आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने

मङ्गलबार, ०१ जेठ २०८१, ०८ : ००
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तीकरण गर्दै’ भन्ने नाराका साथ ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ ।

नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौँ व्यक्तिहरूका लागि फेशन, लक्जरी तथा ब्युटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन) ले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गर्न लागेको हो ।

यो वृहत् महोत्सव ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तीकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उद्देश्यले यो महोत्सव आयोजन गर्न लागिएको बताए । 

आयोजक संस्थाका संस्थापक निर्देशक शेखर राज कशजुका अनुसार यो फेस्टिभल रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यो फेस्टिभलको अधिकांश तयारी पुरा भइसकेको आयोजक संस्थाले जनाएको छ ।

नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इकमर्शमार्फत यसलाई प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रूपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यवसायिक बनाउन केही नयाँ कार्य गर्नुपर्छ भन्ने उद्देश्यले तीन दिने नेपाल फेसन फेस्टिभल आयोजना गर्न लागेको जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका सल्लाहकार तथा रुस्काज मेकअप स्टुडियो एण्ड स्कूल अफ ब्यूटिसियन आईटिसीका निर्देशक रुस्का श्रेष्ठ तथा महोत्सवका मुख्य प्रायोजक रेजभोल कस्मेटिक्सका मार्केटिङ मेनेजर रिया अवालेले महोत्सवको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारेका थिए ।

नेपालको फेसन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन, फेसन, ब्युटी, जीवनशैली तथा कलालाई अर्थपूर्ण रूपमा सहकार्य गराउने उद्देश्यले नेपाल फेसन फेस्टिभल–२०२४ आयोजना गर्ने निर्णय गरिएको हो । यो फेस्टिभल फेसन, ब्युटी, लाइफ स्टायल र आर्टको सम्मिश्रण हुनेछ ।

महोत्सवमा अल्लो फेब्रिक्स, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, स्कूल अफ ब्यूटिसियन आईटिसी, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल ९एफएचएएन०, जेबिजी बेसपोकले पनि स्टल सजाउने छन् ।

फेस्टिभलको फुड कोर्ट अन्तर्गत पनि विभिन्न स्टलहरु राखिने छन् । फुड कोर्टमा बोता, क्रेजी यतीर रुमाली घर, थान्कस नेचुरल आईसक्रिम, मीना मिसन खाद्य उद्योग, भिलेज क्याफे, इजी फ्रूट, होक्कादो, मेक्सिकन डिजाइटले आफ्नो स्टलमा स्वादिष्ट खाद्य परिकारहरु उपलब्ध गराउने छन् ।

यसबाहेक, महोत्सवका क्रममा नेपालको फेसन उद्योगको वरपर रहेर हरेक दिन दुई वटा प्यानल डिस्कन कार्यक्रम सञ्चालन हुनेछ, जहाँ फेसन उद्योगका समस्या, सम्भावना र चुनौतीहरूका बारेमा सम्बन्धी क्षेत्रका विज्ञहरूबिच विचारको मन्थन हुनेछ । महोत्सव अवधिभर कुल छ वटा प्यानल डिस्कसन हुनेछ । यसबाहेक महोत्सवमा फेसनसँग सम्बन्धी वर्कशप तथा मास्टर क्लासहरू सञ्चालन गरिँदै छ, जहाँ फेसन उद्योगमा करियर बनाउन चाहनेहरूले सिक्ने अवसर पाउनेछन् ।

महोत्सवमा हरेक साँझ फेसन रनवे आयोजना हुनेछ, जहाँ महोत्सवमै सहभागिता जनाएका बुटिक, फेब्रिक, फेसन डिजाइनरका पहिरनहरू शोकेश गरिने छ । फेसन शोमा क्याटवाक गर्ने मोडलहरु केही समयअघि अडिसनमार्फत छनोट भैसकेका छन् ।

उक्त फेसन शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरहरुले तयार पारेका पहिरनहरू प्रदर्शन गर्नका लागि झन्डै केही दर्जन नयाँ मोडलहरुलाई आयोजक संस्थाले पहिलो पटक र्‍याम्पमा प्रस्तुत गर्दै छ । 

नेपालको फेसन उद्योगसँग सम्बन्धित बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था, सौन्दर्य सामग्री उत्पादक कम्पनिसहित दर्जनौं प्रतिष्ठानहरुले सहभागिता जनाउने ‘फेसन फेस्टिभल नेपाल’ लाई ऐतिहासिक रूपमा सफल बनाउन आयोजक संस्था फेसन नेटवर्क नेपालले सबै क्षेत्रबाट साथ र सहयोगको अपेक्षा गरेका छौँ ।

समग्रमा यो महोत्सवले नेपालको फेसन उद्योगलाई चिनाउन तथा स्थापित गर्न सहयोग पुर्‍याउने छ भन्ने आयोजक संस्थाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप