उपेन्द्रले समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लेलान् ?
काठमाडौँ । अशोक राईले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी (जसपा) गठन गरेसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन समेत फिर्ता गरेको छ । यादव नेतृत्वको पार्टी सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिए पनि प्रचण्ड नेतृत्वको सरकारले बहुमत भने गुमाइसकेको छैन ।
तर संविधानत: सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने वैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १०० मा प्रधानमन्त्रीको विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था छ । संविधानको धारा १०० को उपधारा २ र ३ मा कस्तो अवस्थामा विश्वासको मत लिनुपर्ने भन्ने प्रस्ट खुलाइएको छ ।
उपधारा २ मा भनिएको छ,‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’ संविधानको यो प्रावधान अनुसार सरकारमा सहभागी दल जसपा नेपालले समर्थन फिर्ता गरिसकेकाले प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्ताव राख्नुपर्नेछ ।
संविधानको सोही धाराको उपधारा ३ मा १ र २ बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेकामा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ । यद्यपि उपेन्द्र यादव नेतृत्वको पार्टीमा ५ मात्र सांसद रहेकाले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा भने परिसकेको छैन ।
प्रचण्डले यसअघि विश्वासको मत लिँदा प्रतिनिधि सभाका १५७ सांसदले समर्थन गरेका थिए । यही आधारमा हेर्दा उपेन्द्र पक्षका ५ सांसदले समर्थन फिर्ता लिए पनि प्रचण्ड सरकारको पक्षमा १५२ सांसद कायमै छन् । जुन २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसद भए पुग्छ । यसअघि पनि रास्वपा र जनमतले सरकारबाट समर्थन फिर्ता लिँदा प्रधानमन्त्री प्रचण्डले बहुमत कायमै रहेको भन्दै विश्वासको मत लिएका थिएनन् ।
फागुन २१ मा एमालेसहितको नयाँ समीकरण बनेपछि जसपा नेपाल गत फागुन २७ गते प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले गत फागुन २७ गते उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन नवलकिशोर साह सुडीले वन तथा वातावरण मन्त्रीको रूपमा शपथ लिएका थिए भने दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री बनेका थिए । सुडी अशोक राई नेतृत्वको जसपामा लागेर मन्त्री पद सुरक्षित गरेका छन् ।
जसपा विभाजनकै प्रभावले मधेस सरकारबाट एमाले र माओवादी केन्द्रले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणका रहेका बेला वैशाख २३ गते नेता अशोक राईले पार्टी विभाजन गरेर नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसको भोलिपल्ट निर्वाचन आयोगले नयाँ दल जनता समाजवादी पार्टीलाई फास्ट ट्रयाकमा आधिकारिकता दिएको थियो । आइतबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक र सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सो पार्टी सरकारबाट औपचारिक रूपमा बाहिरिनुका साथै समर्थन समेत फिर्ता गर्ने निर्णयमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता