रवि लामिछानेका कारण दोहोरो सङ्कटमा प्रचण्ड
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दोहोरो सङ्कटमा परेका छन् । एकातिर लामिछाने संलग्न रहेको भनिएको सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति गठनको माग पूरा नगर्दा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नै नसकिने अवस्था आउने हो कि भन्ने चिन्ता प्रधानमन्त्रीमा बढेको छ । अर्कोतिर आफूले प्रतिरक्षा गर्दै आएको गृहमन्त्री लामिछानेले नै निसाना साँधेर आफूतिर लक्षित आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डमाथि अर्को सङ्कट थपिएको छ ।
गृहमन्त्री लामिछानेको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री ‘प्रचण्ड’ अप्ठ्यारोमा परेका छन् । शनिबार चितवन पुगेर गृहमन्त्री लामिछानेले सहकारी ठगीमा फरार जीवी राईलाई पहिलेको सरकारले भगाएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री प्रचण्डमाथि नैतिक प्रश्न उठेको हो ।
सहकारीमा समस्या आउँदाआउँदै जीबी राईलाई तत्कालीन सरकारले भगाएको चाहिँ किन नभन्ने भनेर गृहमन्त्री लामिछानेले प्रश्न गरेका थिए । ‘भगाइसकेको मान्छेलाई समात्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ । भाग्दाखेरी को थियो सरकारमा खोज्नुस्,’ पत्रकारलाई उनको प्रतिप्रश्न थियो ।
लामिछानेले भनेझैँ जीबी राई भागेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र माओवादी केन्द्रकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए । त्यसैले गृहमन्त्री लामिछानेले जीबी राईलाई भगाएको भनेर लगाएको आक्षेप सिधा प्रचण्ड र श्रेष्ठसँग ठोकिन्छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगीमा संलग्न जीबी राईलाई प्रधानमन्त्रीले भगाएको भए पदबाट राजीनामा दिनुपर्ने बताए । लामिछानेले लगाएको आरोप झुटो हो भने प्रधानमन्त्रीले लामिछानेलाई बर्खास्त गर्नुपर्ने उनको भनाइ छ ।
‘गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई पहिलेको सरकारले भगाएको भन्ने आरोप लगाएका छन् । पहिलेको सरकारको प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्थ्यो,’ तत्कालीन सरकारका कानुनमन्त्री समेत रहेका गुरुङले भने, ‘गृहमन्त्री लामिछानेले भनेझैँ सहकारी ठगलाई प्रधानमन्त्रीले नै भगाएका हुन् भने प्रचण्डले पदबाट राजीनामा दिनुपर्छ या त प्रधानमन्त्रीमाथि आरोप लगाउने (रवि लामिछाने)लाई बर्खास्त गर्नुपर्छ ।’
कांग्रेसका महामन्त्री गगन थापाले पनि सहकारी ठगी प्रकरणका आरोपित जीबी राई भगाएको आरोपको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताए । ‘गृहमन्त्रीले नै यसअघिको सरकारले जीबी राईलाई भगाएको आरोप लगाउनु भएको छ । योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो,’ उनले भने, ‘हामीलाई प्रधानमन्त्रीको जवाफ चाहिन्छ ।’
कांग्रेस सांसद प्रदीप पौडेलले जीबी राईलाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबिचमा फरक मत आउनुले सरकार लाचार देखिएको बताए । ‘गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सहकारी ठगीमा आरोपित व्यक्तिलाई अघिल्लो सरकारले भगाएको हो भन्ने, फेरि प्रधानमन्त्री स्वयंले त्यसको खण्डन गर्ने । गृहमन्त्रीले इङ्गित गरेका हिजोको सरकार र आजको सरकारको नेतृत्व गर्ने व्यक्ति पक्कै एउटै हुन् भने सरकारको जवाफदेहिता खै ?,’ उनको प्रश्न छ ।
यस्तो गम्भीर विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबिचको विवादास्पद अभिव्यक्तिमा प्रधानमन्त्री दोषी हो कि गृहमन्त्री भनेरसमेत उनले प्रश्न गरेका छन् ।
लाखौँ नागरिकले बचत गरेको अर्बौँ रुपैयाँ ठगी भए पनि फिर्ताका लागि सरकार जिम्मेवार नदेखिएको पौडेलको आरोप छ । ‘सरकार कहिले दोषीलाई क्लिनचिट दिन संसद्को दुरुपयोग गर्ने, कहिले राज्यका निकायको दुरुपयोग गर्ने, कहिले आफ्नै गृहमन्त्रीको अभिव्यक्तिको जिम्मेवारीसमेत लिन नसक्ने ? सरकारले कहिले आफ्नो अक्षमता त कहिले निरङ्कुशता प्रदर्शन गरेर होइन, जिम्मेवार भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन ऊर्जा खर्च गरोस्,’ उनले भने ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले लामिछानेको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीमाथि कारबाही हुनुपर्ने टिप्पणी गरेका छन् । ‘देशको बहालवाला गृहमन्त्रीज्यूले देशको बहालवाला प्रधानमन्त्रीले नै जीबी राईलाई भगाएको आरोप लगाउनुभएको छ,’ उनले भने, ‘साँच्चै देशको प्रधानमन्त्रीले जीबी राईलाई भगाएको हो भने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ ।
गृहमन्त्रीले दिएको अभिव्यक्तिमाथि सदनमा गृहमन्त्रीले नै जवाफ दिनुपर्ने शाहीको भनाइ छ । ‘राप्रपाले संसदमा यो माग गर्छ, देशको गृहमन्त्रीले नै प्रधानमन्त्रीले जीबी राईलाई भगाएको भनिसकेपछि जनताले सहकारीमा राखेका पैसा खाने ठगलाई प्रधानमन्त्रीले भगाएका हुन् भने ती प्रधानमन्त्रीलाई गृहमन्त्रीले पक्राउ पुर्जी जारी गरून्,’ उनले भने ।
लामिछानेले शनिबार चितवनमा दिएको अभिव्यक्तिले प्रश्नको घेरामा परेका प्रधानमन्त्री प्रचण्डले चितवनमै पुगेर आइतबार खण्डन गरेका छन् । जीबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्नु बेतुकका तर्क रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
भरतपुर विमानस्थलमा आइतबार अपराह्न पत्रकारहरूसँग प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेको अभिव्यक्तिप्रति लक्षित गर्दै कुतर्क कसैले पनि गर्न नहुने बताएका थिए । ‘वाहियात कुरा हो त्यो, कुतर्क कसैले पनि गर्न हुँदैन । जीबी राईलाई ल्याउनपर्छ भन्ने कुरामा सरकार प्रस्ट छ,’ उनको भनाइ थियो, ‘अघिल्लो सरकारले, प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्नु बेतुकका कुरा हुन् ।’ जीबी राईलाई नेपाल ल्याउन पासपोर्टको इस्युले गर्दा अलिकति समस्या भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
माओवादी केन्द्रका उपमहासचिव देवेन्द्र पौडेलले पनि गृहमन्त्री लामिछानेले वाहियात अभिव्यक्ति दिएको बताए । ‘गृहमन्त्रीले पहिलेको सरकारले भगायो भन्न मिल्छ ? गृहमन्त्रीको पदमा बसेकाले के बोल्ने, के नबोल्ने हेक्का राख्नुपर्छ । अहिले खोजिराखेको सरकारले पहिले किन भगाउँछ ?,’ उनको प्रश्न छ, ‘यो उही सरकार त हो ।’
माओवादी केन्द्रका अर्का पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा लामिछानेको सहकारी सम्बन्धी विषय र अभिव्यक्तिले सरकारलाई अप्ठ्यारो परिरहेको बताए । ‘प्रधानमन्त्रीले केही गरी छाड्ने हुटहुटीले नयाँ कदम उठाउनुभयो । तर, राज्य सत्ता नै रविजीको बचाउमा उत्रिनुपरेको बाध्यात्मक अवस्था छ । सरकारको वर्तमान काम र आगामी योजना ओझेलमा परेका छन्,’ ती पदाधिकारीले भने ।
कांग्रेससँगको सहकार्यले सरकार रक्षात्मक हुँदा नयाँ कोर्स लिए पनि लामिछानेको सहकारी ठगी प्रकरणले सरकार अझ बढी रक्षात्मक बन्नुपरेको उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?