सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
पूर्वाधार

सुनकोशी–मरिन डाभईभर्सन : सुरुङ ब्रेकथ्रुपछि के–के काम अझै छन् बाँकी ?

अर्थतन्त्रमा कस्तो प्रभाव पार्नेछ ?
सोमबार, ३१ वैशाख २०८१, ११ : ०२
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेकथ्रु’ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोजनाले आर्थिक गतिविधि गुणात्मक रूपमा बढ्ने बताएका छन् । २०७६ सालमा स्वीकृत भएको आयोजनाको निर्माणको शिलान्यास २०७७ साल फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । आयोजनाको निर्माण २०८४ सालको असोजमा सक्ने लक्ष्य राखिएको छ ।

यो आयोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा छ । आयोजना सम्पन्न भएसँगै सिँचाइ, खानेपानी र बिजुली उत्पादन हुनेछ । यस्तै सरकारले यो आयोजनालाई रूपान्तरणकारी आयोजना समेत भन्दै आएको छ ।

२०७९ असोज सालदेखि खन्ने काम तोकिएको समयभन्दा अगावै सकिएको छ । सुरुङ खन्ने काम १९ महिनामा नै सम्पन्न भएको आयोजनाले बताएको छ । कूल १३.३ किलोमिटर र ५.५ मिटर चौडाइ भएको सुरुङ खन्ने काम २०८२ सालको भदौमा सक्ने लक्ष्य थियो । तर निर्माणकर्ता कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सनले ‘अटोमेटिक टनेल बोरिङ मेसिन’ (टीबीएम) मार्फत सुरुङ खनेर समयभन्दा अगावै सकेको हो ।

सुरुङको ‘ब्रेकथु’ सम्पन्न भइसकेपनि आयोजना निर्माणको काम धेरै बाँकी छ । जसमध्ये पहिलो चरणको सुरुङ मात्रै खनेर सकिएको हो । ‘ब्रेकथ्रु’ भए पनि अहिले नै सुरुङमा पानी हाल्न मिल्दैन । ‘सुरुङलाई वारपार मात्रै गरिएको हो,’ आयोजना प्रमुख मित्र बराल भन्छन्, ‘यो सुरुङको कूल कामको ९० प्रतिशत मात्रै हो ।’ वारपार छेडिएसँगै अब सुरुङलाई एक्स-रे गरिन्छ । जुन बाँकी १० प्रतिशत काम भित्र पर्छ ।

बरालका अनुसार अब १३ दशमलव ३ किलोमिटर लामो सुरुङमा ‘ग्राउन्ड पेनिट्रेसन राडार सर्भे’ गरिन्छ । यसो गर्दा सुरुङ भित्रको भौगोलिक बनावटबारे जानकारी मिल्छ । एक्स-रे गरेपछि सुरुङको कुन क्षेत्रमा पानीको कति प्रेसर पर्दा चुहावट र क्षति हुन्छ भन्ने जानकारी मिल्छ । यसपछि पानीले क्षति पुर्‍याउने सुरुङको कमजोर क्षेत्रमा ‘केमिकल’ र ‘सिमेन्ट’मार्फत ‘ट्रिटमेन्ट’ गरिन्छ । यो चरणको ‘ट्रिटमेन्ट’बाट पनि कमजोर क्षेत्र मजबुत बनेन भने ‘ड्रेन ट्रिटमेन्ट’ गर्नुपर्छ ।

यसपछि चुहावट हुने कमजोर भूभाग मजबुत बन्छ र सुरुङ भित्र पानी चुहावट हुँदैन । यी नै कामहरू सुरुङको सम्पन्न हुन बाँकी १० प्रतिशत कामको सूचीमा पर्छन् । 

आयोजनाले निर्माणको कामलाई चार चरणमा विभाजित गरेको छ । सुरुङ खन्ने र यसमा पानी हाल्ने गरी निर्माण गर्नु पहिलो चरणमा पर्छ । यसपछि पानी जम्मा गर्ने ब्यारेज र पारवहाउस निर्माणको काम दोस्रो चरणमा छन् ।

तेस्रो चरणमा ३१ मेगावाटभन्दा बढी बिजुली उत्पादन र चौथो चरणमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारणलाइनमा जोड्न ४४ किलोमिटर लामो प्रशारणलाइन निर्माण पर्छ । र, उत्पादित बिजुली नवलपुरको सब स्टेसनमा जोडिन्छ । यसपछि आयोजनाको पूर्ण निर्माण सकिन्छ र पूर्णरुपमा आर्थिक गतिविधिमा केन्द्रित हुन्छ । हालसम्म सम्पूर्ण आयोजनाको कूल भौतिक प्रगति भने ३० प्रतिशत छ ।

सुरुवातमा ४६ अर्ब १२ करोड रुपैयाँको लागत अनुमान गरिए पनि निर्माण सकिँदासम्म लागत अनुमान बढेर ४९ अर्ब ४२ करोड पुगेको छ । प्रधानमन्त्री दाहालले भनेजस्तै आयोजनाको निर्माण पूर्ण रूपमा सकिएपछि भएपछि देशको समग्र अर्थतन्त्रमा यसले चौतर्फी योगदान दिनेछ ।

  • आयोजनाले अर्थतन्त्रमा कस्तो प्रभाव पार्नेछ ?

आयोजनाले सुनकोशी नदीबाट ६७ क्यूमेक पानी पथान्तरण गरेर मरिन नदी हुँदै बागमती सिँचाइ आयोजनाको ब्यारेजमा पठाउँछ । २०५० सालमा नै बनेको यो ब्यारेजमा सुनकोशी–मरिनबाट पठाइने १ लाख २२ हजार हेक्टर जमिनलाई वर्षैभरि सिँचाइ गर्ने पानी जम्मा गर्ने क्षमता छ । आयोजनाले पठाउने पानीले वर्षैभरि बारा, रौतहट, सर्लाही, धनुषा र महोत्तरीमा सिँचाइ हुनेछ । जसबाट कृषि क्षेत्रमा ती ५ जिल्लामा उल्लेख्य उत्पादकत्व बढाउने अपेक्षा गरिएको ।

वर्षैभरि सिँचाइ गर्न मिल्ने भएपछि त्यस क्षेत्रका किसानले प्रतिवर्ष १० अर्ब ३० करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण आयोजनाको छ । तर यसका लागि कृषिजन्य वस्तुको बिउबिजन समेत सहज रूपमा उपलब्धता हुनुपर्नेछ । यसबोहक कोशीको पानी पथान्तरण गरेर मरिनमा खसाल्दा ३१ मेगावाट बिजुली समेत उत्पादन हुनेछ । मरिनमा खसाल्ने स्थानमा पावरहाउस निर्माण गरेर ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

394725307_742933931181663_7148858767668575673_n

सिँचाइसहित बिजुलीसमेत उत्पादन हुने भएकाले यो आयोजनालाई बहुउद्देश्यीय भनिएको हो । बिजुली उत्पादनबाट वार्षिक १ अर्ब ५५ करोड रुपैयाँ आम्दानी हुनेछ । कृषि क्षेत्र र बिजुली गरी वर्षमा आयोजनाबाट ११ अर्ब ८५ करोड रुपैयाँको योगदान अर्थतन्त्रमा प्रत्यक्ष रूपमा दिने बताइन्छ । यसबाहेक, सुरुङबाट लगिने सुनकोशीको ६७ क्यूमेक पानीमध्ये ३ क्यूमेक पानी खानका लागि छुट्याउने गरी अध्ययन भइरहेको छ ।

यो अध्ययन सकिएपछि सिन्धुलीसहित तराईका जिल्लामा खानेपानीको समस्या समेत सधैँका लागि समाधान हुने आयोजना प्रमुख बराल बताउँछन् । कृषियोग्य जमिनका रूपमा रहेको तराईका ५ जिल्लामा सिँचाइ पुगेपछि खेती बढ्ने नै छ । यसबाहेक बिजुली उत्पादन र केही जिल्लाको खानेपानी समस्या समाधान हुनुका साथै आयोजनाले पर्यटन गतिविधि समेत बढाउने आयोजनाको विश्वास छ ।

यता सुनकोशी नदीमा १८ किलोमिटर अग्लो ड्याम बन्नेछ । यससँगै दोलखाबाट बगेर आउने तामाकोशी नदीतर्फ ६ दशमलव २ किलोमिटर परसम्म पानी जम्छ । यस्तै सुनकोशीतर्फ २ किलोमिटरभन्दा लामो क्षेत्रमा पानी जम्छ । यससँगै त्यस क्षेत्रमा ठुलो ड्याम बन्ने र पर्यटन क्षेत्र चलायमान बन्ने आयोजनाको विश्वास छ ।

तर, यसको आधिकारिक अध्ययन भने भइसकेको छैन । आयोजना प्रमुख बराल भन्छन्, ‘अहिले गढी र खुर्कोट क्षेत्र भारतीय पर्यटकले भरिएका छन् । सुनकोशीमा ड्याम बनेपछि त्यस क्षेत्रमा पर्यटन पूर्वाधारमा लगानी हुनेछ नै ।’ ‘भारतको विहार र उत्तर प्रदेशका पर्यटक मात्रै केन्द्रमा रहे पनि धेरै चहलपहल बढ्नेछ,’ बरालले थपे, ‘अहिले नै अंग्रेजलाई नेपालीले हराएको ठाउँ गढी हेर्न आउने भारतीयको ओइरो छ ।’

Q1_2080_81_SMDMP_RTI-2

  • कस्तो छ आयोजनको प्रगति ?

आयोजनाको निर्माण सुरु भएको धेरै भएको छैन । २०८४ असोजमा निर्माण सक्ने लक्ष्य लिइएको आयोजनाको शिलान्यास २०७७ साल फागुन २० गते भएको थियो । त्यसयता आयोजनाको कूल भौतिक प्रगति ३० प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति २८ प्रतिशत छ । यो ४९ अर्ब ४२ करोडमध्ये १३ अर्ब ६८ करोड खर्च भइसकेको हो ।

चालू वर्षमा भौतिक प्रगति १२५ प्रतिशत र वित्तीय प्रगति ९२ प्रतिशत छ । ‘चालू वर्षलाई छुट्याइएको रकम नपुगेपछि अर्थ मन्त्रालयमा १ अर्ब ४० करोड बजेट माग गरिएको छ,’ आयोजना प्रमुखले भने । निर्माणकर्ता चिनियाँ कम्पनीले ३६ प्रतिशत घटेर सुरुङको निर्माण ठेक्का पाएको थियो । १५ अर्ब ५९ करोड लागत अनुमान गरिएको सुरुङ खन्ने काम चिनियाँ कम्पनीले १० अर्ब ५ करोडमा ठेक्का लिएको थियो ।

353843122_665216352286755_6606179151878480319_n

सुरुङ खन्ने काम सकिए पनि आयोजनाको ब्यारेजको काम अघि बढेको छैन । सुरुङ खन्ने काम चुनौतीपूर्ण भएकाले ब्यारेजको काम सुरु नगरेको आयोजना बताउँछ । भेरी–बबई डाइभर्सनको सुरुङ चुरेमा मात्रै खनिएको थियो । तर, सुनकोशी मरिनमा चुरेसँगै महाभारत पर्वत शृङ्खलामा पनि सुरुङ खन्नुपर्ने थियो । सोहीकारण दुई फरक भौगोलिक क्षेत्रमा सुरुङ खन्दा असफल भएमा ब्यारेजको लगानी खेर जाने भएकाले निर्माण अघि नबढेको बराल बताउँछन् ।

यसबाहेक बिजुली उत्पादनको जिम्मेवारी पाएको पटेल इन्डिया र रमन जेभीले काममा ढिलाइ गरिरहेका छन् । १२ अर्ब ४ करोड रुपैयाँ लागतको बिजुली उत्पादन परियोजनाको ३२ प्रतिशत मात्रै भौतिक प्रगति छ । सम्झौताअनुसार २०८४ साल असारसम्ममा बिजुली उत्पादनतर्फको काम सक्नुपर्ने हुन्छ । तर ठेकेदार कम्पनीको कामको अहिलेको गतिअनुसार तोकिएको मितिमा काम सक्न गाह्रो पर्छ ।

  • २६ परिवार ११६ जना विस्थापित, बीपी हाइवे ९०० मिटर सर्ने

सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको सूचीसहित रूपान्तरणकारी आयोजनाका रूपमा समेत अघि बढाउँदैछ । झन्डै ५० अर्ब लागतको यो आयोजनाको निर्माणका लागि जम्मा २६ घरपरिवारका १२६ जना मात्रै विस्थापित भएका छन् । आयोजनाका अनुसार सिन्धुलीतर्फ २० र रामेछापतर्फका ६ परिवारलाई स्थानान्तरण गर्नुपर्‍यो ।

यसबाहेक जम्मा ४५ दशमलव ४६ हेक्टर जमिन अधिग्रहण गर्नुपर्‍यो भने ५२ वटा घरगोठ विस्थापित भए । यी सबैका लागि आयोजनाले जम्मा ८५ करोड रुपैयाँ खर्चनुपर्‍यो । यद्यपि आयोजनाका कारण बीपी हाइवेको ९०० मिटर सडक भने सार्नुपर्नेछ ।

  • सुनकोशीको कति पानी जान्छ तराई ?

आयोजनाका अनुसार सुनकोशीमा बग्ने कूल पानीमध्ये ६७ क्यूमेक पानी तराईका ५ जिल्लामा लगिनेछ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्दा सुनकोशीमा १०० वर्षमा बगेको सबैभन्दा कम पानीलाई मापन गरिएको थियो । त्यस क्रममा सुनकोशीमा सबैभन्दा न्यून बहाव ८७ क्यूमेक पाइयो । यो बहावलाई आधार मानेर ६७ क्यूमेक पानी तराई पथान्तर गर्ने गरी आयोजना अघि बढेको हो । डाइभर्सनको ड्यामभन्दा थोरै तल लिखु नदी सुनकोशीमा नै जोडिन्छ । यसपछि केही पर पुग्दा नपुग्दै दुधकोशी नदी जोडिन्छ । दुधकोशी जोडिनुभन्दा माथि नै अर्को आयोजनाका रूपमा सुनकोशी कमला डाईभर्सन बन्ने गरी अध्ययनको काम भइरहेको छ ।

यसबाहेक सुनकोशी मरिन डाईभर्सनले तमोर चिस्यान, कालिगण्डकी तिनाउ डाईभर्सन र नौमुरे बहुउद्देश्यीय आयोजनाको काम समेत अघि बढाउने तरखरमा छ । यसमध्ये सुनकोशी कमला डाईभर्सनको काम अघि बढिसकेको प्रमुख बरालले बताए । सुनकोशी–मरिन डाईभर्सन आयोजना अनुभवी आयोजनाका रूपमा छ । अब देशका अन्य स्थानमा बन्ने यस प्रकारका आयोजनाको नेतृत्व सुनकोशी–मरिनले नै गर्ने गरी काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप