बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

अर्थ समिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन : पूर्वअर्थमन्त्री पौडेल

सोमबार, ३१ वैशाख २०८१, २० : २१
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसमितिले आगामी बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गरेको प्रति असन्तुष्टि जनाएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थ समिति बजेट बनाउने निकाय नभएकाले राष्ट्र बैंकसँग बजेट सुझाव दिन बोलाएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

उनले अर्थ समिति बजेट बनाउने निकाय नभएकाले समितिले राष्ट्र बैकले अर्थ मन्त्रालयलाई दिएका सुझाव समितिलाई बुझाउनु गलत भएको बताए । उनले समितिले राष्ट्र बैंकसँग बजेटको विषयमा सुझाव माग गर्नुपर्ने आवश्यकता नभएको बताए । 

उनले भने, ‘अर्थ समिति बजेट बनाउने निकाय नभएकाले बजेटको लागि राष्ट्र बैंकबाट सुझाव किन लिने ? समितिले राष्ट्र बैंकबाट बजेटको लागि सुझाव लिन आवश्यक थिएन । छैन । समितिले राष्ट्र बैंकबाट सुझाव माग गरेको भए ठिक गरेनौँ । राष्ट्र बैंकले समितिले माग नगरी दिएको भए पनि ठिक भएन । बजेटको विषयमा सुझाव माग्ने निकाय समिति छैन ।’ 

उनले समिति सभापतिले समितिमा छलफल गर्ने विषयमा आवश्यक समन्वय गर्न आग्रह गरे । पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्न राष्ट्र बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए।  

उनले भने, ‘अर्थतन्त्र चलायमान छ भन्ने प्रक्षेपणको आधारमा व्यवसायीहरूले लगानी गर्न बैंकबाट ऋण लिए । त्यो स्वाभाविक थियो । बैंकहरुले स्वाभाविक मानेर ऋण दिएका थिए । अर्थतन्त्रले विभिन्न किसिमका समस्या बेहोर्नुपरेको छ । यस्तो विशेष परिस्थितिमा माग,उत्पादन,सप्लाई,उपभोगमा कमी भएको छ । त्यसले व्यवसायीहरूले ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको छ । साँवा ब्याज समयमा तिर्न नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ । कालोसूचीमा पर्दै गएका छन् । व्यवसायीहरूमा फ्रस्टेसनको स्थिति छ । अब कसरी उत्पादन बढाउने,रोजगारी सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने भन्दा पनि ऋणको बोझबाट कसरी बाहिर निस्कने भन्ने चिन्तामा व्यवसायीहरू छन् । यो समस्यालाई सम्बोधन गर्नको लागि सरकार र राष्ट्र बैंकले वृहत् छलफल गरेर सार्थक निष्कर्षमा पुग्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप