भारतमा थोक महँगी १३ महिनाकै उच्चस्तरमा
नयाँ दिल्ली । भारतमा थोक मूल्यमा आधारित महँगी बढेको छ । वाणिज्य मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा वार्षिक आधारमा थोक मुद्रास्फीति १ दशमलव २६ प्रतिशतमा उक्लिएको छ । यो १३ महिनायताकै उच्च हो ।
मार्चमा यो दर शून्य दशमलव ५३ प्रतिशत थियो । समीक्षा अवधिमा विज्ञहरूले थोक मुद्रास्फीति दर १ प्रतिशत रहने अनुमान गरेका थिए । खाद्यान्नको मूल्यमा भएको वृद्धिका कारण थोक मुद्रास्फीतिमा यो वृद्धि भएको हो ।
बढ्यो आलु र प्याजको भाउ
अप्रिल महिनामा प्याजको मूल्य वृद्धिदर ५९ दशमलव ७५ प्रतिशत थियो जुन मार्चमा ५६ दशमलव ९९ प्रतिशत थियो । मार्चमा ५२ दशमलव ९६ प्रतिशत रहेको आलुको मूल्य वृद्धिदर गएको महिना ७१ दशमलव ९७ प्रतिशतमा पुगेको छ । एक वर्ष अघिको तुलनामा सो अवधिमा प्याजको मूल्य ५ दशमलव ५४ प्रतिशतले घटेको थियो भने आलुको मूल्य ३० दशमलव ५६ प्रतिशतले बढेको थियो ।
खाद्य पदार्थको थोक मुद्रास्फीति गएको महिना वार्षिक आधारमा ५ दशमलव ५२ प्रतिशतले बढेको छ । खाद्यान्न, बिजुली, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्यास, उत्पादित खाद्यवस्तु तथा अन्य उत्पादित वस्तुको मूल्यवृद्धिले वैशाख महिनामा थोक मुद्रास्फीति बढेको सरकारको भनाइ छ ।