अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा, १ लाखले अवलोकन गर्ने अपेक्षा
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जेठ १ गतेदेखि काठमाडौँमा गर्न लागेको विद्यार्थी महोत्सवको तयारी पुरा भएको जनाएको छ । जेठ १ देखि ३ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्न लागिएको विद्यार्थी महोत्सवको तयारी पुरा भएको जनाएको हो ।
काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु अध्यक्ष समिक बडालले अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गर्न लागिएको बताए ।
युवा विद्यार्थीलाई मातृभूमि प्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ मार्फत नयाँ जागरण ल्याउने प्रयास गर्न लागिएको अध्यक्ष बडालले बताए ।
उक्त महोत्सवको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ‘विद्यार्थी महोत्सव’ मा १५० भन्दा बढी शैक्षिक स्टल राखिने छन् ।
महोत्सवमा अनेरास्ववियुको इतिहास, लाइभ म्युजिक, प्रत्यक्ष परियोजनाहरू, करियर काउन्सिलिङ्ग, बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर, फुड स्टल, ई– गेमिङ्ग प्रतियोगिता, रोबोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका कार्यक्रम तथा स्टलहरू राखिएको अध्यक्ष बडालले बताए ।
‘विद्यार्थी महोत्सव’ मा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई सरकारलाई सुझावको रूपमा दिने अध्यक्ष बडालले बताए ।
‘विद्यार्थी महोत्सव’ बाट विदेशमा होइन नेपालमै उत्कृष्ट गुणस्तरीय शिक्षा छ र नेपालको शिक्षाबाट नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने खोजेको उनको भनाइ छ ।
महोत्सवमा नेपाली विद्यार्थीहरूका विज्ञान र प्रविधिसँग सम्बन्धित खोज, अनुसन्धान र नवप्रवर्तनका विषय पनि प्रर्दशनी गरिने अनेरास्ववियुले जनाएको छ । ‘विद्यार्थी महोत्सव’ विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नका लागि लाइभ म्युजिक कार्यक्रम समेत राखिएको अध्यक्ष बडालले बताए ।
जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ देखि साँझ ६ बजेसम्म सांगितिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्ने उनको भनाइ छ । महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिएको उनको भनाइ छ छ । झण्डै डेढ करोड खर्च लगाएर अनेरास्ववियुले महोत्सवको आयोजना गर्न लागेको हो ।