शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
अटो

लक्ष्मी ग्रुपको ५० वर्ष : मिठाई भण्डारदेखि हुन्डाई ‘एसेम्बल’सम्म

कसरी बन्छ नेपालमै गाडी ?
सोमबार, ३१ वैशाख २०८१, १७ : ०६
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । ५० वर्षअघि पोखराबाट सुरु भएको लक्ष्मी ग्रुपले नेपालमा नै पहिलो पटक चार पाङ्ग्रे सवारी ‘एसेम्बल’ सुरु गरेको छ । ग्रुपले २ अर्ब रुपैयाँभन्दा बढी लागतमा नवलपरासीको रामग्राममा चार पाङ्ग्रे सवारी एसेम्बल प्लान्ट स्थापना गरेर हुन्डाईका गाडी बनाउन सुरु गरेको हो ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जान श्रेष्ठका अनुसार प्लान्टबाट वर्षमा ५ हजार ४०० वटा सवारी उत्पादन गर्न सकिन्छ । ‘अर्बौँ रुपैयाँको लगानीमा बनेको उद्योग पूर्ण क्षमतामा चलाउँदा प्रतिघण्टा ३ वटासम्म गाडी उत्पादन हुन्छ,’ श्रेष्ठले रातोपाटीसँग भने । रामग्रामको १० बिघा जमिनमा स्थापित उद्योगमा तीन मोडलका सवारी उत्पादन हुन्छन् ।

उद्योगले पहिलो चरणमा भेन्यू मोडलका हुन्डाई गाडी उत्पादन गरेर सफल परीक्षण गरिसकेको छ । यसबाहेक आई १० र क्रेटा गाडी समेत उद्योगबाट उत्पादन हुनेछन् । केही वर्षपछि विद्युतीय सवारी समेत उत्पादन गर्ने लक्ष्य लक्ष्मी ग्रुपको छ । लक्ष्मी समूहले लक्ष्मी मोटर्स नामक सहायक कम्पनीको स्थापना गरेर डेढ वर्ष अघिदेखि प्लान्ट निर्माणको काम सुरु गरेको थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार लक्ष्मी मोटर्समा २०० जनाले रोजगारी पाएका छन् । रोजगारी गाडीको मागअनुसार बढ्दै जानेछ । एसेम्बल प्लान्ट स्थापना भएपछि नेपाली बजारमा आउने ‘भेन्यू’ गाडीको माग उद्योगबाटै पूर्ति गरिनेछ । 

बजारको माग आउनसाथ सवारी एसेम्बलको काम सुरु हुने र अत्यधिक माग भएमा प्रतिघण्टा ३ वटासम्म सवारी उत्पादन गर्न सकिने बताइएको छ ।

बजार मागअनुसार २४ घण्टा नै काम गर्न सकिन्छ भने सो अवधिमा दैनिक ३० देखि ३६ वटासम्म गाडी र वर्षमा ५ हजार ४०० गाडी उत्पादन हुनेछन् ।

उद्योगमा नेपालीलाई प्राथमिकता

हुन्डाईको एसेम्बल उद्योगमा सबैजसो कामदार नेपाली छन् । उद्योग स्थापना गर्ने भएपछि लक्ष्मी ग्रुपले कोरियाबाटै मान्छे बोलाएर ४/५ महिनासम्म कर्मचारीलाई तालिम दिएको थियो । तालिम दिएपछि उद्योगमा रहेका २०० मध्ये अधिकांश कर्मचारी नेपाली छन् । ‘यसबाट नेपालले समेत गाडी उत्पादन गर्न सक्छ भन्ने सन्देश विश्वमा गएको छ,’ अन्जान श्रेष्ठले भने, ‘हामीले नेपालमा नै नेपालीहरूको सिपबाट नै गाडी एसेम्बल गरेका छौँ ।’

436745721_1986815675068155_6084975071643991298_n

कसरी बन्छ नेपालमै गाडी ?

लक्ष्मी ग्रुपले भारत र कोरियाबाट समेत गरी सवारीमा जडान हुने सम्पूर्ण पार्टपुर्जा छुट्टाछुट्टै ल्याउँछ । त्यस क्रममा भारत र कोरियाबाट ११ सयभन्दा बढी पार्टपुर्जा आउने महाप्रबन्धक थपलिया बताउँछन् ।

 ‘हामी बाहिरबाट सवारीको ‘मेन बडी’सहित कभर, टायर, मेसिन लगायतका पार्टपुर्जा छुट्टाछुट्टै ल्याउँछौँ,’ थपलियाले भने, ‘ती पार्टपुर्जालाई जडान गरेर सवारी बनाउँछौँ ।’

कन्टेनरमा राखेर ल्याइने गाडीका सबै पार्टलाई उद्योगको गोदाममा झारिन्छ । त्यसपछि विभिन्न पार्टको स्वास्थ्य र ‘स्क्र्याच’ हेरिन्छ । सवारीको ‘मेन बडी’ स्क्र्याच निरीक्षणपछि एसेम्बलका लागि जान्छ । पहिलो चरणमा ‘ट्रिम’ गरिन्छ । यो चरणमा सवारीको बडी पहिचान र फिटिङ गरिन्छ भने च्यासिस जडानको अर्को चरण सुरु हुन्छ ।

च्यासिस जडान गरिएपछि टायर, मेसिन लगायत जडान गरिन्छ । यसपछि सवारीमा कभर राखिन्छ र अन्तिममा ब्रेक र च्यासिसको परीक्षण गरिन्छ । यसपछि गाडीमा पानी पस्ने/नपस्नेबारे परीक्षण हुन्छ भने त्यसपछि ‘टेस्ट ड्राइभ’ गरिन्छ । कुनै समस्या नदेखिएमा बिक्रीका लागि तयार हुन्छ भने परीक्षणमा समस्या देखिएमा समस्या समाधानका लागि फ्याक्ट्रीमा नै फर्काइन्छ ।

थपिँदै एसेम्बल उद्योग

हुन्डाईले एसेम्बल प्लान्ट स्थापना गर्नुअघि रामग्राममा दुई पाङ्ग्रे सवारीको एसेम्बल सुरु भइसकेको थियो । २०७५ सालदेखि गोल्छा समूहले बजाजका मोटरसाइकल नेपालमा एसेम्बल गर्न थालेको थियो । त्यसपछि हालसम्म यामाहा, टीभीएस, हिरो, रोयल इन्फिल्ड लगायतका दुई पाङ्ग्रे सवारी नेपालमा एसेम्बल भइरहेका छन् । र, यीमध्ये टीभीएस, यामाहा र बजाज नवलपरासीको रामग्राम क्षेत्रमा नै छन् ।

सरकारले नेपालमा नै एसेम्बल गर्ने सवारी उद्योगका लागि बजेटमार्फत नै कर छुट सुविधा दिँदै आएको छ । सवारी उत्पादनको उद्योगमा एसेम्बललाई पहिलो चरण मानिन्छ । एसेम्बलबाट सुरु भएपछि विस्तारै केही पाटपुर्जा नेपालमा उत्पादन गर्न सकिने बाटो खुल्ने सरकार र निजी क्षेत्रको विश्वास छ । सरकारले हुन्डाईलाई समेत करमा ५० प्रतिशत छुट दिएको छ ।

जसबाट मूल्यमा केही समायोजन हुने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले भने यसबारे थप अध्ययन गरेर निर्णय लिने र नयाँ मूल्य सूची सार्वजनिक गर्ने बताइरहेको छ । तर दुई पाङ्ग्रे सवारी एसेम्बल गर्दै आएका अन्य कम्पनीले भने उपभोक्तालाई मूल्यमा छुट दिएका छैनन् । महालेखाको प्रतिवेदनमा समेत पटक–पटक मूल्यमा उपभोक्ताले सुविधा नपाएको र राज्यले समेत करबापत करोडौँ रुपैयाँ गुमाइरहेको उल्लेख गरिएको छ ।

यसबाहेक अन्य चार पाङ्ग्रे सवारी समेत नेपालमा नै एसेम्बल हुनेगरी काम अघि बढिरहेको छ ।

441990002_977758454068269_2218477842820871279_n

मिठाई उत्पादनदेखि सवारी एसेम्बलसम्म

लक्ष्मी ग्रुपले आजभन्दा ५० वर्षअघि पोखराबाट व्यवसायिक यात्रा सुरु गरेको थियो । २०३० सालमा स्थापना भएको लक्ष्मी मिठाई भण्डारले निरन्तररुपमा आफ्नो व्यवसाय विस्तार गर्दै लगेर प्रतिष्ठित लक्ष्मी ग्रुपमा परिणत भइसकेको छ । व्यवसायिक यात्रा सुरु भएको ५० वर्ष पुग्दा नपुग्दै पहिलो पटक चार पाङ्ग्रे सवारी एसेम्बल नै सुरु हो ।

२०३० सालमा लक्ष्मी मिठाई भण्डार सुरु भएपछि २०३३ सालमा जयमा लक्ष्मी कन्फेक्सनरी स्थापना भएको थियो । यो लक्ष्मी मिठाई भण्डारको नयाँ स्वरूप थियो । यसपछि २०३९ सालमा लक्ष्मी लफ्टी क्यान्डीकारुपमा उद्योग दर्ता भयो भने २०४२ सालमा जय कन्फेक्सनरी स्थापना भयो । लगत्तै २०४६ सालमा जय पोलिथिन र २०४७ मा जय प्याकेजिङ उद्योग स्थापना भयो ।

यसपछि सूर्य कन्फेक्सनरी, जय चुइगम, सुजल फुड्स, सुजल प्लास्टिक्स, सुजल डेरी हुँदै २०६३ सालमा हुन्डाईको आधिकारिक डिलर बन्यो । यसपछि जयमा इन्टरकन्टिनेन्टल, लक्ष्मी कर्मसियल भेहिकल र सिद्धलक्ष्मी स्टिलहुँदै नवलपरासीको रामग्राममा लक्ष्मी मोटर्समार्फत हुन्डाईका गाडी एसेम्बल सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप