लुम्बिनीमा विदेशी कूटनीतिज्ञ धमाधम आउँदै, पर्यटन प्रबर्द्धनमा कस्तो प्रभाव ?
बुटवल । पछिल्लो समय गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी कूटनीतिज्ञहरू धमाधम आउन लागेका छन् ।
गत कार्तिक १४ गते संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै लुम्बिनी आएका गुटेरेसले अशोक स्तम्भ अगाडि पत्रकार सम्मेलन गर्दै विश्व शान्तिको कामना गरे ।
रुस र युक्रेनबिच युद्ध चलिरहेको बेला उनले शान्ति भूमि लुम्बिनीबाट गरेको आह्वानले विश्वव्यापी चर्चा पायो, जसले लुम्बिनीको महत्त्व थप दर्शाएको छ ।
त्यस यता नेपालस्थित विदेशी नियोगका पदाधिकारी धमाधम लुम्बिनी आइरहेका छन् । चैत ८ र ९ गते विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका महावाणिज्यदूत र सरकारी अधिकारीहरू बुद्ध जन्मस्थल लुम्बिनीमै आएर बुद्ध, शान्ति र समृद्धिका लागि एकताबद्ध रहेको सन्देश दिएका थिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपालका लागि चीनका राजदूत चेन सोङ, श्रीलङ्काली राजदूत सुदर्शना पाथिराना पनि लुम्बिनी आइसकेका छन् ।
गत शुक्रबारमात्रै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले लुम्बिनी भ्रमण गरे । केही दिनमै नेपालका लागि बेलायती राजदूत लुम्बिनी आउने योजना रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको प्रबर्द्धनका लागि पछिल्लो समय विदेशी उच्च पदस्थ व्यक्तिलाई लुम्बिनी ल्याउने उद्देश्यले काम गरिरहेका छन् ।
लामा साउन महिनामा नियुक्त भएपछि लुम्बिनीमा विभिन्न देशमा उच्च पदस्थ व्यक्तिहरू ल्याएर लुम्बिनीको प्रबर्द्धन गर्न आग्रह गर्ने काम गरेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले रातोपाटीलाई बताए ।
विदेशी आउँदा हुने विभिन्न कार्यक्रमसँगै उनीहरूले लुम्बिनी प्रबर्द्धनमा सहयोग गर्ने कार्यले लुम्बिनीको पर्यटन व्यवसायमा पनि सुधार हुँदै आएको होटेल व्यवसायी सङ्घ लुम्बिनीका अध्यक्ष गोविन्दप्रसाद ज्ञवाली बताउँछन् ।
उनले विदेशी उच्च पदस्थ व्यक्तिहरू आउँदा लुम्बिनीको बारे राम्रो सन्देश बाहिर जाने हुँदा त्यसबाट बाह्य पर्यटक वृद्धि हुने बताए ।
लुम्बिनी विकास सूचना अधिकारी डा हरिध्वज राईले विदेशी उच्च तहका पदाधिकारीहरू लुम्बिनी आएपछि उक्त देशबाट स्वाभाविक रूपमा पर्यटक बढ्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि धेरै भारतीय पर्यटक आएको स्मरण गर्दै उनले अन्य विदेशी पर्यटकहरू बिस्तारै वृद्धि हुँदै गएको बताए ।
लुम्बिनीमा पछिल्लो समय भारतले एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा बुद्ध अध्ययन केन्द्र निर्माण गर्दैछ । यस्तै अमेरिकी धर्म गुरुले पनि डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा विहार निर्माणको काम गरिरहेका छन् ।
यस्तै मलेसियाका दाताको झण्डै २ अर्बको लगानीमा विहार निर्माणको काम भइरहेको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर चिनियाँ दूतावासको सहयोगमा लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा खेलकुदसँगै चिनियाँ कलाकारहरूको प्रस्तुति समेत थियो ।
लुम्बिनी विकास सूचना अधिकारी डा हरिध्वज राईले विदेशी उच्च तहका पदाधिकारीहरू लुम्बिनी आएपछि उक्त देशबाट स्वाभाविक रूपमा पर्यटक बढ्ने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि धेरै भारतीय पर्यटक आएको स्मरण गर्दै उनले अन्य विदेशी पर्यटकहरू बिस्तारै वृद्धि हुँदै गएको बताए ।
लुम्बिनी आउने विदेशी राजदूत एवम् अन्य उच्च पदस्थ व्यक्तिलाई कोषका उपाध्यक्ष लामाले लुम्बिनीको विकास र संरक्षणका साथै भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि आग्रह गर्दै आएका छन् ।
लुम्बिनीमा विदेशी पर्यटक भित्र्याउन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित हुनुपर्ने भन्दै उनले चीन, भुटान र श्रीलङ्काजस्ता देशबाट सिधै अन्तर्राष्ट्रिय उडान गरेर बुद्ध धर्मावलम्बीलाई लुम्बिनी ल्याउन सकिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म