सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, ३१ वैशाख २०८१, २२ : ००
सोमबार, ३१ वैशाख २०८१

आज २०८१ वैशाख ३१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा जसपा नेपाल बाहिरिएलगत्तै सरकारमा जसपा भित्रियो, प्रमुख पार्टीका शीर्ष नेतासँग सभामुखको टेलिफोन संवाद, कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पार्टी विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्रले दर्ता गराए रिट, संसदीय समितिमा रहेका विधेयक अलपत्र, तीन हजारभन्दा बढी कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण लगायत छन् ।

१. जसपा नेपाल बाहिरिएलगत्तै सरकारमा जसपा भित्रियो

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट जसपा नेपाल बाहिरिएको छ । जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । जसपा नेपाल बाहिरिएलगत्तै सोही पार्टीबाट केही दिन अघि विद्रोह गरी गठन भएको जसपाले सरकारमा ‘इन्ट्री’ पाएको छ ।

२. प्रमुख पार्टीका शीर्ष नेतासँग सभामुखको टेलिफोन संवाद

सोमबार सभामुख देवराज घिमिरेले प्रमुख पार्टीका शीर्ष नेताहरूसँग टेलिफोन संवाद गर्दै संसदमा नीति तथा कार्यक्रम पेस गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरेका हुन् ।

३. कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । उनले पेस गरेको प्रस्तावको पक्षमा ५७ मत प्राप्त भएको छ । नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक बहिस्कार गरेको थियो । 

४. पार्टी विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्रले दर्ता गराए रिट

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई बदर गर्न माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो ।

५. संसदीय समितिमा रहेका विधेयक अलपत्र

प्रतिनिधि सभाको हिउँदे अधिवेशन र बर्खे अधिवेशन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधका कारण प्रभावित भइरहेका बेला संसदीय समितिका काम कारबाहीले पनि गति लिन सकेको छैन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने एकसुत्रीय माग राख्दै संसद् ठप्प पार्दै आएको छ ।

६. तीन हजारभन्दा बढी कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

राष्ट्रिय सतर्कता केन्द्रले ३ हजार ३८६ जना निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम उनीहरुले सम्पत्ति विवरण पेस नगरेको आयोगले जनाएको छ ।

७. २४ वर्षका युवा दुई अर्बभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा पक्राउ

प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइट प्रयोग गरी उनले २ अर्ब १ करोडभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । 

८. मधेसमा सरकारका लागि हानथाप

मधेस प्रदेश सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि दुई पक्षबिच हानथाप चलिरहेको छ । सत्ता साझेदार दुई दल एमाले र माओवादी बाहिरिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वको सरकार टिकाउन पहल थालेका छन् । अर्कोतिर एमाले र माओवादीसहितका दल मिलेर नयाँ सरकार गठनको गृहकार्य पनि सुरु भएको छ । 

९. सेयर बजारमा सामान्य वृद्धि

सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २४ दशमलव ३९ अङ्कको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.२३ प्रतिशतले बढेर १९९८ अङ्कमा पुगेर रोकिएको हो ।

१०. बजेटका लागि राष्ट्र बैंकले दियो सरकारलाई सुझाव

आगामी आर्थिक वर्ष (२०८१/८२) को बजेटका लागि राष्ट्र बैंकले विभिन्न आर्थिक क्षेत्र समेटेर सरकारलाई १९० वटा सुझाव दिएको छ । खासगरी मुलुकको आर्थिक विकास र उत्पादनसँग प्रत्यक्ष जोडिएको मौद्रिक तथा वित्तीय क्षेत्रको सुधारका लागि केन्द्रीय बैंकले महत्त्वपूर्ण सुझाव दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप