पश्चिम बंगालमा चौथो चरणको मतदानका क्रममा हिंसा, बम विष्फोटमा एक जनाको मृत्यु
नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालको ८ सिटमा चौथो चरणको मतदानको क्रममा विभिन्न क्षेत्रमा हिंसाको खबर आएको छ । कयौँ स्थानमा राजनीतिक दलका कार्यकर्ताबिच हिंसात्मक झडप भएको छ ।
कतिपय ठाउँमा इभिएम बिग्रिएको खबर आएको छ भने केही ठाउँमा केन्द्रीय बलका जवानले लाठीचार्ज गर्नुपरेको छ । बीरभूम जिल्लामा बम आक्रमणमा परी तृणमूल कांग्रेसका एक कार्यकर्ताको मृत्यु भएको छ । सोही जिल्लामा तृणमूल कांग्रेसका एक कार्यकर्ताले मतदान केन्द्रमा छिरेर मतदातालाई प्रभावित गरेको आरोप लागेपछि निर्वाचन आयोगले अध्यक्षलाई हटाएको थियो । यी ८ सिटमा पहिलो चार घण्टामा ३२ दशमलव ७८ प्रतिशत मतदान भएको थियो ।
चौथो चरणमा पश्चिम बंगालमा अधीर रञ्जन चौधरी, युसुफ पठान, शताब्दी राई, शत्रुघ्न सिन्हा, एस.ए. अहलुवालिया, महुआ मोइत्रा र दिलीप घोष जस्ता दिग्गजहरूको भाग्य दाउमा छ । मतदानका क्रममा स्वास्थ्य बिग्रिएर वीरभूम जिल्लामा निर्वाचन ड्युटीमा तैनाथ एक केन्द्रीय सैनिकको मृत्यु भएको छ । उनलाई रामपुरहाट सरकारी मेडिकल कलेज अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ५५ वर्षका महेन्द्र सिंह नाम गरेका ती युवक उत्तराखण्डका थिए । वीरभूम जिल्लाको बोलपुर लोकसभा सिटमा मतदान हुनुअघि तृणमूल कांग्रेसका एक कार्यकर्ताको घरेलु बम हमलामा मृत्यु भएको छ ।
मिन्टु शेख नामका ती कामदार अबेर राति घर फर्कँदै थिए । यही बेला केही अपरिचित व्यक्तिले उनीमाथि बम प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भयो । यस प्रकरणमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । दुर्गापुरमा पनि कांग्रेस र भाजपा कार्यकर्ताबिच हिंसात्मक झडप भएको छ । बीरभूममा बीजेपीले तृणमूल कार्यकर्ताहरूले मतदान केन्द्र बाहिर आफ्नो स्टल तोडफोड गरेको आरोप लगाएको थियो । मुर्शिदाबाद जिल्लाको बहरामपुर संसदीय क्षेत्रमा तृणमूल कांग्रेस र कांग्रेस कार्यकर्ताहरूबिच हिंसाको खबर आएको छ । यस सिटमा कांग्रेस प्रदेश अध्यक्ष अधीर रञ्जन चौधरी तृणमूल कांग्रेसका उम्मेदवार र अलराउन्ड क्रिकेटर युसुफ पठानसँग प्रतिस्पर्धा गर्दैछन् ।
आसनसोल सिटमा निवर्तमान सांसद र टीएमसी उम्मेद्वार शत्रुघ्न सिन्हाले पूर्व केन्द्रीय मन्त्री र भाजपा उम्मेदवार एसएस अहलुवालियासँग प्रतिस्पर्धा गर्दैछन् । बर्दवान–दुर्गापुर सिटमा तृणमूलका कीर्ति आजादले पूर्व प्रदेश भाजपा अध्यक्ष दिलीप घोषसँग प्रतिस्पर्धा गरिरहेका छन् । विभिन्न राजनीतिक दलविरुद्ध हिंसा, चुनावी धाँधली र मतदाता प्रभावबारे एक हजारभन्दा बढी उजुरी निर्वाचन आयोगमा परेका छन् । कृष्णनगर सीटबाट तृणमूल उम्मेदवार महुआ मोइत्राले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म