मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

मधेसमा उपेन्द्र यादव चाहन्थे जेठ १३ गतेसम्म एमाले र माओवादीको साथ

सोमबार, ३१ वैशाख २०८१, १२ : ११
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सङ्घ र मधेस सरकारमा पनि असर देखिन थालेको छ । जसपा नेपालले नेतृत्व गरेको मधेस सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिइसकेका छन् भने सङ्घीय सरकारबाट जसपा नेपाल बाहिरिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी जोगाइदिन पटकपटक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष आग्रह गरेका थिए । प्रचण्ड र ओलीलाई भेटेर पार्टी विभाजनपछि निर्वाचन आयोगले दिएको सनाखतको अवधिसम्म मधेस सरकारबाट समर्थन फिर्ता नलिन यादवले आग्रह गरेको एमाले निकट स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘एमालेका अध्यक्ष ओलीलाई उपेन्द्र यादवले बरु सङ्घीय सरकारलाई समर्थन कायम राखेर मन्त्रीबाट राजीनामा दिन्छु तर मधेस सरकारलाई जेठ १३ गतेसम्म नचलाइदिनु भन्ने आग्रह गर्नुभएको थियो ।’

पार्टी विभाजन हुने बित्तिकै माओवादी र एमालेले मधेस सरकारबाट समर्थन फिर्ता लिन तम्सिएका थिए । तर अध्यक्ष यादवको पहिलो प्रयासबाट त्यो रोकिएको थियो ।

मधेस प्रदेशका एक जना एमाले नेताले भने, ‘जसपा अध्यक्ष उपेन्द्र यादवजीले हाम्रो अध्यक्षलाई भेटेर निर्वाचन आयोगले तोकेको सनाखतको समयसम्म मधेस प्रदेशको सरकार नचलाउन आग्रह गर्नुभएको थियो, त्यही कारणले त्यतिबेला एमाले र माओवादी पछाडि हटेका थिए ।’ 

जसपाका प्रवक्ता मनिष सुमनले पार्टीका अध्यक्ष सरकारमा उपप्रधानमन्त्री भएको कारण प्रधानमन्त्रीसँग भेट गर्नु अनौठो नभएको बताए । एउटा पार्टीको अध्यक्षले अर्को पार्टीको अध्यक्षसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न पनि भेट गर्नु स्वाभाविक हुने उनको भनाइ छ । तर एमालेका अध्यक्ष केपी ओलीलाई जसपा नेपालका अध्यक्ष यादवले भेटेकोमा आफूलाई विश्वास नलागेको सुमनको भनाइ छ ।

उनले भने, ‘उपेन्द्र यादव सरकार जोगाउनका लागि कसैलाई हारगुहार गर्ने व्यक्ति होइन, बरु नेताहरूलाई भेटेर आफ्नो पार्टी किन फुटाएको भनेर सोधेको हुन सक्छ, तर पार्टी जोगाउन हारगुहार गरेको भन्ने कुरा सत्य होइन ।’

यता, एमाले र माओवादी केन्द्रले मधेस प्रदेशबाट समर्थन फिर्ता लिन ढिलाइ गरेपछि अशोक राई नेतृत्वको जसपाले सङ्घीय सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।

जसपाका नेताहरूले एमालेका अध्यक्ष ओलीलाई भेटेर मधेस प्रदेश सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता नलिए आफूहरूले सङ्घ सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएपछि आइतबार मधेस सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएको बताइएको छ ।

यद्यपि जसपाका उपमहासचिव प्रदीप यादवले आफूहरूले मधेस सरकारको बारेमा कसैसँग, कुनै दलसँग कुराकानी नगरेको दाबी गरे ।

‘यो विषयमा कसैसँग भेटघाट छैन, हामीले अहिले सरकारलाई समर्थनमात्र गरेका छौँ, सरकार गिराउने र बनाउनेसँग मतलब छैन,’ उनले भने, ‘निर्वाचन आयोगले सनाखतको समय दिएको छ, त्यो समयपछि पार्टीको के अवस्था हुन्छ, त्यसपछि मात्र हामीले आफ्नो रणनीति बनाउँछौँ, अहिले हामी चुपचाप छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप