शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

नीति तथा कार्यक्रमबारे देउवा र लामिछानेलाई सभामुखको टेलिफोन

सोमबार, ३१ वैशाख २०८१, १६ : ५०
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । 

सोमबार देउवा र लामिछानेसँग टेलिफोन गरेर सभामुख घिमिरेले संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्दै राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कूटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल समेत गरेका छन् । 

त्यसक्रममा कांग्रेस सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताएका छन् । सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारु हुने भन्दै प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने धारणा राखेका छन् । 

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राखेका छन् । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिए । सभामुखले सोमबार नै प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षसँग छलफल गरिसकेका छन् । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप