शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
फैसलाको पूर्णपाठ

सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्‍यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’

सोमबार, ३१ वैशाख २०८१, १५ : १७
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । सर्वोच्च अदालतले चिट्ठा पर्‍यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराधमा नभएर ठगीमा मात्र सजाय हुने व्याख्या गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो व्याख्या गरेको हो । भगवानलाई देखाएर अनि तपाईंलाई चिट्ठा पर्‍यो भनेर ठगी गर्ने भारतीय र पाकिस्तानी समूहको एक मुद्दामा सर्वोच्चले अन्तिम फैसला सुनाउँदै उनीहरूलाई सङ्गठित अपराध नभइ ठगीमा सजाय हुने फैसला सुनाएको हो ।

सर्वोच्चले यसरी ठगी गर्नेहरूलाई ५० हजार जरिवाना र एक वर्ष कैद हुने फैसला सुनाएको छ । महमद आदील खान, अहमद अदीफ, शेख महबुल हक र मनिर मियाँ मिलेर ठगी गरेका थिए ।

यस्तो थियो घटना

भारत घर भएका चार जना मिलेर नेपालीलाई ठगी गरी पैसा कमाउने योजना बनाए । उनीहरूले आफ्नो योजना अनुसार नेपालको दुरसञ्चार प्रदायक कम्पनीको नम्बरहरू छनौट गरी फोन र एसएमएस मार्फत सम्पर्क गर्न थाले ।

उनीहरूले सुरुमा तपाईंलाई भगवानको कृपा छ, त्यसैले २५ लाखको लक्की ड्रमा छनौट हुन सफल हुनु भयो भनी फोन गर्ने वा सन्देश पठाउन थाले । यसरी सन्देश पठाउँदा जवाफ आउनेहरूलाई उनीहरूले निसाना बनाउने गरेका थिए ।

त्यस्तै फोन सम्पर्क मार्फत भनेका व्यक्तिहरूमध्ये जसले धेरै प्रश्न सोध्दैन र कहाँ कसरी सम्पर्क राख्ने भनी चासो दिन्छ, उनीहरूलाई गिरोहले निसाना बनाउने गरेको थियो । यही क्रममा २०७१ सालमा मिना कुमारीलाई पनि यही प्रक्रिया अन्तर्गत गिरोहले ठगी गरेको थियो । उनलाई १५ लाखको लक्की ड्रको पैसा प्राप्त गर्नका लागि ५० हजार रुपैयाँ एसबीआई बैंकको खातामा जम्मा गर्न लगाएका थिए ।

जब रकम जम्मा भयो, अनि उनीहरू सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि मात्र मिना कुमारीले आफू ठगिएको थाहा पाइन् । लगत्तै उनले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

विद्युतीय माध्यमले ठगी गरेकाले सङ्गठित हैन, ठगीमा मात्र सजाय

मिनाजस्तै अन्य व्यक्तिलाई पनि उनीहरूले आफ्नो जालोमा पारी ठगी गरेको प्रहरीले अनुसन्धानमा पत्ता लगायो । प्रहरीले सरकारी वकिललाई पत्र बुझाउँदै उनीहरूमाथि सङ्गठित अपराधमा माग दाबी गर्दै मुद्दा दायर गर्‍यो ।

‘तर प्रस्तुत विवादमा यी प्रतिवादीहरूको कुनै सङ्गठित समूह भए वा नभएको, यी प्रतिवादीहरू यसअघि यस्तै प्रकृतिको अन्य आपराधिक कार्यमा संलग्न रहे नरहेको, यी प्रतिवादीहरू बिच निरन्तर संवाद रहे नरहेको वा यिनीहरू बिचमा कुनै उद्देश्यका लागि काम गरेको तात्विक सम्बन्ध देखिएको वा नदेखिएको विषयका सम्बन्धमा तथा यी प्रतिवादीहरूले सङ्गठित अपराध गरेको भनी त्यस विषयमा केन्द्रित भएर गहिरो अनुसन्धान समेत भएको मिसिल संलग्न कागजातबाट नदेखिएको अवस्थामा यी प्रतिवादीहरूले सङ्गठित रुपमा नभइ सामान्य समूहगत रुपमा विद्युतीय कारोबारमार्फत गरेको कसुरलाई सङ्गठित अपराधको कसुरको रुपमा लिइ सङ्गठित अपराध गरे भनी भन्न सकिने स्पष्ट आधार मिसिल संलग्न कागजातबाट देखिँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

विद्युतीय माध्ययबाट सङ्गठित गिरोह वा समूह बनाइ विभिन्न व्यक्तिहरूसँग सम्पर्क स्थापित गरी विभिन्न बहाना देखाइ चिट्ठा वा लक्की ड्र मार्फत ठुलो रकम पाउने भनी आश्वासन दिलाइ निजहरूबाट केही रकम अग्रिमरुपमा लिइ व्यवस्थित रुपमा व्यापक तथा विस्तृत तबरबाट ठगी गर्ने कार्य सङ्गठित अपराध अन्तर्गत पर्न सक्ने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ ।

‘सङ्गठित तबरबाट हुने ठगीको कार्यमा विस्तृत योजना तथा लामो समयसम्मको प्रयासबाट पीडितसँग पटकपटक सम्पर्क गरी विभिन्न व्यक्तिले फरकफरक भूमिका निर्वाह गरी पीडितलाई आर्थिक रुपमा क्षति पुर्‍याइ ठगीको कार्य सम्पन्न गर्ने गरेको पाइन्छ,’ फैसलामा भनिएको छ । तर प्रस्तुत विवादका सम्बन्धमा ठगी गर्नका लागि यी प्रतिवादीहरूले त्यस्तो विस्तृत योजना बनाएको भन्ने नदेखिएको अदालतको ठहर छ ।

‘निजहरूको कुनै सङ्गठित समूह नभएको, फरक फरक व्यक्तिहरूको फरक फरक भूमिका भएको भन्ने नदेखिएको अवस्थामा यी प्रतिवादीहरूले समान्य अनौपचारिक समूह मार्फत गरेको ठगीको कार्यलाई सङ्गठित अपराध भनी मान्न सकिने अवस्था देखिँदैन ।’

विभिन्न बैंकहरूमा रहेको विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गर्न लगाइ नेपालको विभिन्न बैंकहरूको एटीएम बुथहरूबाट रकम निकालेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई २०७१ माघ २० गते वीरगञ्ज उपमहानगरपालिकाबाट पक्राउ गरेको थियो ।

उनीहरूले नेपाली व्यक्तिहरूसँग मिलोमतो गरी सामूहिक रुपमा नेपाल, भारत र पाकिस्तानको समेत मोबाइलबाट सोझासाझा नेपालीहरूलाई फोन तथा एसएमएस गरी सङ्गठित रुपमा तपाईंलाई भगवानको आशीर्वादले लक्की ड्र मार्फत चिट्ठा परेको छ भनी पठाउने अनि रकम पठाउन लगाएर ठगी गर्दै आएका थिए ।

उनीहरूले लक्की ड्रमा २५ लाखको पुरस्कार परेको छ भनी सन्देश पठाउने अनि नेपालीहरूलाई उल्टै बैंक खातामा रकम जम्मा गराउन लगाएर ठगी गर्ने गरेका थिए । जाहेरीमा आफूलाई २५ लाखको लक्की ड्र परेको भनी सन्देश पठाएको अनि ५० हजार रुपैयाँ जम्मा गर्न भनेकोमा विश्वासमा परेर ५० हजार पठाएपछि उनीहरू सम्पर्कविहीन भएको उल्लेख थियो ।

प्रतिवादीहरू महमद आदील खान, शेष महबुल हक, अहमद अली र मनिर मियाँ मिलेर ठगी गरेका थिए । चार जना मिलेर सङ्गठित रुपमा अपराध गरेकाले सङ्गठित अपराध अन्तर्गत कारबाही हुुनुपर्ने अभियोगपत्रमा माग गरिएको थियो ।

जाहेरीपछि प्रहरीले अनुसन्धान गर्दा महमद आदील खानले खोलेको खातामा ४ लाख ८० हजार रकम फेला परेको थियो । प्रहरीले आफूहरूको धन्दा थाहा पाएर पक्राउ परेपछि उनीहरूले एक अर्कालाई देखाउँदै बयान गरेका थिए ।

‘माथिका प्रकरणहरूमा विवेचित आधार, प्रमाण तथा कानुनी व्यवस्था समेतबाट यी प्रतिवादीहरूले जाहेरवाला मिना कुमारी लगायतका मानिसहरूलाई चिट्ठा परेको भनी मोबाइल फोनबाट पटकपटक सम्पर्क गरी झुठो आश्वासन दिइ गलफतमा पारी यी प्रतिवादीहरूले दिएको बैंक खातामा पीडितहरूलाई पैसा जम्मा गर्न ललाइफकाइ गरी आर्थिक लाभ लिए खाएको कार्य मुलुकी ऐन ठगीको महलको १ नं. बमोजिमको कसुर हुने देखिँदा सुरु जिल्ला अदालतबाट प्रतिवादीहरू उपरको अभियोग दाबी नपुग्ने देखिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

प्रतिवादीहरूलाई मुलुकी ऐन ठगीको महलको १ नं. को कसूरमा ऐ. महलको ४ नं. बमोजिम जाहेरवालालाई ठगी गरेको अभियोगमा दोषी ठहर गर्दै जनही ५० हजार जरिवाना र एक वर्ष कैद हुने फैसला सर्वोच्च अदालतले सुनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप