मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सरकार छोड्ने निर्णय गरेका छैनौँ : झलनाथ खनाल

सोमबार, ३१ वैशाख २०८१, १९ : ०५
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन् ।  

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजहरूको छलफलका लागि सोमबार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । 

सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पारे । उनले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि मंगलबारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने पनि बताए । एकीकृत समाजवादीले मंगलवारदेखि ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

सम्मानित नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने बताए ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजहरूको बारेमा छलफल गर्न आयोजना गरिएको पोलिटब्युरो बैठक सोमबार सम्पन्न भएको छ । यसअघि पार्टीको स्थायी कमिटी बैठक बोलाइएको थियो । मंगलवारदेखि केन्द्रीय कमिटीको बैठक सुरु हुने र त्यसले ती दस्ताबेजहरूलाई अन्तिम रूप दिने एकीकृत समाजवादीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप