिलो सरकारमा उपेन्द्र यादव सहभागी भए । रुक्माङ्गत कटवाल काण्डपछि प्रचण्ड नेतृत्वको सरकार ढलेपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन हुँदा उपेन्द्र यादव प्रचण्डकै साथमा थिए ।
उपेन्द्र यादव प्रचण्डकै नेतृत्वमा सरकार होस् भन्ने पक्षमा थिए भने उनकै पार्टीका विजयकुमार गच्छदारलगायतका नेताहरू माधवकुमार नेपालको पक्षमा थिए । पार्टीमा कुरा नमिल्दा विजयकुमार गच्छदारले पार्टी नै विभाजन गरे ।
पार्टी विभाजन भए पनि उपेन्द्र यादवले प्रचण्डको साथ छाडेका थिएनन् । माधवकुमार नेपाल नेतृत्वको सरकार ढलेपछि माओवादीको सहयोगमा झलनाथ खनालको नेतृत्वमा अर्को सरकार बनेको थियो । त्यसमा पनि उपेन्द्र यादवले प्रचण्डलाई साथ दिएका थिए ।
झलनाथ खनाल नेतृत्वको सरकार ढलेपछि डा.बाबुराम भट्टराईको नेतृत्वमा सरकार निर्माण हुँदा पनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरम विभाजन भएको थियो । त्यतिबेला उपेन्द्र यादव बाबुराम नेतृत्वको सरकारमा सहभागी भएका थिएनन् तर प्रचण्डको साथ छाडेका थिएनन् ।
त्यसपछि निरन्तर रुपमा दुवै जना साथमै रहे । प्रचण्डको नेतृत्वमा विभिन्न दल मिलाएर महागठबन्धन गठन भएको थियो । त्यसमा उपेन्द्र यादवको पार्टी पनि थियो ।
आन्दोलन होस् या सरकार, उपेन्द्र यादव र प्रचण्डले एक अर्कालाई साथ दिएका थिए । संविधानमा पहिचान उल्लेख गराउन प्रचण्ड र उपेन्द्र यादवले संयुक्त रुपमा आन्दोलन गरेका थिए ।
कतिपय अवस्थामा माओवादीलाई क्षति पुर्याएर भए पनि प्रचण्डले उपेन्द्र यादवलाई सहयोग गरेको थुप्रै उदाहरण छन् । पछिल्लो समय माओवादीले पाएको आफ्नो भागको उपराष्ट्रपति उपेन्द्रको पार्टीलाई दिए । त्यतिमात्र होइन, बाराबाट उपनिर्वाचन पनि जिताएर ल्याए ।
काठमाडौँदेखि तराई मधेसमा दुवै जना एउटै मञ्चमा उभिएर संविधान निर्माणमाथि दबाव बढाइरहेका थिए । यसरी उपेन्द्र यादवलाई अप्ठ्यारो पर्दा प्रचण्डले सघाउने, प्रचण्डलाई अप्ठ्यारो हुँदा उपेन्द्रले सघाउने गरेका थिए । एउटै स्कूलिङबाट राजनीतिमा आएका हुनाले पनि हुनसक्छ, जस्तोसुकै प्रतिकूल अवस्थामा पनि उनीहरू दुवै जनाको बिचमा तालमेल भइरहेको हुन्थ्यो ।
प्रचण्डले आफ्नो नेतृत्वमा बनाएको सरकार होस् या आन्दोलनको लागि बनाएको गठबन्धन नै किन नहोस्, उपेन्द्र यादवलाई समेट्ने गर्दथे । प्रचण्ड नेतृत्वको कुनै पनि मोर्चा वा सरकार उपेन्द्रबाहेकको बनेको छैन । प्रचण्डले तीन पटक सरकारको नेतृत्व गरे । तीनै पटक उपेन्द्र यादवले प्रचण्डलाई साथ दिएका थिए ।
कतिपय अवस्थामा माओवादीलाई क्षति पुर्याएर भए पनि प्रचण्डले उपेन्द्र यादवलाई सहयोग गरेको थुप्रै उदाहरण छन् । पछिल्लो समय माओवादीले पाएको आफ्नो भागको उपराष्ट्रपति उपेन्द्रको पार्टीलाई दिए । त्यतिमात्र होइन, बाराबाट उपनिर्वाचन पनि जिताएर ल्याए ।
सप्तरीमा चुनाव हारेपछि उपेन्द्र यादव निराश भइसकेका थिए । उनका नेता तथा कार्यकर्ता पनि निराश थिए । त्यतिबेला माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले साथ नदिएको भए उपेन्द्र यादवको ‘ड्यामेज कन्ट्रोल’ हु्ने थिएन ।
बाराको उपनिर्वाचनमा आयोजित आमसभालाई सम्बोधन गर्दै माओवादीका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘आफ्नो भागको उपराष्ट्रपति दिएर उपेन्द्र यादवलाई मेलै नै बारा–२ मा चुनाव लड्न पठाएको छु ।’ त्यो अभिव्यक्तिले दुई जनाको बिचको दोस्ती प्रस्ट हुन्छ । तर अहिले दुवै जनाको बिचमा दुरी निकै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता