सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालको वित्तीय सङ्घीयता मध्यम गतिमा सुधार

सोमबार, ३१ वैशाख २०८१, १६ : १७
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । वित्तीय सङ्घीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानुनी र संस्थागत सुधारले निरन्तरता पाए पनि यो मध्यम गतिमा रहेको पाइएको छ । विश्व बैङ्कद्वारा सार्वजनिक नेपाल वित्तीय सङ्घीयता अध्ययनको दोस्रो संस्करण २०८१ ले यस्तो देखाएको हो ।

विशेषगरी सङ्घीय राजस्व सङ्कलन घटेका कारण आर्थिक वर्ष २०७९/८० मा प्रदेश तथा स्थानीय सरकारका लागि उपलब्ध वित्तीय स्रोतमा आएको कमीसँगै आर्थिक वर्ष २०७३/७४ मा वित्तीय सङ्घीयताको सुरुवात भएयता पहिलोपटक प्रदेश तथा स्थानीय तहले वित्तीय घाटाको सामना गरेका छन् ।

तीनै तहका सरकारमा वित्तीय सङ्घीयता र सार्वजनिक वित्तीय व्यवस्थापन लगायत राजस्व सङ्कलन सुदृढ बनाउने उद्देश्यले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका प्रयास र वित्तीय सङ्घीयताको मार्गचित्र निर्माण तथा कार्यान्वयनमा समन्वय गर्न अर्थ मन्त्रालय मातहत वित्तीय सङ्घीयता समन्वय महाशाखा स्थापना गरिएको छ ।

‘यस अध्ययन प्रतिवेदनले नेपालको वित्तीय सङ्घीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गरेको छ,’ मुख्य सचिव वैकुण्ठ अर्यालले भने, ‘प्रतिवेदनले दिएका सुझावहरू हाम्रो राष्ट्रिय विकासको दुरदृष्टिसँग राम्रो तादात्म्यता मिल्नुका साथै प्रदेश तथा स्थानीय 

सरकारहरूलाई प्रभावकारी रूपमा आ–आफ्ना जिम्मेवारी बहनका लागि टेवा पुर्याउन वित्तीय हस्तान्तरणलाई सहज बनाएका छन् ।’

नेपाल वित्तीय सङ्घीयता अध्ययनको पहिलो संस्करणमा आधारित रही यस दोस्रो संस्करण २०८१ ले नेपालमा वित्तीय सङ्घीयताका प्रमुख स्तम्भहरूको गहन विश्लेषण गरेको छ । ती स्तम्भहरूमा राजस्व जिम्मेवारी तथा प्रशासन, खर्च जिम्मेवारी तथा प्रशासन, अन्तर–सरकारी वित्त हस्तान्तरण, ऋण तथा पुँजी लगानी र प्राकृतिक स्रोतबाट प्राप्त हुने वित्तीय राजस्व छन् ।

यस संस्करणले अन्तर–सरकारी वित्त हस्तान्तरण प्रणालीलाई स्तरोन्नति गर्न र प्रमाणमा आधारित निर्णय प्रक्रिया तथा पारदर्शिता अभिवृद्धि गर्न प्रदेश तथा स्थानीय तहको तथ्याङ्क समावेश गर्ने एउटा एकीकृत सार्वजनिक वित्तीय व्यवस्थापन कार्यसम्पादन डाटाबेस स्थापना गर्न विशिष्ट सुझाव दिएको छ । ‘प्रतिवेदनले अन्तर–सरकारी वित्त हस्तान्तरण प्रणालीको संस्थागत व्यवस्थालाई थप आवश्यकतामा आधारित र समयसापेक्ष बनाउन जोड दिएको छ,’ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले भने ।

‘वित्तीय सङ्घीयता प्रदेश तथा स्थानीय सरकारहरूका लागि दिगो सेवा प्रवाहको एउटा महत्त्वपूर्ण आधार हो,’ नेपाल मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘ यसका निम्ति सङ्घीयताको मर्मअनुरूप प्रदेश तथा स्थानीय तहमा पर्याप्त वित्तीय स्रोत र खर्च गर्ने निर्णय क्षमता हुनु आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप