आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मास्टर सेफ सन्तोष साहले ललितपुरमा खोले 'मिथिला थाली' रेस्टुरेन्ट

सोमबार, ३१ वैशाख २०८१, १८ : ०१
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । मिथिला परिकार र संस्कृतिलाई प्रवर्द्धन गर्न मास्टर सेफ सन्तोष साहले ललितपुरको झम्सिखेलमा नयाँ रेस्टुरेन्ट 'मिथिला थाली' सञ्चालनमा ल्याएका छन् । करिब एक करोड ५० लाख रुपैयाँ लगानीमा आफ्नाे दाइ दिलीप र सेफ लक्ष्मणसँगको सहकार्यमा साहले मिथिला थाली सञ्चालनमा ल्याएका हुन् । 

गत वर्ष जेठ ६ गते जनकपुरबाट सुरु भएको मिथिला थालीलाई काठमाडौँमा एक वर्षपछि  सुरु गरिएको सेफ सन्तोषले बताए । 

उनले भने,'मिथिला खाना तथा कला संस्कृतिको प्रवर्द्धनका लागि मिथिला थाली सञ्चालनमा ल्याइएको हो ।' आफूले बाल्यकालदेखि नै मिथिला संस्कृति र खानपानमा रमाएको सम्झँदै अहिले यसको प्रवर्द्धनका लागि काम गरेको साहले बताए ।

IMG-20240513-WA0007

जनकपुरमा आवासीय सुविधा सहित करिब ३ करोड रुपैयाँ लगानीमा मिथिला थाली सञ्चालनमा रहेको छ । त्यही मिथिला थालीलाई ललितपुरको झम्सीखेलमा सञ्चालनमा ल्याइएको हो । 

बिहान १० बजेदेखि राति १० बजेसम्म मिथिला थालीमा रमाउन सकिन्छ । केही समयमै ब्रेकफास्ट मेनुसहित बिहानैदखि रेष्टुराँ सञ्चालनमा ल्याइने सेफ सन्तोष बताउँछन् । 

सेफ साहले डेली डाइट शीर्षकको थालीमा तीन वटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाइ लगायतका परिकार राखेका छन् । साथै मिथिला थाली ५५० रुपैयाँ अन्तर्गत चोखा, भात, घिउ रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गरेका छन् । उनका अनुसार झम्सिखेलको यो रेष्टुराँमा जनकपुरको तावा माछा पनि पाइन्छ । रेष्टुराँलाई विभिन्न प्रकारका मिथिला आर्टले सजाइएको छ । 

'हामीले मिथिला कलाकारका कलाकृतिलाई यहाँ राखेका छौँ, ग्राहकहरूले यी कला खरिद गरेर उहाँहरूलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ' उनले भने ।

यतिमात्रै नभएर मिथिला थालीमा ग्राहकले खर्च गर्ने एकदेखि तीन रुपैयाँसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूका लागि खर्च गरिने उनले बताए । यसअघि पनि उनले विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आइरहेका छन् । 

IMG-20240513-WA0008

जनकपुरमा मिथिला थालीको प्रति थाली ३ सय रुपैयाँ पर्ने गरेको छ । जसमा साढे एक दर्जन भेराइटीको मज्जा लिन सकिने  दिलीप बताउँछन् । उनले अहिले झम्सिखेलमा पनि धेरै भन्दा धेरै मिथिला परिकार खुवाउने  बताए ।  उनले मिथिला थालीमा मिथिला र तराईको मेनु सेटअप गरिएकाले धेरैले रुचाउने विश्वास रहेको बताए । उनी भन्छन्,'केही समयपछि हामीले केराका परिकार समेत राख्नेछौँ ।  क्रियटिभ तरिकाले सेटअप गरिने थालीलाई ग्राहकले मन पराउनुहुन्छ ।'

आफूलाई भान्से भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको ब्राण्डिङ गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खानाको प्रवर्द्धनले विदेशीहरूलाई समेत यसप्रति आकर्षित गर्न सकिने बताए । उनले अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनुपर्नेमा जोड दिए । 

उनी भन्छन्,'यहाँको आलुको रोटी, कडी करी लगायतलाई विश्व विजारमा लैजान सकिन्छ । भ्यालु क्रिएट गर्न सकिन्छ ।'

मिथिला थालीलाई मुलुकभित्र र बाहिर समेत विस्तार गर्ने उनीहरूको योजना छ । केही समयमै काठमाडौँको गौशला, विराटनगर र विरगञ्जमा मिथिला थाली विस्तार हुनेछ । त्यसपछि केही समयमा भारत र कतारको राजधानी दोहामा समेत मिथिला थाली विस्तार गरिने दिलिपले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप