बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

पीसीबीका पूर्वअध्यक्ष भन्छन्, ‘विश्वकपमा अमेरिकाले पनि पाकिस्तालाई हराउलाजस्तो छ’

सोमबार, ३१ वैशाख २०८१, १२ : २४
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको मिति नजिकिँदै गर्दा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष रमिज राजा आफ्नो टोलीको पछिल्लो प्रदर्शनबाट निकै असन्तुष्ट देखिएका छन् । पीसीबीका वर्तमान पदाधिकारीले भने पछिल्लो समय पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन गरिएको दाबी गर्दै आएका छन् । 

यसबिचमा बाबर आजमलाई फेरि पाकिस्तानी टोलीको कप्तान बनाइएको छ । सिमित ओभरको प्रतियोगिताका लागि गेरी क्रस्टनलाई प्रशिक्षक नियुक्त गरिएको छ । टोलीको प्रशिक्षणमा पनि विशेष ध्यान दिइएको दाबी पीसीबीका अधिकारीले गर्दै आएका छन् । 

तर, पीसीबीका पूर्वअध्यक्ष रमिज राजा भने पछिल्लो समय पाकिस्तानी टोलीको स्तर निकै खस्किएको दाबी गर्छन् । अझ आयरल्यान्डविरुद्धको टी–२० शृंखलाबाट त उनी अझ चिढिएका छन् । गत शुक्रबार खेलिएको शृंखलाको पहिलो खेलमा पाकिस्तानी टोली आयरल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो ।

उक्त नतिजापछि पाकिस्तानी टोलीका पूर्वखेलाडी समेत रहेका रमिज राजाले आफू निकै निराश भएको टिप्पणी गरेका छन् । उनले आईसीसी टी–२० विश्वकपका लागि पाकिस्तानी टोलीको तयारीलाई लिएर पनि गम्भीर प्रश्न उठाएका छन् । 

उनी भन्छन्, ‘हामी टी–२० विश्वकपको सँघारमा उभिएका छौँ । हाम्रो टोली भने कुनै पनि हालतमा सन्तुलित देखिँदैन । टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक छ । ओपनर ब्याट्सम्यानको प्रदर्शन देख्दा दुःख लाग्छ । अन्य ब्याट्सम्यानको प्रदर्शन पनि चित्त बुझ्दो देखिँदैन । यस्तो स्थितिमा हामीले विश्वकप जित्ने सपना नदेखे हुन्छ ।’

पूर्वअध्यक्ष रमिज राजाका अनुसार, अहिलेको प्रदर्शनले पाकिस्तानी टोली विश्वकपको सेमिफाइनलसम्म पुग्ने सम्भावना पनि देखिँदैन । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

विश्वकपमा पाकिस्तानी टोली समूह ‘ए’ मा परेको छ । त्यो समूहमा चिर प्रतिद्वन्द्वी भारत, क्यानडा, आयरल्यान्ड र आयोजक अमेरिका पनि रहेका छन् । ‘हाम्रो टोलीको प्रदर्शन यस्तै रहने हो भने आगामी विश्वकपमा अमेरिकाले पनि हामीलाई हराउने छ । किनभने अमेरिकी टोलीमा अहिले भारतीय र पाकिस्तानी मूलका खेलाडीको वाहुल्य रहेको छ,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप