बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

ललितपुर मेयर महिला क्रिकेट : एपीएफ क्लबको लगातार दोस्रो जित

सोमबार, ३१ वैशाख २०८१, १२ : ४४
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सफलता हात पारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई आठ विकेटले हराएको हो । 

जारी प्रतियोगितामा एपीएफ क्लबको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले हराएको थियो । बागमतीको भने यो दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा बागमतीको टोली ललितपुर मेयर–११ सँग सात विकेटले पराजित भएको थियो । 

एपीएफ क्लब चार अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दोस्रो स्थानमा आसिन सुदूरपश्चिम प्रदेशले एक खेलबाट दुई अंक बटुलेको छ । ललितपुर मेयर–११ दुई खेलबाट दुई अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ । 

सोमबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने ११ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।

एपीएफ क्लबको जितमा ओपनर ममता चौधरीले अविजित ३५ रनको योगदान गरिन् । उनले ३२ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । कप्तान सीता रानामगरले १० बलमा दुई चौकाको मद्दतले ११ रन बनाइन् । 

ईन्दू बर्माले पनि टोलीको खातामा १७ रन थपिन् । उनले १२ बलमा तीन चौका प्रहार गरिन् । राजमती ऐरी १० रनमा अविजित रहिन् । बागमती प्रदेशकी बलर खुशी डंगोलले एक विकेट लिइन् । एपीएफकी एक ब्याट्र भने रन आउट भएकी थिइन् । 

त्यसअघि पहिलो ब्याटिङ गरेको बागमतीका लागि ओपनर हेलिसा गुरुङले ३१ रन बनाएकी थिइन् । उनले ५० बलको सामना गरी तीन चौका पनि हिर्काइन् । खुशी डंगोलले अविजित १४ रन बनाइन् । उनले २२ बलमा एक चौका प्रहार गरिन् । 

बागमती प्रदेशका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । एपीएफ क्लबका बलर करुणा भण्डारी एक्लैले चार विकेट लिइन् । उनले चार ओभरमा केवल १० रन खर्चिइन् । उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन् । सीता रानामगरले पनि दुई विकेट हात पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप