आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघद्वारा कोशी प्रदेश सरकारलाई दियो बजेट सुझाव

मङ्गलबार, ०१ जेठ २०८१, १७ : ३४
मङ्गलबार, ०१ जेठ २०८१

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझावहरू पेश गरेको छ । महासंघले बुधबार बसेको प्रदेश सभा अर्थ समितिको बैठकमा कृषि, औद्योगिक, व्यापारिक तथा पर्यटन क्षेत्रको विकासका लागि विभिन्न सुझावहरू राखेको हो ।

महासंघले हालसम्म परम्परागत रूपमा संचालित कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै औद्योगीकरणका लागि अनुकूल वातावरण सिर्जना गर्न सुझाव दिएको छ । यस क्षेत्रमा उच्च मूल्य अभिवृद्धि ल्याउन अर्थतन्त्रको मेरुदण्डकै रूपमा रहेको कृषिलाई आधुनिक र विज्ञानमैत्री बनाइनुपर्ने महासंघको बुँदा छ ।

लगानीमैत्री वातावरण बनाउन कर तथा शुल्कमा छुट लगायतका प्रोत्साहनहरूको व्यवस्था मिलाउन महासंघले सुझाव दिएको छ । महासंघले बजेटबाटै कृषि, उद्योग, पर्यटन लगायत विभिन्न क्षेत्रका लागि चाहिने सीपयुक्त जनशक्ति उत्पादनका लागि नीतिगत व्यवस्था गर्न प्रदेश सरकारसमक्ष आग्रह गरेको छ ।

बंगलादेशसमेत समृद्ध बजार पहुँच बढाउन भन्सार प्रक्रिया र शुल्कहरूमा सहजीकरणका लागि सुझाव दिइएको छ । यसका लागि केन्द्र सरकारसँग समन्वय गरी बहुपक्षीय वार्ताका लागि अग्रसरता देखाउन आग्रह गरिएको छ ।

कृषि उत्पादनलाई पर्यटन र उद्योगसँग आवद्ध गरी मूल्य अभिवृद्धि गर्न क्लस्टर विकास तथा उत्पादन केन्द्रहरूको स्थापनालगायत रणनीतिक कार्यक्रमहरू महासंघको सुझावमा छन् । मोरङ–सुनसरी उद्योग क्षेत्र स्थापनालाई प्राथमिकता दिइनुपर्ने सुझाव छ ।  साना तथा घरेलु उद्योग र महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथै पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखिनुपर्ने बुँदा छ ।

महासंघले औद्योगिक कर प्रणाली सुधार गरी कबाडी कर प्रणालीलाई लचिलो बनाउनुपर्ने सुझाव दिएको छ । यसका अलावा महासंघले बजेटमा नेपाल उद्योग वाणिज्य महासंघलाई अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र राजस्व वृद्धिमा सहकार्य गर्नुपर्ने सुझाव दिएको छ । साथै उद्योग वाणिज्य संघहरूमार्फत कृषि तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरूमा समेत बजेट विनियोजन गर्नुपर्ने बुँदा समेत राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप